s

पोर्चुगल लैजाने भन्दै रसियामा अलपत्र पार्ने दुई अभियुक्त जेल चलान

रसिया हुँदै युक्रेनमा मानव तस्कर गरेको अभियोगमा पक्राउ परेका दाङ लमहली नपा– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा– १० का २३ वर्षीय रुपेश ढकाललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाइएको हो । प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको काम लगाइदिने प्रलोभनमा पीडितसँग रकम उठाएका थिए । यसक्रममा पीडितलाई उनीहरूले भारतको नयाँ दिल्ली हुँदै पहाडगन्ज लगेर अलपत्र छाडेका थिए ।

त्यसपछि, विदेश नजाने मनस्थितिमा पीडित नेपाल फर्केका थिए । बुझाएको रकम माग गरेपछि उनीहरूले पीडितलाई पोर्चुगल जान दबाब दिएका थिए । यही क्रममा पीडितलाई उनीहरूले रसिया पुर्‍याएर अलपत्र पारेका थिए । रसियन प्रशासनले पक्राउ गर्दा पीडितले प्रयोग गरेको पासपोर्टसमेत नक्कली रहेको पाइएपछि नेपाल फर्काइदिएको थियो । प्रहरीका अनुसार पीडितलाई उनीहरूले जबर्जस्ती युक्रेन लैजान खोजेका थिए । रसियन प्रशासनले नेपाल फर्काइदिएपछि मात्रै उनीहरू असफल भएका थिए ।

नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई गत १५ र १६ मंसिरमा पक्राउ गरेको थियो । बुधबारको थुनछेक बहसपछि उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चालन गर्ने आदेश गरेको हो ।

Published on: 30 December 2022 | Naya Patrika

Link

Back to list

;