s

फलाम गलाउने भट्टी विस्फोट, ५ घाइते

बाराको जितपुर सिमरा उपमहानगरपालिका २ मा रहेको जगदम्बा स्टिल उद्योगको फलाम गलाउने भट्टीमा बुधबार विस्फोट हुँदा ५ भारतीय मजदुर घाइते भएका छन् । घाइतेमध्ये ४ मजदुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उद्योगको फलाम गलाउन भट्टीमाउनीहरु दैनिक ज्यालादारीमा कार्यरत थिए। घटनाको खबरलगत्तै ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली पुगेर उद्धार कार्य गरेको थियो। उद्योगभित्रको उक्त भट्टीमा आगो बालेर फलाम गलाउने क्रममा भट्टी विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा भारत बिहार सितामढीका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार, २० वर्षीय पंकज कुमार र भारत बिहार मोतिहारीका ३५ वर्षीय विनायक सिंह घाइते भएका ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए।

गम्भीर घाइते भएका सबैको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। समान्य घाइते मोतिहारीका विनायक सिंहको तराई अस्पताल सिमरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमजोर भएको भट्टी धेरै तातो भएर पड्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। करिडोरमा लामो समयदेखि सञ्चालनमा रहेका अधिकांश उद्योगका उपकरणहरु पुरानो भइ जीर्ण भएका छन् । जीर्ण उपकरणलाई नियमित रुपमा मर्मत सम्भार गर्न उद्योगले चासो नदेखाउँदा उद्योगमा अहिले दुर्घटनाको क्रम बढेको छ। ४ महिना अगाडि बाराको विद्यानगरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालीको मोलासिस स्टक गर्ने ट्यांकी विस्फोट हुँदा ९ जना मजदुरले ज्यान गुमाएका थिए। दर्जन बढी मजदुरहरु घाइते भएका थिए।

‘उद्योगहरुले उपकरण मर्मतको नाममा कागजमै खर्च देखाउँछन्,’ एक मजदुरले भने, ‘तर उद्योगको उपकरण मर्मत गरिँदैन।’ उद्योगका माथिल्ला तहका अधिकारीले कागजमै उपकरण मर्मत गरेर खर्च निकासा भएको रकम स्वाहा पारिदिने गरेको ती मजदुरको आरोप छ । पथलैया–वीरगंज औद्योगिक करिडोरमा ५ सय भन्दा बढी उद्योगीहरु सञ्चालनमा छन्।

Published on: 10 October 2018 | Kantipur

Back to list

;