s

पठाउने म्यानपावर नै बेपत्ता भयो, छोरो कसरी भेटिएला ?

रुपा राई

दुई दिनपछि पैसा पठाउँछु भनेर फोन राखेको छोराले दुई वर्ष बित्दा पनि फोनसमेत नगरेपछि सिरहाका करिचन चमारको मन ठेगानमा छैन । करिचनका छोरा विशेश्वर महरा झण्डै सात वर्षअघि मलेसिया जानुभएको थियो ।

छ वर्षसम्म विशेश्वरले घरमा नियमित फोन गर्नुहुन्थ्यो । बुवाआमालाई खर्च पनि पठाउनुहुन्थ्यो । तर छोराले एक्कासी फोन गर्न छाडेपछि भने करिचनको भोक निद्रा हराएको छ । 
 
‘पैसा पठाउँछु भनेको छोरो न फोन गर्छ न यताबाट गर्दा लाग्छ, मेरो त भोक निद्रा हरायो, लौन कसरी खोज्नेहोला,’ करिचन छोराको फोटो देखाउँदै सोध्नुहुन्छ । करिचनलाई छोरा हराएको पीडाले थलिएकी श्रीमतीलाई सम्हाल्न गाह्रो छ ।
 
विशेश्वरकी आमा छोरा हरायो भनेर बर्बराइरहनुहुन्छ । ‘जतिबेला नि फोन गरेन भनेर भन्छे आमाले । मैले के जवाफ दिने, छोरा तँै भन,’ करिचन छोरालाई जसरी पनि फोन गर्न अनुरोध गर्नुहुन्छ ।
 
छोराले किन फोन गर्न छाड्यो भनेर करिचनले अड्कल पनि काट्न सक्नुभएको छैन् । उहाँलाई लाग्छ छोरा समस्यामा पर्यो होला । ‘मलेसियामा छोरो कस्तो समस्यामा छ थाहा छैन । हामी यहाँ छोरा बिना पीरको भारीले थिचिएका छौं,’ करिचनले भन्नुभयो ।
 
करिचन पीडा भुलाउन गाउँ डुल्नुहुन्छ । छिमेकीसँग कुराकानी गर्नुहुन्छ । छोराले फोन आउला कि भनेर कुर्नुहुन्छ । मलेसिया गएको थाहा भएपनि उहाँसँग छोराको बारेमा कुनै जानकारी छैन ।
 
विशेश्वरले जाल फ्याक्ट्रिमा काम गर्छु भनेर फोनमा भन्नुभएको थियो । महिनाको ४५ हजार रुपैयाँ कमाई हुन्छ पनि भनेका थिए । विशेश्वर आफ्नै मामा अजोदी मोचीमार्फत एकलाख २५ हजार रुपैयाँ बुझाएर मलेसिया जानुभएको थियो । ‘अहिले त छोरो पठाउने म्यानपावर पनि बेपत्ता छ रे खै छोरोलाई के भयो,’ विशेश्वर भन्नुहुन्छ । 
 
करिचनले विशेश्वरको खोजीका लागि अजोदीमार्फत म्यानपावर पनि पुग्नुभयो । तर म्यानपावर नै भेटिएन । छोराको खोजी गरिदिन उहाँले सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गत सूचना केन्द्र सिरहामा अनुरोध गर्नुभएको छ ।
 
Published: 15 February 2018 | Ujyaaloonline

Back to list

;