s

पोर्चुगलमा ९ वर्षदेखि डायलसिस गराउँदै नेपाली

देवेन्द्र भट्टराई

काठमाडौँ — मैतिदेवीका सुब्रतकुमार रिमाल रोजीरोटी खोज्दै दक्षिण–पश्चिमी युरोपको समुद्रीतट मुलुक पोर्चुगल पुगेको गत मंगलबार १० वर्ष पूरा भएको छ । क्यालेन्डर पल्टाएर हेर्ने हो भने उनी दुवै किड्नीले काम नगरेपछि ओछ्यान परेको पनि नौ वर्ष भइसकेको छ ।

नेपाल सरकारले तोकेको सम्पूर्ण प्रक्रिया र श्रम सम्झौतासहित कृषि मजदुर बनेर लिस्बन जानेको त्यो टोलीमा सुब्रतसहित ४१ नेपाली थिए । यो प्रक्रियामा सरकारी दस्तुर र म्यानपावर एजेन्सीलाई गरी औसतमा जनही १० लाख रुपैयाँ बुझाएर उनी सम्मिलित टोली पोर्चुगल उत्रिएको थियो । उक्त टोलीमा रहेकामध्ये अधिकांश अहिले अमेरिका–युरोप पुगेका छन्, कोही घर फर्किसके । सुब्रत भने सातामा तीन पटक मिर्गौलाको डायलसिस गराउँदै क्वेम्वरा सहरको एउटा कुनोमा बसिरहेकै छन् ।

‘म नेपाल छँदा सुरुमा राष्ट्रिय अनुसन्धानको कर्मचारी थिएँ, पछि ट्याक्सी चलाएँ, किराना पसल खोलें, मःम दोकान पनि चलाएँ तर दुई छोरासहितको परिवार धान्न मुस्किल भएर कृषि मजदुरका रूपमा लिस्बन उत्रिएको थिएँ,’ सुब्रतले फोनमा सुनाए, ‘यता आएर फादेवा भन्ने गाउँमा कृषि काम गर्न पुगेको थिएँ । मौसमअनुसार स्ट्रेबरी, ब्लुबेरी, ब्ल्याकबेरी, नासपाती, ओलिभ, स्याउ, सुन्तला, आलु, गोलभेंडा, खुर्सानीलगायत खेतीपातीको काममा दैनिक ८ घण्टाभन्दा बढी सातै दिन खटिनुपर्थ्यो ।’

त्यो पनि फलफूल–तरकारी उत्पादनको सिजन हेरीकन सप्लाइ (कामदार ओसारपसार) मा झैं हेरफेर भइरहने कार्यस्थल र कामको स्वभावमा सुब्रत अभ्यस्त बन्दै थिए । त्यहीबेला ‘मौसमी खेतीको काम सकियो’ भन्दै २०१४ जनवरीदेखि सुब्रतसहितका केही साथीभाइको काम र तलब दुवै रोकियो । ‘पोर्चुगल आउन लिएको ऋणको ब्याज–स्याज बढ्दो छ,’ सुब्रतले सम्झिए, ‘त्यो समस्यामाझ तीन महिनादेखि काम–तलब नदिएपछि मलाई प्रेसर बढ्दै गयो । उच्च रक्तचाप नघटेपछि फारोको अस्पताल जानुपर्‍यो । त्यहीबेला किड्नीमा समस्या छ भनेर डायलसिस सुरु गरिएको थियो ।’

काठमाडौंबाट सबै नियम र कामदार आवश्यकताको विज्ञापनअनुसार पोर्चुगलको मार्जिनपोटास कम्पनीमा स्याउ टिप्ने काममा आएका सुब्रतले त्यो कम्पनी कहिल्यै देख्न पाएनन् । सप्लाइ–चेनमा चल्ने कम्पनी र काममा स्याउ होइन, सुरुमै उनी ऐंसेलु टिप्ने काममा पुगेका थिए । पोर्चुगलको कूटनीतिक मामिला हेर्ने राजदूतहरू पेरिसबाट लिस्बन आएका बेला सुब्रत पनि कुदेर तिनलाई भेट्न जाने गर्थे । कम्पनीका मालिक र काम दिलाउने एजेन्टले गर्ने दुर्व्यवहारबारे उनले त्यसबेलाका राजदूतहरू मोहनकृष्ण श्रेष्ठ, अम्बिकादेवी लुइँटेल, दीपक अधिकारीसहित सबैलाई समस्याको लिखित टिपोट नै सुनाए तर सुनुवाइ कहिल्यै भएन ।

‘उपाय नलागेपछि किड्नी डायलसिस चलिरहेकै बेला एउटा श्रमिकमाथि मानव तस्करी गरिएको र सर्तबमोजिम काम, तलब नपाएकोसहित विवरण हालेर यहाँको श्रम अदालतमा उजुरी हालेको थिएँ,’ सुब्रतले सुनाए, ‘सन् २०१६ को अन्त्यमा मेरो पक्षमा सुनुवाइ भयो । मैले झन्डै ३६ हजार युरो क्षतिपूर्ति पाउनेसहितको फैसला आयो ।’ तर, फैसला भएको ६ वर्ष बितिसक्दा पनि सुब्रतले सम्बन्धित कम्पनीबाट रकम पाएका छैनन् । यो क्षतिपूर्ति पाउने पक्षमा पहल गरिदिन सुब्रतले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूत कार्यालय, पेरिसस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग सबैतिर हारगुहार गरेको वर्षौं भइसक्यो तर पार लागेको छैन ।

‘यहाँ ५० भन्दा बढी नेपाली संघसंस्था छन्, सहरमा सबैजसो संस्थाका अध्यक्ष वा महासचिव भेटिन्छन् । नेपाली दूतावास र परराष्ट्रका अधिकारी पनि यहाँ आइरहन्छन्,’ ५२ वर्षीय सुब्रत भन्छन्, ‘तर, एक कानुनी हैसियतमै रोजगारीमा आएको र सातामा ३ पटक डायलसिसमा गइरहेको कामदारको पक्षमा बोलिदिने कोही छैन । सबै मुखका मीठा मात्रै भेटिन्छन् ।’ पोर्चुगलमा रहेका झन्डै ४० हजार नेपालीमध्ये ५ हजारभन्दा बढीसँग पासपोर्ट छैन ।

९ वर्षयता कुनै काम गर्न नसक्ने स्थितिमा रहेपछि पोर्चुगलको नियमानुसार बिरामी पेन्सन २७५ युरो र सामाजिक भत्ता १९८ युरो पाउने गरेका भरमा सुब्रतको जीवन धानिएको छ । मिर्गौला प्रत्यारोपणका लागि नाम लेखाएर पनि उनले अझै ५ वर्ष कुर्नॅपर्ने अस्पतालले जनाएको छ । ‘देश छाडेको १० वर्ष भयो, तत्काल फिर्ने अवस्था पनि रहेन,’ सुब्रतले सुनाए, ‘ऋणपानसहित ११ लाख रुपैयाँ एजेन्सीलाई बुझाएर ठूलो छोरा सुलभ भर्खरै दक्षिणी युरोपको छेउमा पर्ने माल्टा (लिबिया र इटाली बीच) मा रोजगारीमा पुगेको छ । कान्छो छोरो सुमेश स्कुलमा पढ्दै छ । यो रोगबिराम, तनाव र निराशाबीचमा कहिले घर पुगौंजस्तो भइरहेको छ । तर, मजस्ता सामान्य श्रमिकका छेउछाउमा कोही आइपुग्दैनन् ।’

उनका अनुसार कृषि मजदुर बनेर पोर्चुगल आउने धेरैजसोको स्थिति निराशाजनक छ । पाँच वर्षअघि आएका गुल्मीका अर्का एक श्रमिक मिर्गौलाको डायलसिसमै छन् भने मस्तिष्काघात हुने, ब्रेन ट्युमर, प्यारालाइसिस हुने नेपाली पनि उत्तिकै छन् । उनका अनुमानमा एक सय जनाजति नेपाली श्रमिक रोजगारीकै क्रममा गम्भीर स्वास्थ्य समस्या देखिएर लुकेर बसेका छन् ।

‘यहाँ आउने आप्रवासी सबैजसोले पोर्चुगललाई एउटा ट्रान्जिट बनाउने गरेको मैले पाएँ । पाँच वर्ष बसेपछि यहाँको आवासीय परिचयपत्र पाइने र त्यसपछि अरू युरोपेली मुलुक (सेन्जेन) छिर्न सकिने भएकाले त्यही मौकाको ताकमा यहाँ नेपाली थुप्रिएका हुन्,’ उनी भन्छन्, ‘यहाँ पोर्चुगिज भाषा नजानी र सीपयुक्त काम गर्न नसक्नेलाई कसैले मान्छे नै गन्दैन । तर, नेपालबाट भने म्यानपावर र सरकार स्वयम्ले न भाषा, न सीपको तालिम दिलाएर होहोरीमा नेपाली श्रमिक यता पठाइरहेका छन् । यो बेथितिलाई कसैले बुझ्न सकेको छैन ।’

Published on: 27 March 2023 | Kantipur

Link

Back to list

;