s

पोल्यान्ड प्रकरणमा ८६२ राहदानी जफत

होम कार्की

पोल्यान्ड पठाउने भन्दै करिब १३ करोड रुपैयाँ लिएर फरार भएकी विमला लामाले काठमाडौं मातातीर्थस्थित एक घरमा लुकाइराखेको ८ सय ६२ राहदानी बरामद भएको छ । वैदेशिक रोजगार विभागको अनुसन्धान टोलीले चाबहिलस्थित वेल इन्टरनेसनल म्यानपावरबाट भाग्नुनअघि सामान लिएर गएको थाहा पाएपछि अनुसन्धान गर्दै जाँदा राहदानी फेला परेको हो ।

'भाग्नुअघि सामान ओसारिसकेको रहेछ, सूचना आधारमा सामान लैजाने सवारी पत्ता लगाएर राहदानी लगायत सामग्री लुकाइराखेको कोठा फेला पर्योद,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'आर्थिक खाता पनि बरामद भएको छ ।'

उनका अनुसार पीडितको संख्या बढ्न सक्ने देखिएको छ । दर्तै नगरी व्यवसाय गर्दै आएकी विमलाले ७० हजारदेखि साढे तीन लाखसम्म उठाएकी थिइन् । ठगिनेमा महिला कामदारसमेत छन् । ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका उनका पतिले समेत ठगीमा साथ दिएको विभागले जनाएको छ । 'पोल्यान्ड र मकाउ घटनाबारे अनुुसन्धान गरिरहेका छौं,' भट्टराईले भने, 'छिटोभन्दा छिटो पक्राउ गर्ने प्रयत्नमा छौं ।'

विमलाले यसअघि चलाएको विल म्यानपावरलाई विभागले खारेज गरेको थियो । उनीबाट पीडितहरू विभाग धाइरहेका छन । विमलाले यसबाहेक इजरायल, मेक्सिको लगायत लैजाने भन्दै ठूलो रकम असुल गरेको खुलेको छ ।
दुई वर्षअघिदेखि रकम उठाएकी विमलाले रकम फिर्ता लिन २४ मंसिरमा बोलाएकी थिइन् । त्यो दिनपछि उनी बेपत्ता छिन् । धेरैलाई १५ दिनको म्याद राखेर बाउन्स चेक थमाएकी थिइन् । विभागमा तीन सयभन्दा बढीको उजुरी परेको छ ।

यसैबीच, मकाउ लैजाने भन्दै  'अपरच्युनिटी'ले कम्तीमा ५२७ जनाबाट तीन करोड असुल गरेको तथ्यांक निक्लेको छ । पीडितहरू दिनहुँजसो विभाग धाइरहेका छन् । विभागले अपरच्युनिटीका सञ्चालकहरूको सम्पूर्ण बंैक खाता, घरघडेरी रोक्का गरिसकेको छ । विभागले सोमबारसम्म त्यसका सञ्चालक सम्पर्कमा नआए रेडकर्नर नोटिस जारी गर्ने भएको छ ।

Published on: 19 December 2011 | Kantipur 

Back to list

;