s

पोर्ट हार्कोटको आकाशमा

देवेन्द्र भट्टराई

अनुसा उदास, वर्ष २३ । पोखरामा जन्मेकी, कालिम्पोङको ग्राहम्स होम्जमा पढे-बढेकी र दक्षिण अपिकामा पाइलट कोर्स गर्न गएकी यी युवती अहिले अफ्रिकी आकाशमै उडिरहेकी हुन्छिन् । नाइजेरियाको पोर्ट-हार्कोट, वारी, इकेट वा लेगोस बेसका आकाशमा उनी सिगल चराझैं हतारमा यताउता गरिरहेकी हुन्छिन् ।

'पाँच साताको नियमित छुट्टीमा आएकी हुँ,' छोटो छुट्टीमा घर फिरेको लाहुरेझैं काठमाडौं विमानस्थलको 'ट्रान्जिट'मा भेटिएकी अनुसाले सुनाइन्, 'आजै पोखरा घर जान लागेकी छु । भोलि नै आफन्त भेट्न बिर्तामोड जानु छ । फेरि र्‍याफ्टिङ, क्यानोइङ, बन्जी-जम्पिङका धेरै कामकुराहरू मेरो तालिकामा छँदै छन् ।'

अनुसा सानैदेखि परिवारमा अलिक फरक थिइन् । आकाशमा उड्ने हवाइजहाज हेरिरहने स्वभाव उनमा थियो । कुनै दन्त्यकथाकी परीझैं आफू पनि उडिरहने खालको उडन्ते मन थियो उनको । भनौं, नेपाली समाजका रहेको छोरीचेलीको सनातनी दुनियाँभन्दा अलिक फरक । 'छोरीको हारेको कर्म' भन्दै रुवाबासी गर्नुभन्दा अथवा नारामा मात्रै हक-अधिकारको दाबी गरिरहनुभन्दा कर्ममै केही 'फरक' बन्ने चाहना राखिन् अनुसाले । डेन्टिस्ट पेसामा रहेका बाबु गजेन्द्रले छोरीको मनको यो कुरा पहिल्याइहाले । र, पाइलट कोर्स पढ्न राम्रै रकम खर्चंदै दक्षिण अफ्रिका पठाइदिए ।

दुब्लीपातली अनुसा रूपरंगमा पनि हलुका काली छन् । त्यसमाथि अफ्रिकी आकाशको आद्रता । कतिले त उनलाई इन्डियन पनि भन्ने रहेछन् । तर नेपाली हुनुको चिनारी र स्वाद आफैसँग छँदैछ । 'अमेरिकी-बि्रटिस लगानी रहेको बि्रस्टो ग्लोबल कम्पनीमा हेलिकोप्टर को-पाइलटको अफर पाएँ,' अनुसासँगको ट्रान्जिट-वार्ता अघि बढ्दै थियो, 'त्यही भएर गत वर्ष जुलाईदेखि उतै छु ।' नाइजेरियामा गैरआवासीय नेपालीको संस्था गठन भइसकेकाले दसैं-तिहार अथवा जमघटहरूमा नेपाली बोल्न पाइने 'रस' त छँदैछ, त्यसमाथि नेपाली स्वादका खानपिन र गानाबजाना पनि चलिरहेकै हुन्छन् । तर कामका बेला अनुसा बस्ने गरेको पोर्ट-हार्कोट रेजिडेन्सियल बेसमा भने एउटै नेपाली भेटिँदैनन् । उनका साथमा बेल्जियन, साउथ अफ्रिकन र नाइजेरियन युवतीहरू पाइलट-सहकर्मी छन्- पूरै बहुराष्ट्रिय संगत । 'नाइजेरियाभित्रका ५ वटा बेसहरूमा यताउता गरिरहनुपर्छ । समुद्रको बीचमा रहेका पेट्रोलियम खानी (प्लेटर्फम) हरूमा मान्छे ल्याउने-लैजाने काम गर्नुपर्छ,' उनले सुनाइन्, 'बिहान ६:४५ देखि बेलुका ६:४५ सम्म उडेको उड्यै होइन्छ ।' अहिले बहुराष्ट्रिय कम्पनी 'बि्रस्टो'मा उनी आवद्ध छिन् । विश्वकै ठूलोमध्येको एक यो कम्पनीका २ सय वटा हेलिकोप्टरहरू नाइजेरियाकै आकाशमा उडिरहेका हुन्छन् । ग्राहम्स होम्जमा १२ कक्षाको पढाइ सकेपछि अनुसाले अमेरिका जान चाहेकी थिइन् । तर भिसा पाउन एकदमै मुस्किल थियो । त्यही भएर उनी दक्षिण अफ्रिकाको जर्ज पुगेकी थिइन् । एरोप्लेन उडाउने १५ महिने तालिम पूरा गरेर उनी काठमाडौं फिरिन् । र, लगत्तै फिसटेल एयरमा काम गर्ने मौका पाइन् । 'रेस्क्यु, चार्टर, माउन्टेन फ्लाइट सबैतिर गएँ,' फिसटेलको २२ महिने अनुभवबारे उनी भन्दै थिइन्, 'मलाई त्यसबेलाको कामले आफ्नो देश चिनाउन धेरै मद्दत गर्‍यो, मैले यहाँको भूगोल चिन्न पाएँ । हाम्रा पहाड-पर्वत र हिमाली चुचुराहरूको छेवैमा आनन्दित बन्दै उड्न पाएँ ।' सोलुखुम्बुको लुक्ला बेस भएर उड्नुपर्ने धेरै गन्तव्यहरूमध्ये अनुसालाई अमादब्लम हिमालको आकर्षणले तानिरहन्थ्यो । 'किन हो, थाहा छैन । तर अमादब्लममा केही चीज भने पक्कै छ,' गर्न नसकेको व्याख्यामा उनी आनन्दित देखिन्थिन् । यसबाहेक आफ्नो घर नजिकैको फेवाताल र सिरानीमा दिनरात टल्कने माछापुच्छ्रे सम्झँदा पनि उनी अपनत्वले हुरुक्कै हुन्छिन् ।

फेरि अर्को अवसरमा दक्षिण अफ्रिका गएर ५ महिना हेलिकोप्टर उडाउने कोर्स पूरा गरेपछि भने उनी नाइजेरिया पुगेकी हुन् । 'तर उस्तै लाग्ने आकाशहरूबीच पनि धेरै भिन्नता हुन्छ । नाइजेरियाको आकाश र नेपालको आकाशबीचमा धेरै अन्तर छ,' उनी भनिरहेकी थिइन्, 'नेपालको आकाशमा जहाज उडाउनु जति आनन्द छ, त्यो अफ्रिकामा छैन ।' नेपालको हाई-अल्टिच्युड, मनोरम दृश्य र अनुपम प्राकृतिक छटाको बयान त्यति सजिलै र शब्दमा गर्न सकिन्न भन्छिन् अनुसा । उनका भोगाइमा यो 'फिल' गर्ने कुरा हो । तर उता नाइजेरियाको आकाशबाट हेर्ने र देखिने चीज भनेको एउटै छ- समुद्र ।

फेरि उताको मौसममा आद्रता पनि उत्तिकै रहन्छ, हेलिकोप्टरको ठूलो ढोका खोल्दा र बन्द गर्दाको हपहपी गर्मीले थाहै नपाई छाला डढाइरहेको हुन्छ । (यसको छनक अनुसामा देखिन्छ ।)

कहिलेकाहीं अफ्रिकी आकाशमा उडिरहेका बेला अनुसा नेपाली समाज र यहाँका दिदीबहिनीको सामाजिक हैसियतका बारेमा अन्दाज गरिहेर्छिन् । तर काठमाडौं वा पोखरामा भेटिने 'नेपाली समाज' सँग एकै ठाउँमा राखेर भित्री गाउँठाउँ वा समाजको तुलना गर्न नमिल्ने अनुमान भने अनुसाले पनि राखेकी रहिछन् । 'नेपाली समाजमा छोरी हुनुको पीडा अर्कै छ । यहाँ नारी भनेर कमजोर देखाउने अथवा बनाउने मनस्थिति अझै छँदैछ जस्तो लाग्छ,' अनुसाले अनुभवी बनेर भनिन्, 'तर मैले छोरी भएर यति गर्न सकेकी छु । छोरा भएको भए अझ बढी केही गर्थें कि भन्ने कहिल्यै लागेन र लाग्दैन ।'

जातअनुसार अनुसा नेवारी भाषा बोल्दिनन् । बरु नाइजेरियाली 'युरोबा' थोरबहुत बुझ्न थालेकी छन् । उनको ध्याउन्न अरू केही छैन- अब केही वर्षमा पाइलट बन्ने । नाइजेरियामा सामान्यतया २ हजार घन्टाको उडानपछि 'पाइलट' बन्न सकिने रहेछ । उनी यिनै घन्टाहरूको 'काउन्ट-डाउन'मा छिन् । अनुसाको सातामा एक दिन मात्रै छुट्टी हुन्छ । त्यो दिन उनी एक्रेलिक पेन्टिङ गर्न अथवा पाउलो कोहेलोका पुस्तक पढ्नमा मग्न हुन्छिन् । 'मलाई नेपाली फिल्म अथवा पुस्तकबारे त्यति थाहा छैन,' उनी भन्छिन्, 'बरु नेपालको भूगोल र साहसिक पर्यटनका कुराहरू भने धेरै थाहा छ । म यसबारे मेरा बहुराष्ट्रिय साथीहरूलाई धेरै कुरा सुनाइरहेकी हुन्छु ।'

अनुसाको कुराकानी हुबहु पत्याउने हो भने उनलाई ब्वाइ-फ्रेन्ड, बिहा वा घर बसाउने कुरामा तत्कालै त्यति विश्वास छैन । यो नछिप्पिएको उमेरको 'प्रभाव' पनि हुनसक्छ । 'मलाई अझै धेरै गर्नु छ,' उनी भन्छिन्, 'मेरो दुनियाँ यी ससाना उल्झनहरूबाट अलिक टाढा छ ।' नाइजेरियाको लेगोस हुँदै बुधबार राति काठमाडौं उत्रेकी अनुसा बिहीबार बिहान पोखरा जाने हतारमा थिइन् । झन्डै एयरपोर्ट 'ट्रान्जिट' जस्तो बनेको जीवनमा अनुसालाई आफू अफ्रिकी आकाशमा उडिरहेकी 'एकमात्र नेपाली महिला पाइलट हुँ' भन्ने पनि पत्तो छैन । जीवनमा कुनै रुवाइ छैन, कुनै ल्याङल्याङ् छैन । उनी आफूलाई 'म अबला नारी' भन्न चाहन्नन् । फेरि 'नेपाली महिलाले गरेको उडान' भनेर दङ्गदास बन्न पनि चाहन्नन् । उनलाई एक प्रकारले निर्विकार, भन्ते, राधेराधे जे भने पनि हुन्छ ।

यत्तिका कुरा गरेपछि अनुसाको निस्फिक्रि उडान पनि हेर्ने कि ? उसो भए साउथ अफ्रिकाको जर्ज एयरपोर्टमा २३ वर्षीया अनुसा उदासको 'सोलो उडान' हेर्न छिरे हुन्छ- युट्युबको जञ्जालमा ।

Published on: 16 March 2013 | Kantipur

Back to list

;