s

पोहोर साल बुवा बिते, यसपालि छोरा

दैलेख : महाबु गाउँपालिका–६ घर भई दैलेख सदरमुकाममा व्यवसाय चलाउँदै आएका भक्तबहादुर रावत परिवारको दैनिकी ठीकठाक चलेकै थियो। दैलेख उद्योग वाणिज्य संघका पूर्वउद्योग उपाध्यक्षसमेत रहेका रावत परिवार दैलेखमा सफल व्यवसायीको रूपमा परिचित थियो।

केही वर्षअघि यो परिवारलाई वज्रपात आइलाग्यो। परिवारको मुख्य सहारा भक्तबहादुर एक्कासि थला परे। थुप्रै अस्पतालमा चेकजाँचपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। पक्षघातसमेत भयो। घरपरिवार, दाजुभाइले भरथेग पनि गरे। तर, केही सीप लागेन। लाखौं रकम उपचारमै सिध्याउँदा पनि रोग निको नभएपछि उनलाई दैलेख ल्याइयो। अन्ततः २०७९ मंसिर २ गते उनको निधन भयो।

उनको निधनपछि रावत पत्नी नन्दाको थाप्लोमा विपत्ति आइलाग्यो। श्रीमान् बितेपछि दुई छोरा र एउटी छोरीको पालनपोषण गर्ने जिम्मा नन्दाको काँधमा आयो। नन्दाले दुःखसुख गरेर छोराछोरीलाई पालनपोषण गरिरहेकी थिइन्।

पति गुमाएको वर्ष दिनपछि नन्दा माथि अर्को वज्रपात आइलागेको छ। उनका जेठा छोरा सुजनको शुक्रबार निधन भएको छ। सुजन कोरियाली भाषा परीक्षाको तयारीका लागि एक महिनाअघि मात्रै काठमाडौं गएका थिए।

ईपीएस भाषा परीक्षा दिन नपाएका युवाहरू शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए। त्यही भीडमा मिसिन पुगेका थिए सुजन। दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो। मृतक सुजनको छातीमा नीलो डाम छ। प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। उनका साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। दैलेखबाट कोरिया जाने तयारीसहित काठमाडौं पुगेका सुजन शुक्रबार आन्दोलन गर्न नभई त्यहाँको अवस्था हेर्न गएको बताइएको छ। तर, उनी प्रहरीको कुटाइबाट मारिए।

२०६० असारमा जन्मिएका सुजनले दैलेख सदरमुकामस्थित सन्राइज बोडिङ स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए। सुजन नेपालगन्ज टेक्निकल कलेजमा सिभिल ओभरसियर अध्ययनरत रहेको दाइ नाता पर्ने किरणकुमार केसीले बताए।

सुजनले कोरिया जान्छु भनेपछि आमा नन्दाले नाइँनास्ती गर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। तर, सुजन कोरिया जान पाएनन्। आमा नन्दालाई परिवारको जिम्मेवारीको थप भारी बोकाउँदै उनी बिदा भए।

उनको कोरिया जाने सपना ललितपुरको बालकुमारीमै बिलायो। दिदी नन्दाको परिवारमाथि शृंखलाबद्ध विपत्ति आइलागेको भाइ यमराज कटुवालले बताए। मृतक सुजनका एक जना दिदी र भाइ छन्।

Published on: 2 January 2024 | Annapurna Post

Link

Back to list

;