s

पतिबाटै भारतमा बेचिएपछि

'अहिले म के गरूँ, के नगरूँको दोधारमा छु,' लामो अनुनयपछि कुरा गर्न राजी भएकी उनले सुरुमै आफ्नो मनोदशा दर्शाइन्, 'अन्यायमा परेँ, न्याय चाहियो भन्दै कतै जानसक्ने अवस्थामा म छैन, चुपचाप बस्दा पनि मन पटक्कै मान्दैन।' 

आफ्नै पतिबाट भारतीय यौन बजारमा बेचिएकी झुमा लामा (नाम परिवर्तन) असुरक्षाको भयमा छिन्। घरीघरी घटनाबारे सबैलाई बताउँदै हिँडूजस्तो लाग्ने अनि फेरि घरपरिवार र भविष्य सम्झँदा 'संयमित' बनिहाल्न बाध्य हुनुपर्ने स्थिति उनको छ। केही समययता अन्तरद्वन्द्व यति तीव्र बनिरहेको छ, यसै गरूँ भन्ने मेसो उनले पाएकी छैनन्। आमाबासँगको भेटपछि केही नयाँ बाटो पत्ता लाग्ने आशा छ उनको। त्यही आसले अहिले उनलाई तनाव व्यवस्थापन गर्न सघाइरहेको छ। 'अबको दुई दिनभित्र बाआमासँग भेट हुँदैछ,' उनले नागरिकसँग भनिन् 'के गर्ने हो, त्यसपछि निर्णय गर्नुपर्ला।' 
परिवार र छरछिमेकी सबैले 'लायक' ठहर गरेर जसलाई कन्यादान गरे, उसैले छोरीको जीवन बर्बाद पारेको खबर उनका अभिभावकले पाएका छैनन्। तर, समस्यामा छु भनेर खबर गरेका कारण उनका अभिभावक झापाको काँकडभिट्टा आउँदै छन्। उनी माइती नेपालको संरक्षणमा बसेकी छन्। 
हेटौंडाको एउटा सरकारी विद्यालयबाट एसएलसीको परीक्षा सिध्याउनेबित्तिकै उनको घरजम गरिदिने विषयले घरमा प्रवेश पायो। खेतीकिसानी गर्ने उनका बाआमासँग भावी ज्वाइँबारे उति ठूलो सपना थिएन। सामान्य नेपाली बाआमाको चाहजस्तै 'गरिखाने खालको केटो' भए हुने उनीहरूको मनसाय थियो। घरमा दिनरात त्यही विषयमा कुराकानी हुन थालेपछि उनले पनि मनमनै आफ्नो सपनाको राजकुमार खोज्न थालेकी थिइन्। 'मेरो पनि ठूलो सपना थिएन,' कुराकानीका क्रममा धेरैपटक भक्कानिएकी उनको इच्छा थियो रे 'जागिरे पति होस्, सानो र सुखी परिवार होस्।' 

घरमा चलिरहेको कुराकानी एक कान दुई कान हुँदै छिमेकतिर पनि फैलिन थालेको थियो। एकजना छिमेकी व्यापारीसँग झुमाका बाले मनको कुरा कहेका थिए। 'एक दिन बालाई तिनै मान्छेले राम्रो केटो छ भन्दै कुरा लिएर आएछन्,' झन्डै वर्ष दिनअघिको घटना सम्झँदै २० वर्षे उनले भनिन् 'त्यसपछि कुरा अघि बढ्यो, परिवारबारे बु‰ने काममा पनि बाले तिनै मान्छेलाई जिम्मा दिनुभो।' त्यस क्रममा नजिकैको गाउँमा किराना पसल गर्ने, परिवारको एक्लो छोरा, आम्दानी राम्रै भएको केटो भएको निष्कर्षमा उनीहरू पुगे। केटोको चालचलनबारे ढुक्क हुन छिमेकीले उनीहरूलाई सम्झाएकै थिए। आउजाउ चल्न थालेपछि झुमाले पनि नाइँ भन्न सकिनन्। अघिल्लो वर्ष मंसिरमा उनको बिहे भयो। 

बिहे भएको आठ महिनासम्म सबै कुरा ठिकठाक चलिरहेको थियो। माइतीतिर आउजाउ पनि राम्रै थियो। उनी रमाएरै बसेकी थिइन्। एकदिन उनका पतिले घुम्न भारत जाने कुरा गरे। नजिकैको बजारभन्दा टाढा कहिल्यै नगएकी उनलाई पतिसँग घुम्न पाइने कुराले उत्साही पारेको थियो। 'मेरै करकरले असारको बेलामा घुम्न जाने भन्दै हामी दुईजना इन्डियातिर लाग्यौं,' पतिले चिनाइदिएको 'रक्सौलको बाटो' त्यता गएको बताउने उनले त्यसपछिको तीन दिनपछि पतिबाट 'आसाम आइपुग्यौं' भन्ने जानकारी पाइन्। त्यहाँ पुगेको पहिलो दिन उनीहरू एउटा होटलमा बसेका थिए। भोलिपल्ट धेरै ठाउँ घुमाइदिने वचन दिएका उनका पति बिहान ब्यूँझँदा साथमा थिएनन्। 
'मैले नचिनेको ठाउँमा उनलाई कता खोज्ने पत्तो पाउनै सकिनँ,' उनले भनिन् 'त्यसैले होटलका मान्छेलाई खोजिदिन भनेँ। उनीहरूले सधैं आउने मान्छे हो आइहाल्छन् भन्दै सम्झाए।' आउनेजानेहरूको बाक्लो भीड हुने होटलमा उनले अर्को रात पति आउने आसमा अनिदै बिताइन्। भोलिपल्ट बिहान शिलचर भनिने ठाउँका ती होटल मालिकले 'तिम्रो मान्छे काम परेर नेपाल हिँडेको, केही दिनपछि आउने रे' भन्ने खबर सुनाए। उनी छक्क परिन्। बिरानो देशमा आफूलाई एक्लै छाडेर हिँड्नुपर्ने पतिको बाध्यता उनले बु‰नै सकिनन्। त्यसको केही दिनपछि जब उनीमाथि दुर्व्यवहार हुन थाल्यो, बल्ल थाहा भयो, उनलाई पतिले त्यहाँ बेचेर हिँडेका रहेछन्। 
'त्यसपछि दैनिकजसो ममाथि दुर्व्यवहार हुनथाल्यो,' उनले भनिन् 'न मैले भाग्ने योजना बनाउन सकेँ, न अरु केही उपाय नै।' उनका अनुसार होटल सञ्चालकले भनेजस्तो नगर्दा उनले धेरै यातना खेप्नुपरेको थियो। यसरी उनले त्यहाँ झन्डै ६ महिना बन्धक जीवन बिताइन्। मंसिर अन्तिम साता आसाममै रहेका एक नेपालीले उनलाई बिहेको बहानामा बन्धनमुक्त पारे। त्यसपछि केही भारतीय सहयोगी संस्था, प्रहरी र माइती नेपालको सहयोगमा उनी नेपाल आइपुगिन्। 
मंसिरको अन्तिम साता नेपाल आइपुगेकी उनले पहिला बाआमालाई सम्पर्क गरिन्। उनका पतिले 'छोरीलाई भारत पढ्न पठाएको' भन्दै माइतीमा झुक्याइरहेको उनले थाहा पाइन्। उनका बाबआमालाई घरका सबैले र पहिलेका लमि व्यापारीले पनि उस्तै जवाफ दिन्थे। सम्पर्क गराउन उनीहरू सधैं पन्छिन्थे। 'उहाँहरुलाई खास कुरा केही थाहा छैन,' उनले भनिन् 'म भएको ठाउँमा तपाईंहरू आउनु मात्रै भनेको छु।' उनी भविष्य सम्झेर आफ्नो वर्तमान ध्वस्त पार्ने 'पति' लाई कुनै हालतमा छुट नदिने बताइरहेकी छन्। 
यसरी आफन्तबाटै छिमेकी देशमा लगेर बेचिने चेलीको संख्या ठूलो छ। माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयको सक्रियतामा सन् २०१३ मा मात्रै १६ जना नेपाली चेलीलाई भारतबाट यसैगरी उद्धार गरिएको छ। 'यस्तो समस्यामा परेका चेलीहरु धेरै छन्,' माइती नेपालका प्रमुख गोविन्द घिमिरे भन्छन् 'अझै पनि बेचबिखनको शृंखला घट्न सकेको छैन।' 
एक वर्षभित्र माइती नेपालले काँकडभिट्टा नाका हुँदै भारततर्फ असुरक्षित रूपमा जान लागेका २ सय ७९ जना महिलालाई नाकामा चेकजाँच गरी रोकेको छ। पीडित महिलाले बेलैमा पहिचान गर्न नसघाउँदा र प्रमाणको अभावमा मानव बेचबिखनमा संलग्न दलाल कानुनी कारवाहीबाट उम्किने गरेका छन्।

 Published on: 10 January 2014 | Nagarik

Back to list

;