s

पोल्यान्ड सीमामै रोकिए नेपाली

होम कार्की

काठमाडौँ — पोल्यान्डले युक्रेनबाट बाहिरिन खोज्ने नेपालीलाई सीमा प्रवेशमा कडाइ गरेको छ । जसले गर्दा भौकभोकै घण्टौं पैदल यात्रा गरेर युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमामा पुगेका नेपाली रोकिएका छन् । उनीहरूमध्ये अधिकांशले घण्टौं कुर्दा पनि सीमा पार गर्न पाएका छैनन् । 

रुसी आक्रमणपछि ज्यान जोगाउन पोल्यान्ड पुगेका युक्रेनी आइतबार स्यामिसलस्थित रेल स्टेसनमा आराम गर्दै । तस्बिर : एपी

रुसले युक्रेनमा आक्रमण गरेपछि किभलगायत सहरमा रहेका नेपाली ज्यान जोगाउन छिमेकी मुलुक पोल्यान्ड, हंगेरी र स्लोभाकियाको सीमातर्फ लागेका हुन् । युक्रेनमा रहेका नेपालीमध्ये धेरैजसो पोल्यान्डको सीमामा पुगेको बताइएको छ । कान्तिपुरको सम्पर्कमा आएका नेपालीका अनुसार पोल्यान्डले युक्रेनी नागरिक, महिला र बालबालिकालाई प्राथमिकता दिई सीमा पार गराइरहेको छ । उनीहरूका अनुसार सीमामा पुगेका नेपाली महिलालाई भने सीमा पार गर्न दिइएको छ । नेपाली महिलालाई सीमा पार गर्न पनि १० देखि २३ घण्टासम्म लागेको छ । 

‘हामी शनिबार मध्याह्न १२ बजे पोल्यान्डको बोर्डरमा आइपुगेका थियौं, पहिलो चेक पोस्ट पार गरेर लाममा बसिरहेका छौं, भित्र छिर्न पाएका छैनौं,’ गोरखाका सञ्जित भट्टले आइतबार साँझ ७ बजे कान्तिपुरलाई भने, ‘लाम निकै लामो देखिन्छ ।’ उनको टोलीमा पाँच जना नेपाली छन् ।

पोल्यान्डले युक्रेनसँग जोडिएको ८ वटा सीमा खुला गरेको छ । नेपाली भने मेडिका र क्राकोभिएचमा पुगिरहेका छन् । युक्रेन मामिला हेरिरहेको जर्मनीस्थित नेपाली दूतावासका अनुसार तीन दिनमा झन्डै २५ जनाले मात्रै पोल्यान्डमा प्रवेश पाएका छन्, जसमा अधिकांश महिला छन् । ‘हामीसँग सम्पर्कमा भएकामध्ये झन्डै ७५ जना नेपाली सीमा पार गर्ने प्रतीक्षामा बसिरहेका छन्, ५० जना अझै बाटोमै छन्,’ जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले कान्तिपुरसँग भने, ‘उनीहरूलाई पोल्यान्ड प्रवेश गराउन सहजीकरण भइरहेको छ ।’ दूतावासले राहदानी नभएका ३० जनालाई ‘ट्राभल डकुमेन्ट’ जारी गरेको छ ।

दूतावासका अनुसार स्लोभाकियातर्फ हिँडेका २३ मध्ये १२ जनाले स्लोभाकियामा प्रवेश पाएका छन् । रोमानियामा पाँच जनाले प्रवेश पाएका छन् । नौ जना बाटामा छन् । हंगेरीमा तीन जना पुगेका छन् भने चार जना बाटामा छन् । सीमा पुगेकाहरू निकै थकित र भोका छन् । ‘वरिपरि खाने सुविधा छैन, मान्छेहरूको लामो लाइन छ, सबैका अनुहारमा डर र त्रासले भरिएको छ, थाकेर होला कतिपय साथीहरू रोडमै सुतिरहेका छन्,’ मकवानपुरका रमेश आले मगरले भने, ‘चेकपोस्ट माथि नै छ । माथि के भइरहेको छ भन्ने सूचना तल आउँदैन । हामी बसेको लाइन अगाडि बढेको नै छैन । भित्र प्रवेश भएका साथीहरूसँग सम्पर्क छैन । कहिले नेपाली र भारतीयलाई पठाइरहेको छ भनेर सूचना आउँछ, कहिले रोकेको छ भन्छन् ।’

पोल्यान्डको मेडिका सीमामा पुगेका नेपाली दूतावासका प्रतिनिधि बोधराज सुवेदीका अनुसार लाममा बसे पनि पोल्यान्डभित्र पस्न नपाउने समस्या छ । उनले आइतबार दुई जना पुरुषले मात्रै प्रवेश पाएको बताए । ‘सीमामा आइपुगेका नेपालीलाई खानाको समस्या देखिएको छ,

आफ्नो सीमाभित्र प्रवेश भइसकेपछि भने पोल्यान्डले नै सेल्टर दिइरहेको छ,’ उनले भने, ‘प्रवेश नपाएकालाई प्रवेश गराउन हामीले पोल्यान्डलाई अनुरोध गरिरहेका छौं ।’

सीमामा अड्किएका नेपालीले बोर्डरमा नेपाली दूतावासमै आएर सहजीकरण गर्नुपर्ने बताएका छन् । ‘हामी युद्धग्रस्त क्षेत्रबाट सयौं किलोमिटर पार गरेर आयौं, कतिपय साथी अझै बाटामै हिँडिरहेका छन् । हामी त्यसरी हिँडेर आउँदा सीमामा त दूतावास देखिनुपर्थ्यो,’ पोछेथ शेर्पाले भने, ‘कहिले भित्र छिर्न पाइएला भनेर कुरिरहेका छौं ।’

राजदूत खड्काका अनुसार द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीलाई सकुशल बहिर्गमन गराउने काम भइरहेको छ । ‘हाम्रो पहिलो प्राथमिकता द्वन्द्वग्रस्त क्षेत्र बाहिर ल्याउनु थियो, अब धेरैलाई सुरक्षा चुनौती छैन,’ उनले भने, ‘सीमामा आइसकेकालाई पोल्यान्डमा प्रवेश गराउन आवश्यक सहजीकरण भइरहेको छ । हामीले पोल्यान्ड सरकारलाई पत्राचार गरिसकेका छौं । पोल्यान्डमा रहेको जर्मनी दूतावासबाट सहयोग प्राप्त भइरहेको छ । सीमा पार गरिसकेकालाई आवश्यक कानुनी सहजीकरणसमेत गर्ने प्रबन्ध मिलाइएको छ ।’

उनले आवश्यक परेमा दूतावासले कूटनीतिक कर्मचारीलाई पोल्यान्ड बोर्डरमा खटाउने बताए । दूतावासका अनुसार युक्रेनको युद्धग्रस्त बेलास्कुवामा तीन जना नेपाली अझै रोकिएका छन् ।

त्यस्तै अर्को द्वन्द्वग्रस्त सहर खार्किबमा एक महिलासहित ५ जना नेपाली रहेको दूतावासले जनाएको छ र दूतावासका अनुसार उनीहरू सबै जना सुरक्षित छन् ।

Published on: 28 February 2022 | Kantipur

Link

Back to list

;