s

पेन्सनसहित सामाजिक सुरक्षा

होम कार्की

श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । ऐनअनुसार साउन १ देखि रोजगारी पाउने श्रमिकलाई रोजगारदाताले अनिवार्य रूपमा कोषमा समेट्नुपर्ने छ । 

३ हजार ८ सय ८० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औषधोपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, सुरक्षा योजना, आश्रित परिवार र वृद्धावस्थामा सुरक्षा योजना दिने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । योगदान रकम कोषमा जम्मा नभएसम्मको अवधिको सेवा सुविधाको व्यवस्थापन सम्बन्धित रोजगारदाताले नै बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

‘श्रम र सामाजिक सुरक्षा ऐनले श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिने सुनिश्चितता गरेको हुनाले सबै रोजगारदाता अनिवार्य रूपमा कोषमा सूचीकृत भई योगदान गर्नुपर्छ,’ श्रम मन्त्रालयका सामाजिक बघिमिरेले भने, ‘सरकारले सूचीकृत नभएका रोजगारदातालाई असोज मसान्तसम्मको थप समय दिएको छ । त्यसपछि सहभागी नहुने रोजगारदातालाई कानुनी कारबाही हुनेछ ।’ सञ्चय कोषमा रहेका श्रमिकसमेत सहभागी हुन पाउने गरी स्पष्ट व्यवस्था गरिएको उनले बताए ।

‘कोषमा योगदान सुरु हुनुभन्दा अगाडि प्रचलित कानुनबमोजिम सञ्चालनमा रहेका अन्य अवकाश योजनामा उपदान, सञ्चयकोष जम्मा गर्ने वा रोजगारदाताको जिम्मामा रहेको योगदानकर्ताको श्रमिकले समेत सहभागी हुन पाइनेछ,’ उनले भने, ‘श्रमिकले सञ्चयकोषको रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न पाइनेछ । त्यसका लागि कोषले सम्बन्धित अवकाश कोषसँग वा रोजगारदातासँग समन्वय गर्नेछ ।’

श्रमिकले कोषमा योगदान सुरु गरेको मितिभन्दा अगाडिको सञ्चयकोष र उपदानबापतको रकम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न नचाहे कोषमा योगदान सुरु गर्ने मितिभन्दा अगाडिको त्यस्तो रकम सम्बन्धित श्रमिकले आफैं भुक्तानी लिन वा प्रचलित कानुनबमोजिम सञ्चालनमा रहेको अन्य अवकाश कोषमा रहेको रकम सोही कोषमा नै राख्न सकिने उनले बताए ।

बाँकीसामाजिक सुरक्षा कोषमा कम्तीमा तीन महिना योगदान गर्नेले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा सहभागी हुन पाउने छन् । यसमा श्रमिकले आफ्नो र परिवारको उनीहरूले स्वास्थ्योपचारको खर्च पाउने छन् । रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि (कम्तीमा वार्षिक १२ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसेर उपचार गराए त्यस्तो अवधिमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम सुविधाबापत पाउने छन् ।

रोजगारदाताबाट पारिश्रमिकसहितको प्रसूति बिदा पाउने अवधि (कम्तीमा साठी दिन) बाहेक प्रसूति बिदा बस्नुपर्दा सो अवधिका लागि निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत प्रसूति बिदाको रकम सुविधाबापत भुक्तानी पाउने छन् । बिरामी बिदा वा प्रसूति बिदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भए बिदा अवधिको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले श्रमिकलाई भुक्तानी गर्नेछ ।

कोषमा आबद्धले दुर्घटना तथा अशक्तता सुरक्षाबापतको सुविधा पाउने छन् । श्रमिक रोजगारीजन्य दुर्घटनामा परेमा उपचार गर्दा लाग्ने सबै खर्च कोषले बेहोर्ने छ भने अन्य दुर्घटनामा ७ लाखसम्म उपचार खर्च दिनेछ ।

श्रमिकले अवकाश उमेर पूरा भएपछि आफूले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताका तर्फबाट भएको योगदान समेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने छन् ।

योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगदान रकम एकमुस्ट रूपमा प्रदान गरिनेछ । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्नेछ ।

योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पूरा भएको रहेछ भने त्यस्तो योगदानकर्ताले निजले कोषमा गरेको योगदान, रोजगारदाताका तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुस्ट रूपमा लिन वा कुल रकमलाई १८० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तिभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्नेछ ।

निवृत्तभरण योजना लागू हुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले निवृत्तिभरणका लागि निवेदन नदिएमा कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदानबापतको योगदान रकम, रोजगारदाताका तर्फबाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुस्ट भुक्तानी पाउनेछ ।

यस्ता छन् सुविधा

औषधोपचार र मातृत्व सुरक्षामा वार्षिक १ लाख

दुर्घटनामा ७ लाखसम्म उपचार खर्च

स्थायी असक्षमतामा जीवनभर पेन्सन, आधारभूत पारिश्रमिकको ६० प्रतिशत

श्रमिकका पति वा पत्नीलाई तलबको ६० प्रतिशत निवृत्तिभरण

६० वर्षपछि जीवनभर निवृत्तिभरण

Published on: 18 July 2019 | Kantipur

Back to list

;