s

फेसबुकले पार्‍यो बिचल्ली

माधव ढुंगाना

वैदेशिक रोजगारीका नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाइदिने भन्दै उनीहरूबाट ९ लाख रुपैयाँ ठगी गरिएको हो । 

सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानलाई विश्वास गरेर उनीहरूले रकम दिएको खुलेको छ । थप जोखिमको सम्भावना रहेको भन्दै महिलाहरूलाई प्रहरीले सीमाक्षेत्रको सुनौलीबाट फर्काएर आफन्तको जिम्मा लगाएको छ । सिन्धुपाल्चोक बाँसबारी ४ की सरिता खड्का, काँकडभिट्टाकी शर्मिला अधिकारी र सिन्धुपाल्चोक भोटसिपा गाविसकी सरस्वती चौलागाईं ठगिएका हुन् । उनीहरू काठमाडौंमा विभिन्न पेसा–व्यवसायमा संलग्न थिए । उनीहरूले प्रतिव्यक्ति ३ लाख रुपैयाँ दिएको बताए ।

फेसबुकमा प्रमोद दाहालको नामबाट आएको मित्रताको प्रस्तावलाई खड्काले स्विकारेकी थिइन् । करिब एक महिनासम्म अनलाइनमा सम्पर्क भएपछि सरिता उसको विश्वासमा पर्न थालिन् । ‘फेसबुकमा मात्रै भएको मित्रतालाई विश्वास गर्दा ठगिएँ,’ जिल्ला प्रहरी परिसरमा भेटिएकी उनले भनिन्, ‘हामी त ठगियौं ठगियौं, अरू कोही ठगिन नपरोस् ।’ उनका अनुसार फेसबुकमा दाहाल भनिएका व्यक्तिले आफ्नो तस्बिर राखेका थिएनन् । अनलाइनमा सम्पर्क हुँदा उनले सरिताको व्यवसाय र कमाइबारे सोधेका थिए ।

उनले रसियामा जागिरमा लगाइदिने र प्रतिमहिना डेढ लाख रुपैयाँ कमाइ हुने प्रलोभन दिए । सरिताले यसबारे मिल्ने साथी शर्मिला र सरस्वतीलाई बताइन् । उनीहरू पनि रसिया जान तयार भए । ऋण काढेर र ब्याजमा खोजेर सबैले पैसाको व्यवस्था गरे । आफूहरूसँग पासपोर्ट नभएको बताउँदा सबै व्यवस्था आफूले गरिदिने आश्वासन पाए । फेसबुकमार्फत कुराकानी भए अनुसार राजधानीको चाबहिल चोकमा पैसा लिन मोटरसाइकलमा आएका एक व्यक्तिलाई सबैले ३/३ लाख रुपैयाँ बुझाए ।

म्यानपावरको कार्यालय सोध्दा उसले आफू त्यस्तो धन्धा नगर्ने र वैदेशिक रोजगारीको दलाल नभएको बताउँदै ‘तपाईंको दु:ख देखेर सहानुभूति जागेको’ भन्दै विश्वासमा पारेका थिए । अनलाइनमै कुरा भए अनुरूप उनीहरू दिल्लीको मजनुकोटिलामा भेट हुने र आफूले बीच बाटोमा मोबाइलबाटै सम्पर्क गर्ने भन्दै सबैको मोबाइल नम्बर राखेको थियो । सम्पर्क नगरेपछि उनीहरू ठगिएको खुलेको हो । 


Published on: 29 March 2017 | Kantipur

Back to list

;