s

पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष कोइरालाले नक्कली कामदार मागपत्र बनाएर ठगेको खुलासा

उमाकान्त पाण्डे

पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष त्रिलोचन कोइराला ठगी धन्दामा संलग्न भएको पाइएको छ ।युएईमा पत्रकारिता गरिरहेका कोइरालाले युएईका विभिन्न कम्पनीबाट क्लिनर तथा अन्य नेपाली कामदारको मागपत्र गराउने भन्दै काठमाडौंको सिनामंगलमा रहेको रसुवा ओभरसिजबाट ३५ हजार दिर्हाम अर्थात झण्डै ६ लाख रुपैयाँ लिएको म्यानपावरले जनाएको छ ।

 
उनले कन्चनजंघा टेक्निकल सर्भिसेसबाट ५० जना र एभरेस्ट बिल्डिङ क्लिनिङ सर्भिसेसमा ५० जना गरी सय जना पुरुष कामदारलाई क्लिनरको कामका लागि नक्कली मागपत्र बनाएर म्यानपावरबाट रकम असुलेका हुन् । 
 
कोइरालाले भिसा पठाउँछु भन्दै पैसा लिने र पैसा पाएपछि सम्पर्कविहीन हुने गरेको म्यानपावर कम्पनीका सञ्चालक सुवर्ण लामाले बताउनुभयो । म्यानपावरका अर्का संचालक सूर्य राईका अनुसार कामका लागि श्रम विभागमा जाँदा विभागकै कर्मचारीले कोइरालासँग सम्पर्क गराएका थिए ।
 
विभागका कर्मचारीले नै सम्पर्क गराएका व्यक्ति भएकाले विश्वास गरेर पैसा दिएको राईले बताउनुभयो । तर पैसा लिएपछि कोइराला सम्पर्कविहीन भएको उहाँले बताउनुभयो ।
 
झापाको लखनपुरका कोइराला १० वर्ष अघि युनाइटेड प्रि काष्ट कन्क्रिट नामक कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको रुपमा युएई आएर काम गरिरहेका थिए । केही समयपछि आफैं व्यवसाय गर्ने भन्दै उनले बरदुवईमा सिटी लाइफ ट्राभल चलाइरहेका थिए । कोइरालाले म्यानपावर कम्पनीबाट युएईको मशिर्क बैंकमा रहेको मोफसल फ्रिजोन एलएलई नामक आफ्नै कम्पनीको आफ्नो खातामा पैसा मागेका थिए ।
 
गल्ती भएको हो : कोइराला 
 
विश्वासका नाताले ब्यवहार गरे पनि आफू पनि अरुबाट ठगिएकाले आफ्नो बदनामी भएको पत्रकार त्रिलोचन कोइरालाको भनाइ छ । केही दिनमा युएईको बसाइ सकेर नेपाल फर्किने तयारी गरेको भन्दै नेपाल फर्केर आफ्नो ब्यवहार मिलाउने कोइरालाले भने ।
 
उज्यालो अनलाइनसँग कुरागर्दै कोइरालाले भने ‘काम गर्ने क्रममा गल्ती भयो, दुईदिनमा हिसाब क्लियर गर्छु समाचार नलेखिदिनुहोला ।’ कोइरालाले पैसा फिर्ता गर्छु भनेको दुई दिन वितिसकेको छ । तर अहिलेसम्म कसैलाई पनि पैसा फिर्ता गरेका छैनन । उल्टै उनीबाट ठगिएको भन्दै सम्पर्कमा आउने बढेका छन् ।
 
पत्रकार महासंघमा राजीनामा, ठगी गरेको बारे अध्ययन सुरु
 
कोइरालाले पत्रकार महासंघ युएई शाखाको सल्लाहकार पदबाट राजीनामा दिएका छन । उनले ठगेको बिषय सामाजिक सन्जालमा कुराकानी हुन थालेपछि कोइरालाले शनिबार राजीनामा दिएका हुन । 
 
महासंघ युएई शाखाले राजीनामा स्विकृत गरेर बाँकी बिषयमा अध्ययन सुरु गरेको र अध्ययनपछि सत्यतथ्य बिषय सार्वजनिक गरिने महासंघ युएई शाखाका उपाध्यक्ष संकल्प खनालले बताउनुभयो । 
 
Published on: 19 March 2018 | Ujyaaloonline

Back to list

;