s

फेरि नक्कली डिपार्चर स्ट्याम्प

राहदानीमा नक्कली डिपार्चर स्ट्याम्प लगाएर दिल्ली हुँदै दुबई जान लागेका दुई जना पक्राउ परेका छन् । नेपालीले नागरिकताकै भरमा भारत जान पाउने सुविधा दुरुपयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियामार्फत दिल्ली उड्न लागेका जीवनकुमार बर्देवा र नूतन तामाङलाई विमानस्थल अध्यागमनले आइतबार नियन्त्रणमा लिएको हो । उनीहरू एयर इन्डियाको फ्लाइट नम्बर एआई २१४ बाट जाने तयारीमा थिए । अध्यागमनका अनुसार दुवैका साथबाट दुबईको पर्यटक भिसासहितको राहदानी पनि बरामद भएको छ । उक्त राहदानीमा अध्यागमनको छापसमेत नक्कली पाइएको छ । अध्यागमनले पर्यटक भिसामा खाडी जान कडाइ गरेपछि उनीहरू राहदानी लुकाएर भारत पुग्ने र त्यहाँबाट दुबई छिर्ने योजनामा थिए ।

भ्रमण उद्देश्यबारे सोधपुछ गरेपछि अध्यागमन अधिकारीले एयर इन्डियासँग उनीहरूको यात्रा विवरण मागेका थिए । एयर इन्डियाले दिल्ली हँुदै दुबई जान लागेको सूचना दिएपछि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि महानगरीय प्रहरी अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उनीहरूले चाबहिलको एक म्यानपावर कम्पनीले नक्कली डिपार्चर स्ट्याम्प हानिदिएको बयान दिएका छन् । अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले यो घटनाले सबैलाई झस्काइदिएको बताए । ‘पासपोर्ट लुकाएर नागरिकताका भरमा भारत जाने र त्यहाँबाट तेस्रो मुलुक जाने घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ,’ उनले भने । पछिल्लो घटनाको अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार नक्कली डिपार्चर स्ट्याम्प हान्ने काममा संलग्न एक म्यानपावर एजेन्टको पहिचान भइसकेको छ । ‘फरार एजेन्ट छिट्टै पक्राउ पर्नेछन्, सबै तथ्य बाहिर आउनेछ,’ उनले भने । भिजिट भिसा निर्देशिका अस्वीकृत

पर्यटक भिसामा खाडी जान स्थानीय तहबाट आर्थिक हैसियत खुल्ने सिफारिस बनाउनुपर्ने गरी अध्यागमन विभागले बनाएको निर्देशिका गृहले अस्वीकृत गरिदिएको छ । विभागले सेटिङमा खाडी देश पठाएर अलपत्र पार्ने क्रम बढेपछि ‘भिजिट भिसा निर्देशिका’ बनाएर गृहमा पठाएको थियो । निर्देशिकामा ४० वर्ष कटेका र स्नातक तह उत्तीर्णबाहेकले खाडी देश जाँदा सिफारिस बनाउनुपर्ने नियम समेटिएको थियो ।

Published on: 31 October 2018 | Kantipur

Back to list

;