s

फोन उठ्दैन लन्डन दूतावासमा

न सार्वजनिक बिदा, न लञ्च टाइम, न कार्यालय बन्द । लन्डन साउथ ह्यारो निवासी भीम लिम्बुले कार्यालय खुल्नेबित्तिकै मेसिन रिडेबल पासपोर्ट -एमआरपी) बारे बुझ्न धेरै पटक लन्डन दूतावासमा फोन गरे तर उठेन । 'अफिस जाउँ टाढा भएकाले समय, खर्च र कामबाट उम्किन गाह्रो, नजाउँ जरुरी थियो,' उनले आक्रोश पोखे, 'दूतावासले फोनजस्तो अत्यावश्यक कुरामा यस्तो हेलचेक्र्याइँ गर्नु हुन्थेन ।'

जग्गा किनबेचका लागि वारेसनामा बनाउन खोजिरहेकी राधा राईले पनि फोन गर्दागर्दा हैरान भइसकेको गुनासो गरिन् । 'फोन गर्दा यो-यो नम्बरमा डायल गर्नु भनेर कम्प्युटर बोल्छ तर मान्छे बोल्दैनन्,' उनले भनिन् ।

कार्यालय प्रयोजनका लागि दूतावासमा तीनवटा लाइन भए पनि चाहिएका बेला ती नउठ्ने गुनासो नेपाली समुदायको छ । उनीहरूका अनुसार अपरेटरले फोन उठाइहाले पनि सम्बन्धित डेस्क अधिकारीले कुरा गर्न भ्याउँदैनन् । 

केही दिनयता त फोन लाइन बिग्रेकाले धेरैले सास्ती खेपे । कार्यवाहक राजदूत तेजबहादुर छेत्रीले सन् २००७ मा हालिएका फोन लाइन बिग्रेकाले समस्या आएको बताए । 'अब नयाँ सेटहरू जडान भएको छ, 

काम छिट्टै सुचारु हुन्छ,' उनले भने, 'बिटीले डेढ महिनाअघि बनाउने भने पनि अहिले बल्ल समय दियो ।' 

दूतावासले वेबसाइटमा केही टेलिफोन लाइन मर्मत भइरहेकाले तत्काल केही आवश्यक भए इमेलबाट सम्पर्क गर्न सूचना जारी गरेको थियो । कामको अत्यधिक चापअनुसार जनशक्ति पर्याप्त नहुँदा हरेक फोन उठाउन नसकिएको छेत्रीले जनाए । दुई स्थानीय कर्मचारीको करार सकिएकाले रिक्त पदपूर्ति गर्न बाँकी रहेको उनले बताए । 'अब दुईवटा काउन्टर र दुई कर्मचारी थप्ने योजना छ । यसले प्रशासनिक काम सहज हुने हाम्रो विश्वास छ,' उनले भने ।

पासपोर्ट, भिसा, ट्राभल डकुमेन्ट, वारेसनामा आदि कन्सुलर सेवा लिन अचेल सर्वसाधारणको चाप र फोनकल बढिरहेको छ । दूतावासका अनुसार दिनमा झन्डै एक सयसम्म एमआरपी निवेदन पर्ने गरेको छ । भिसा लिन आउने पर्यटकको त्यस्तै भीड छ ।

दूतावासभित्र फोटोकपी, स्क्यानर आदिसमेत नहुँदा सेवाग्राहीलाई मर्का परिरहेको छ । 'एउटा फोटोकपी गर्नुपरे पनि बाहिरै आउनुपर्ने झन्झट । बरु निश्चित पैसा लिएर दूतावासले यी सेवा दिए हुन्थ्यो नि,' श्याम कार्कीले भने । एनआरएनए यूकेले 'हेल्प डेस्क' राखेर उल्लेखित सेवा दिन इच्छा व्यक्त गरे पनि दूतावासले अनुमति नदिएको एक पदाधिकारीको दाबी छ । 

Published on: 9 March 2014 | Kantipur

Back to list

;