s

फिलिपिन्समा ४ नेपाली अलपत्र

इन्टरनेट सञ्जालमा आएको विज्ञापनको भर परेर रेस्टुरेन्टमा काम खोज्दै फिलिपिन्स पुगेका सर्लाही र चितवनका ४ युवक पाँच महिनादेखि बिचल्लीमा छन् । उनीहरू राजधानी मनिलाबाट झन्डै २ घण्टा टाढाको सानो सहर डस्मा कभिटेमा छन् ।

एक भारतीयले त्यहाँ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा काम गर्ने भन्दै विज्ञापन गरेका थिए । भारतीय सञ्चालकले विगतमा पनि थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । सर्लाहीका २१ वर्षे वसन्त खडकाका अनुसार सञ्चालक मनीषकुमार रवीन्द्रप्रसाद देवले मनिला उत्रिएपछि नेपाली कामदारबाट जनही २ हजार डलर सेवाशुल्क लिएका थिए । देवले इन्टरनेटमा राखेको विज्ञापन (जब सर्च) को भर परेर चितवनका दीपेश श्रेष्ठ र सुनील थापा ५ महिनाअघि मनिला गएका थिए । अर्को चरणमा चितवनकै एलसी श्रेष्ठ ४ महिना र सर्लाहीका खडका ३ महिनाअघि गएका थिए ।

‘हामी टुरिस्ट भिसामा आएका हौं, काम पाइएन,’ खडकाले फोनमा भने, ‘अहिले भारतीय मालिक पनि बेपत्ता छन् । डस्मा कभिटेकै एक रेस्टुरेन्टमा बसेर गुजारा चलाइरहेका छौं ।’

आफैं टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिति रहेकाले त्यसका लागि सहयोग आवश्यक परेको उनले बताए । ‘छोरो बिचल्ली परेको खबर सुनेका छौं,’ सर्लाही, हरिऔनबाट खडकाका बुबा बालमुकुन्दले भने, ‘रेस्टुरेन्टमा राम्रो जागिर पाउने भनेर भारतीय सञ्चालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झन्डै १ लाख रुपैयाँ खर्च भयो । पैसा डुबे पनि छोरो घर फर्कियोस् भन्ने इच्छा छ ।’

Published On: 3 September 2018 | Kantipur

Back to list

;