s

फोन नआउँदा आत्तिन्छन् रुसी सेनामा गएकाका परिवार

नेपालगन्ज — अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थानकी पवित्रा बिकको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका पति रोशन बिकले झन्डै महिना दिनसम्म फोन सम्पर्क नगरेपछि गत साता पवित्रा झनै आत्तिइन् । बुधबार साँझ ७ बजे आफ्नै मोबाइलबाट श्रीमान्‌सँग कुरा भएपछि पवित्रा र उनको परिवारको मन केही दरिलो भएको छ ।

वैदेशिक रोजगारीका क्रममा नौ वर्ष कतार बसेर फर्केका ३१ वर्षीय रोशन एक वर्षदेखि घरमै थिए । दुबईमा काम गर्दै आएका उनका भाइले काम असहज भएको भन्दै घर फर्कने योजना सुनाए । भाइलाई झिकाउने भन्दै घरबाट काठमाडौं हिँडेका रोशनले फर्कँदा एक सातामा रोमनियाको भिसा लागेकाले आफूले दुबई जानुपर्ने कुरा सुनाए । मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती भएका रोशन युक्रेनविरुद्धको युद्धमा खटिएको खबर पाएपछि परिवार अहिले त्रासमा छ ।

रोमानिया भनेर हिँडेका पति रुसी सेनामा भर्ना भएको खबर पाएयता पवित्राको मन बेचैन छ । रुसी सेनामा तालिमका क्रममा रहेको र अहिलेसम्म युद्धमा खटिनु नपरेको कुरा सुनाएको उनले बताइन् । ‘फोनमा त मलाई राम्रो छ, तालिममा छु मेरो चिन्ता नगर भनेर सम्झाउनुहुन्छ । विदेशको ठाउँ, मोबाइलमा झन् दुःखका घटना हेर्दा मन आत्तिन्छ,’ पवित्राले भनिन्, ‘जोखिम धेरै भएकाले जसरी पनि चाँडो फर्केर आउन भनेकी छु ।’

रोशन मात्र होइन खजुराका अन्य युवा पनि रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा खटिएका छन् । गत कात्तिकमा गाउँबाट ब्याजमा ६ लाख रुपैयाँ ऋण लिएर रोशन असोज ९ गते काठमाडौंबाट दुबई हुँदै रुस पुगेका थिए । रुसी सेनामा भर्ना भएका युवामध्ये ६ जना भन्दा बढी नेपालीको मृत्यु भएको खबर सुनेका रोशनका बाबुआमा आफ्ना छोराको स्थिति सम्झेर डर र चिन्तामा छन् ।

‘एक महिनासम्म फोन नहुँदा मन आत्तियो टाढाको ठाउँ जे पनि हुन सक्छ,’ रोशनका बुबा बिर्खबहादुरले भने, ‘छोरालाई जतिसक्दो छिटो नेपाल ल्याइदिन प्रशासनलाई अनुरोध गरेको छु ।’ उनले दिनहुँ छोरालाई रुसी सेनाबाट निकालेर घर फिर्ता बोलाउने प्रयासमा आफू लागेको बताए । रोशनका १३ वर्षीय छोरा र १० वर्षीया छोरी छन् ।

रुसी सेनामा खजुराका अन्य पाँच युवा पनि गएको रोशनका परिवारले बताएको छ । जेखिमलाई मध्यनजर गर्दै सरकारले रुसी सेनामा रहेका नेपालीलाई फिर्ता झिकाउन कूटनीतिक प्रयास थालिएको जनाए पनि जिल्लामा कुनै सर्कुलेसन नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । ‘माथिबाट कुनै पत्राचार आएको छैन । जिल्लाबाट रुसी सेनामा गएको एक जनाको परिवार सम्पर्कमा आउनुभएको छ,’ उनले भने ।

Published on: 26 December 2023 | Kantipur

Link

Back to list

;