s

पोल्यान्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ

काठमाडौँ — वैदेशिक रोजगार विभागले पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिकलाई विभागले पक्राउ गरेको हो । ‘पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको रहेछ । यो कार्यका लागि अनुमति थिएन । हामीले थप बुझ्नका लागि नियन्त्रणमा लिएका छौं,’ विभागका अनुसन्धान अधिकृत धर्म लम्सालले भने, ‘उनीहरुको शनिबार दिनभर पोल्यान्ड जान इच्छुकहरूलाई अभिमुखीकरण दिने तालिका रहेछ । नियन्त्रण गर्नुअघिसम्म उनीहरूलाई एक समूह म्यानपावर कम्पनी र दुई समूह कामदारलाई अभिमुखीकरण दिइसकेको रहेछ ।’

त्यहाँ सहभागीमध्ये एक जनाले उनीहरूबाट दुबईमा ठगी भएको उजुरी पनि दिएका थिए । उनका अनुसार पोल्यान्ड पठाउने भन्दै दुबईमा नै दुई लाख रुपैयाँ लिएका थिए । विभागले अभिमुखीकरण गर्न सहयोगी गरेको आशंकामा इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिर हुन पत्र थमाएको छ । ढकाल पनि उनीहरूसँगै भेटिएका थिए ।

Published on: 22 May 2023 | Kantipur

Link

Back to list

;