s

पति विदेशमा, पत्नी 'चक्कर' मा

रमेश खतिवडा
 
दोलखा– छब्बीस वर्षीया कल्पना (नाम परिवर्तन) को बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन् । सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति बिदेसिए । त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नफर्कंदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।
 
भीमेश्वर नगरपालिका–३ की २१ वर्षीया एक महिला पति बिदेसिएको महिनादिनमै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् । यी दुई प्रतिनिधि घटना हुन्, जिल्लामा बिदेसिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पतिलाई नांगेझार बनाएर परपुरुषसँग सल्कनेको महिलाको संख्या पनि । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला सेलमा यसरी पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाऊँ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाउँछ ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्र मानिस हराएको भन्दै खोजपडताल गरीपाऊँ भन्ने ८३ वटा निवेदन दर्ता भएका छन् जसमध्ये महिला हराएको मात्र ४८ वटा छन् । पुरुष आठ र बाँकी बालबालिका हराएको वा सम्पर्कबाहिर रहेको निवेदन परेका छन् ।
 
महिला हराएका ४८ निवेदनमध्ये २५ वटाजति त माथिका घटनाक्रमसँग मिल्दाजुल्दा छन् । जिल्ला प्रहरी कार्यालय, महिला सेलमा दर्ता निवेदनअनुसार महिला सम्पर्कबाहिर हुने उजुरीमा सम्बन्ध र सम्पत्तिसँग बढी जोडिएका देखिन्छन् । 'महिला सम्पर्कबाहिर रहेकाले खोजतलास गरी पाऊँ भनी दिइएको उजुरीमा श्रीमान विदेश रहेका बेला भागेको, प्रेमीसँग हिँडेको, सम्पत्ति लिएर हिँडेको जस्ता घटना धेरै छन्,' जिल्ला प्रहरी कार्यालय, दोलखाअन्तर्गत महिला सेलमा कार्यरत प्रहरी जवान सरस्वती जिसी भन्छिन् ।
 
पहिलो घटनाअनुसार कल्पना केटालाई घरमै बोलाउँथिन्, सासूससुरा र घरका सदस्यलाई काकाका छोरा भनेर चिनाउँथिन् । सातवर्षे छोरालाई 'मामा' भन्न सिकाइन् । भाइसँग माइत जान्छु भन्दै उनी तिनै पुरुषसँग काठमाडौं ओहरदोहर गर्न थालिन् । माइती पक्षलाई काकाससुराको छोरा भनेर परिचय गराइन् ।
 
विदेशमा रहेका पतिको मात्र होइन, उनले घर र माइती दुवै पक्षको आँखामा झुटको सहाराले छारो हाल्दै गइन् । झुटो धेरै दिन टिक्दैन, माइतीका दाजुलाई शंका लागेपछि बहिनीको घरमा उनका जेठाजुलाई फोन गरेर ती पुरुषबारे सोधेपछि बल्ल रहस्य खुल्यो ।
 
त्यो पुरुष देवर वा भाइ नभई उनको पे्रमी रहेको रहस्य खुलेलगत्तै कल्पना परिवार, माइती र आफ्नै छोरालाई समेत त्यागेर त्यही केटासँग हिँडिन् । बुहारी सम्पत्ति र गरगहनासहित सम्पर्कविहीन भएपछि ससुराले खोजतलास गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।
 
जिसीका अनुसार पति बिदेसिएपछिको प्रेमसम्बन्धबाहेक अन्य कारण पनि महिलाले घर छाडेर हिँडेका उदाहरण छन् । विदेश बसेका पति घर फर्किएपछि आफूले पठाएको रकमको हिसाबकिताब हुने र त्यसैमा झगडा परेर तनाबमा पत्नीले घर छाडेका उजुरीमा आइरहन्छन् । विदेशमा रहँदा पतिले कमाएर पठाएको रकम सही ठाउँमा खर्च नगर्ने महिला सम्बन्धमा दरार बढ्दै गएर घरै छाडेका निवेदनसमेत महिला सेलमा आएको जिसीले जानकारी दिइन् ।
 
जिल्ला प्रहरीमा दर्ता भएका यस्ता निवेदनलाई प्रहरीले प्रक्रियामा लगेरै सल्टाउने गर्छ । 'खोजतलासको उजुरी लिएपछि उजुरीकर्तासँग मौखिक बयान गरेर पहिला घटनाक्रम अध्ययन गर्छौं,' जिसी भन्छिन्, 'घटनाको यथार्थ पत्ता लागेपछि खोजतलास गर्नुपर्ने व्यक्तिबारे मातहत र माथिल्लो निकायमा परिपत्र गर्छौं ।'
 
उनका अनुसार ८३ मध्ये ३० जनालाई परिवारको सम्पर्कमा ल्याइसकिएको छ । 'सकेसम्म सहमति गराएरै पठाउने गरेका छौं,' उनी भन्छिन्, 'यस्ता उजुरीमा अहिलेसम्म मुद्दा चलाउनुपरेको छैन ।'
 
फुर्सदिलो दैनिकी प्रमुख कारण
 
आर्थिक अवस्था कमजोरीले पतिलाई विदेश पठाएपछि महिलामा आर्थिक बोझ कम हुन्छ । पतिकै कमाइले परिवार धान्न सक्ने मनस्थिति राख्ने गरेका कारण यस्ता घटना हुने गरेको बताउँछिन्, लैंगिक सरोकार समन्वय समितिकी जिल्ला संयोजक कालिका पाठक ।
 
'श्रीमान विदेश गएपछि विदेशबाटै आउने पैसामा कतिपय महिला भर पर्ने गरेका कारण हाम्रो समाजमा यस्ता समस्या देखा परेका हुन्,' उनी भन्छिन् । पति विदेश गएपछि एक्लो महसुस गर्ने महिला फुर्सदिलो नबसी आफूलाई व्यस्त राख्नुपर्ने तर्क पाठकको छ ।
 
'फुर्सदिलो भएपछि टिभी हेर्ने, मोबाइलमा अलमलिने, फिल्म हेर्नेलगायत कारण महिलामा नकारात्मक सोच आउने र गलत बाटो लिने अवस्था आउनेतर्फ सचेत रहनुपर्छ,' उनी भन्छिन्, 'त्यसमाथि समाजमा बिदेसिएका पुरुषका श्रीमती र एकल महिलालाई गलत ढंगले हेर्ने संस्कारले पनि समस्या ल्याउँछ ।' पति बिदेसिएपछि महिलाले छोराछोरीको भविष्य सम्झेर सिपमूलक उद्योगधन्दा र काममा लाग्नुपर्ने पाठक सुझाउँछिन् ।
 
हेलमेल भइरहनुपर्छ
 
लाखौं युवा रोजगारी सिलसिलामा घरपरिवार छाडेर विदेश रहेका बेला भित्रभित्रै जटिल समस्या देखिन थालेको बताउँछन् वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय । 'लाखौं युवा घरपरिवार छाडेर विदेश गएर पठाएको रेमिट्यान्सले हाम्रो मुलुक चलेको छ भनेर हामी गर्व गर्छौं,' उनी भन्छन्, 'तर भित्रभित्रै हरेक परिवारमा थुप्रै खाले समस्या र पीडा देखिन थालेका छन् ।' उपाध्याय आर्थिक अवस्था कमजोर भएपछि बिदेसिने ग्रामीण तथा सहरी क्षेत्रका युवा बिदेसिएपछि परिवारसँग हेलमेल गरिरहनुपर्ने तर्क गर्छन् ।
 
'सबैको व्यवहार सजिलै बिग्रँदैन, जसजसले विदेश बसेरै व्यवहार सम्हाल्नुभएको छ, उहाँहरुको घरबार बिग्रेको कमै मात्र छ,' उनी भन्छन, 'बिदेसिएपछि ४÷५ वर्षसम्म घर नफर्कने, हेलमेललाई औपचारिकतामै सीमित राख्नेको घरव्यवहार बिग्रन सक्छ, बिदेसिने पुरुषले पनि समयमै सचेत हुनुपर्छ ।'
 
उपाध्याय घरमा रहेकी पत्नीमा मनोवैज्ञानिक असर नपुगोस् भन्नेतर्फ पुरुष पनि सचेत हुनुपर्छ । दैनिक वा साप्ताहिक रुपमा आत्मीय व्यवहार प्रस्तुत गरेर आफ्नो विश्वासपात्रलाई निगरानी गर्न सकिने उनी उपाय सुझाउँछन् ।
 
जिल्ला प्रहरी कार्यालय, दोलखाका इन्स्पेक्टर विनोद सुनुवार आउने हरेक निवेदनलाई विशेष निगरानीमा राखेर समस्या सुल्झाउने गरेको सुनाउँछन् । उनका अनुसार महिलाका बाहेक खोजतलासका लागि पुरुष र किशोरकिशोरीको समेत उस्तै किसिमले निवेदन आउने गर्छन् । 'पतिले आफूलाई हेला गरेर कान्छी श्रीमती ल्याएकाले सम्पर्कमा नबसेको भन्दै खोजतलास गरी पाऊँ भनेर पनि निवेदन आउँछन्,' सुनुवार भन्छन् ।
 
किशोर–किशोरीमा पनि समस्या
 
घर छाडेर हिँड्ने, परिवारबाट तर्किएर हिँड्ने वा प्रेमीप्रेमिकाको लहैलहैमा सम्पर्कबाहिर बसेको भन्दै खोजतलास निम्ति जिल्ला प्रहरीमा साउनयता मात्र २७ वटा निवेदन दर्ता छन् ।
 
'छोरो रिसाएर हिँड्यो, सम्पर्कमा आएन, छोरी यति दिनदेखि घरमा छैन भनेर पनि निवेदन आएका छन्,' महिला सेलकी प्रहरी जवान सरस्वती भन्छिन्, 'किशोरकिशोरी र बालबालिकाका निवेदनलाई अझ बढी चासो लिएर गम्भीरतापूर्वक अघि बढाउछौं ।'
 
त्यसरी हराएका किशोर–किशोरी र बालबालिकालाई सम्पर्कमा ल्याएर अभिभावकलाई बुझाउने गरिएको सरस्वती बताउँछिन् । केही साताअघि गैरीमुदीका तीन बालक स्कुलबाट हराएपछि परिवारले खोजतलास सुरु गर्यो । दुई दिनसम्म नभेटिएपछि प्रहरीलाई खबर गरियो । प्रहरीले उनीहरुको सिगँटीबाट उद्धार गरी परिवारको जिम्मा लगायो । मनोचिकित्सक उपाध्याय यस्तो समस्या भएका बालबालिकालाई उचित परामर्श दिनुपर्ने सुझाउँछन् ।
 
Published on: 13 March 2016 | Nagarik

Back to list

;