s

फिलिपिन्स साउदीमा घरेलु कामदार पठाउन तयार, नेपाल र साउदीबीचको सम्झौता अन्योलमा

नेपालले घरेलु कामदार पठाउन हिचकिचाई रहेका बेला फिलिपिन्स साउदी अरेबियामा घरेलु कामदार पठाउन तयार भएको छ ।
फिलिपिन्सबाट साउदी अरेवियामा घरेलु कामदार पठाउने विषयमा दुबै मुलुकबीच आगामी महिना साउदी अरबमा द्विपक्षीय सम्झौता हुने भएको छ । त्यसका लागि फिलिपिन्सका श्रम मन्त्रालयका उप मन्त्री मुफारिज हल हक्वानी साउदी अरब जाँदैछन् । फिलिपिन्सले पाँच वर्षे भीषामा दक्ष हाउस मेड पठाउने विषयमा सहमति जनाएको अरब न्यूजले सोमबारको अंकमा उल्लेख गरेको छ ।
 
गतहप्ता फिलिपिन्स गएको साउदी टोली र फिलिपिन्सका अधिकारीहरुबीचको छलफलमा फिलिपिन्स साउदी अरबमा घरेलु कामदार पठाउन सैद्धान्तिकरुपमा सहमत भएको जनाइएको छ ।
 
साउदी अरबले नेपालसँग पनि द्विपक्षीय श्रम सम्झौता गरी घरेलु कामदार लैजान चाहेको थियो । यस विषयमा श्रम तथा रोजगार मन्त्रालयसँग पटक–पटक छलफल भएपनि नेपालले घरेलु कामदारसँगै अन्य कामदारहरुको विषयमा पनि श्रम सम्झौता हुनुपर्ने अडान राखेपछि साउदी पक्षले त्यसमा सहमति जनाएको थिएन ।
 
गत बैशाख महिनामा श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुबीच छलफल हुँदा नेपाली पक्षले घरेलु कामदारका लागि विभिन्न ६ वटा शर्त अगाडि राखेको थियो । त्यसमा सुरक्षा, कामदार प्रत्यक्षीकरण, घरपरिवारसँग सम्पर्क, कामको समय, पारिश्रमिकको ग्यारेण्टी र साप्ताहिक विदा प्रमुख थिए ।
 
त्यतिखेर साउदीसँगको वार्ताको नेतृत्व गरेका तत्कालीन सहसचिव गोविन्दमणि भूर्तेलले उमेरहदका कारण अवकाश लिए । भूर्तेलको अवकाशपछि साउदीसँगको वार्तामा खासै प्रगति नभएको मन्त्रालय श्रोतले बतायो । यस बीचमा जोर्डनमा घरेलु कामदार पठाउनेबारे समझदारी पत्र (एमओयु) मा भने हस्ताक्षर भएको थियो ।
 
साउदी अरबले घरेलु कामदारलाई प्राथमिकतामा राखेर जनरल वर्कर सम्बन्धमा पनि श्रम सम्झौता गर्न सक्ने आंकलन नेपाली अधिकारीहरुको थियो तर फिलिपिन्ससँग घरेलु कामदार सम्बन्धी श्रम सम्झौता भएपछि नेपालसँगको श्रम सम्झौतालाई साउदीले तत्कालका लागि प्राथमिकतामा नपार्ने आंकलन गरिएको छ ।
 
सरकारले घरेलु कामदार विदेश पठाउने कार्यविधिमा पनि पटक–पटक संशोधन गरेको छ । तर  तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले खाडीमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि नेपालबाट वैधानिक रुपमा घरेलु कामदार जान पाएका छैनन् । यसको सोझो लाभ अवैधरुपमा काम गर्नेहरु र मानव तस्करहरुले लिइरहेको देखिएको छ ।
 
Published on: 20 February 2018 | Madhyanha

Back to list

;