s

पुलले दियो रोजगारी, मासिक ३५ हजार बढी आम्दानी

बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ ।वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ ।

कालीगण्डकीका विभिन्न घाटमा पक्की पुल धमाधम निर्माण शुरु भएपछि सयौँ युवाले रोजगारीको अवसर पाएका छन् । रोजगारीको समस्याले विदेशमै भौँतारिनुभन्दा घरमै बसेर आफ्नै गाउँठाउँमा काम गर्ने अवसर पाएकामा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने थर्कबहादुर कुमालले खुशी व्यक्त गरे।

कुमाल अहिले पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने गौरीघाटमा निर्माण भइरहेको पक्की पुलमा दुई वर्षदेखि निरन्तर काम गर्दै आएका छन। “घरपायक रोजगारी मिलेको छ, विदेश गएपनि काम गर्ने यस्तै हो, एउटा काम भनेर गयो, अर्कैै दुःखको काम पर्छ, यही काम गर्न पाउँदा आनन्द लाग्छ” कुमालले भने। उनले दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर खटेर काम गरेवापत ७०० रुपैयाँ ज्याला बुझ्छन।

यसैबाट छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन सहज भएको उनी बताउँछन्। मजदुरी गरेर आफ्ना सन्ततीलाई उच्च शिक्षा दिलाउने कुमालको अठोट छ । विगत १५ वर्षदेखि रामपुर क्षेत्रमा काम गर्दै आएका रुपन्देहीका मङ्गलप्रसाद चौधरीलाई पनि पुलले रोजगारी दिएको छ । चौधरी पुल निर्माणमा मेसिन, विल्डिङसम्बन्धी काममा निकै सिपालु छन । उनले साँझ बिहानको खाना खाएर मासिक ३५ हजार रुपैयाँ कमाई गर्छन्। वैदेशिक रोजगारीको कमाई यहीँ बसेर सजिलैसँग गर्दै आएको उनी बताउँछन् ।

“नेपालमै महीनामा ३५ हजार रुपैयाँ कमाई भएपछि वैदेशिक रोजगारीमै जानु परेन, खाना बासको खर्च तिर्नुपर्दैन, तलब जति सबै घरखर्च, छोराछोरीको पढाइ खर्चमा मात्र नभई केही रकम बचतसमेत गर्न थालेको छु”, चौधरीले भने। रोजगारीकै लागि बर्दियाका ४३ वर्षीय प्रभा थारू दुई वर्षदेखि निरन्तर पुल निर्माणकार्यमा संलग्न छन्। थारूले यहाँ दैनिक मिस्त्री काम गरेर ८०० रुपैयाँ कमाएर पारिवारिक गुजारा राम्रैसँग चलेको बताए।

“विदेशको मुख ताकेर बस्ने होइन, आफ्नै देशमा सकेको जानेको सीप गरियो भने विदेशमा कमाउने धन यहीँ कमाउन सकिन्छ”, थारूको भनाइ छ । उहाँले १५ वर्षदेखि मुलुकका विभिन्न नदी, खोलामा पुल निर्माणमा काम गर्दै आएका छन । पुल निर्माणकार्य शुरु भएपछि होटल व्यवसाय पनि फस्टाउँदै गएको नगरपालिका–६ का कमला डोटेलले बताए। पहिला सुनसान बनेको व्यवसाय अहिले व्यापार बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको उनले बताए।

जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीमार्फत २०७२ फागुन १६ गते शिलान्यास गरिएको गौरीघाटको पुल निर्माणकार्यमा ४० कामदारले निरन्तर रोजगारी पाएका छन् । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको १५ करोड ११ लाख रुपैयाँको लागतमा सम्झौता भई निर्माणकार्य शुरु भएको हो ।

कामदारको कामअनुसार ज्याला उपलब्ध गराउँदै आएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताए। यहाँ काम गर्ने कामदारले दैनिक कम्तीमा ७०० देखि एक हजार ५०० रुपैयाँ सम्म ज्याला रकम बुझ्ने गरेका छन् । सडक डिभिजन कार्यालय पाल्पाअन्तर्गत जिल्लामा चालू आर्थिक वर्षमा छ पक्की पुल निर्माणकार्य भइरहेको छ । रामपुर नगरपालिकास्थित कालीगण्डकीको गौरीघाट, प्याक्लुकघाट, निर्दिमघाटमा करोडौँको लगानीमा पक्की पुल निर्माण हुँदैछन् ।

जिल्लाको तिनाऊ गाउँपालिकास्थित तिनाउखोला, झुम्साखोला र कचलखोलामा ठूलो लगानीमा पक्की पुल निर्माणकार्य बढाइएको छ । यहाँ धेरै युवाले रोजगारीको अवसर प्राप्त गरेका छन् । पुल निर्माणकार्यमा पुरुषले मात्र नभई महिलाले पनि रोजगारी पाएका छन् ।

Published on: 21 February 2019 । Setopati

Back to list

;