s

पटक-पटक बेचिएपछि उद्धार

लिला श्रेष्ठ

काठमाडौँ — विदेशी नागरिकको सहयोगमा कक्षा १२ सम्म अध्ययन गरेकी सुर्खेत भेरीगंगाकी २० वर्षीया कल्पना (नाम परिवर्तन) ले कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकिनन् ।

घरको आर्थिक अवस्था सुधार्ने लक्ष्य राखेर उनले वैदेशिक रोजगारमा जाने मनस्थिति बनाइन् । नातामा दिदी पर्नेलाई आफ्नो इच्छा व्यक्त गरिन् ।

ती दिदीले पनि कल्पनालाई थुप्रै मान्छेलाई वैदेशिक रोजगारमा पठाइसकेको जानकारी गराउँदै दीपक मगर भन्ने व्यक्तिसँग भेटेर कुरा गर्न सल्लाह दिइन् । कल्पनाले पुस पहिलो साता एजेन्ट दीपकलाई काठमाडौंस्थित सामाखुसी चोकमा भेटिन् । उनले कल्पनालाई भिजिट भिसामा बिनाशुल्क दुबई (यूएई) लैजाने र त्यहाँ ११ सय दुबई दिराम (करिब साढे ३८ हजार रुपैयाँ) मासिक पारिश्रमिक पाउने गरी घरायसी काम लगाइदिने प्रलोभन देखाए । कल्पना भिजिट भिसामा दुबई जान तयार भइन् ।

दीपकले कागजात मिलाउने अर्को व्यक्ति छ भन्दै कल्पनालाई मौसम भन्ने एजेन्टसँग चिनजान गराइदिए । कागजात नमिलुन्जेल कल्पनालाई काठमाडौं नयाँ बसपार्क नजिक भाडाको फ्ल्याटमा अन्य ७ महिलासँग राखे । उनलाई त्यहाँ झन्डै १ महिना राखे । ती एजेन्टले कल्पनालाई पुसको अन्त्यतिर दुबईको भिसा आएको जानकारी गराउँदै थप एक साता सोही फ्ल्याटमा राखे ।

मौसम भन्ने एजेन्टले कल्पनालाई माघ २ मा दुबई उड्ने दिन तय भएको जानकारी गराए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी, माइती नेपालका व्यक्तिहरूले सोधे भने ‘दुबईमा आमा हुनुहुन्छ भन्नू’ भन्दै आमाको दुबईको नक्कली परिचयपत्र थमाइदिए । ‘आमाले बोलाउनुभएको हो’ भन्नसमेत सिकाए । कल्पना माघ २ गते राति १० बजे एयर अरेबियामार्फत दुबई उडिन् । ‘मलाई एयरपोर्ट पुर्‍याउन मौसम गएका थिए,’ उनले भनिन्, ‘एयरपोर्ट पुगेपछि मौसमले २ सय डलर दिए अनि दुबई पुगेपछि ड्राइभर लिन आउँछ भनी मेरो फोटो खिचे ।’

कल्पना दुबई पुगेपछि एजेन्टले भनेबमोजिम ड्राइभर लिन आए । ती ड्राइभरले कल्पनालाई कारमा झन्डै १ घण्टा यात्रा गराई भाडाको कोठामा पुर्‍याए । कोठामा पुगेपछि उनको राहदानी, भिसा, मोबाइल र एजेन्टले दिएको २ सय डलर जफत गरे । भोलिपल्ट अर्का एजेन्ट पाकिस्तानी नागरिक समीर भनिने व्यक्ति कल्पना बसेको कोठामा आए । ‘ती पाकिस्तानीले संवेदनशील अंगहरूमा छुने, हात समात्ने गर्न खोज्यो तर मैले डरले कोठासँगैको साथीहरूलाई भन्नेबाहेक प्रतिवाद गर्न सकिनँ,’ उनले भनिन् ।

दुबई पुगेको ३ दिनमा अर्की एजेन्ट मीना डोल्मा भन्नेले कल्पनाको अन्तर्वार्ता लिई फोटो खिचेर घर साहुको ह्वाट्सएपमा पठाइन् । कल्पना घरायसी कामका लागि छनोटमा परिन् । सोही दिन साहुको ड्राइभर लिन आए र १ घण्टाको यात्रापछि घर पुर्‍याए । ‘त्यहाँ घर सफा गर्ने, आइरन लगाउने, खाना बनाउने, २ जना बच्चा हेर्नेलगायतको काम १८ घण्टासम्म गर्नुपर्थ्यो तर पेटभरि खाना खान पाइँदैनथ्यो,’ उनले भनिन्, ‘खाइनखाई काम गर्दा बिरामी भएँ, साहुलाई बिरामी परें काम गर्न सक्दिनँ भन्दा एजेन्टको अफिसमा फिर्ता पठाइदियो ।’

अफिसमा फिर्ता भएपछि भोलिपल्टदेखि एजेन्ट समीरले उनलाई राम्रो काम दिलाउने प्रलोभन दिँदै स्पोन्सरले बोलाएको भनी कारमा राखे । कारलाई पार्किङ गर्ने ठाउँमा लगेर उनलाई जबर्जस्ती करणी गरे । ‘त्यो समीरले बिरामी छु भन्दा पनि छोडेन,’ पीडित कल्पनाले भनिन्, ‘एक हप्तापछि उसले होटलमा डेलिभरीको काम छ र १३०० दिराम मासिक पारिश्रमिक हुन्छ भन्दै होटल पुर्‍याएर पटक–पटक जबर्जस्ती करणी गर्‍यो ।’ त्यसपछि एजेन्टले ड्राइभरको साथ लगाएर अर्को घरमा काम गर्न पठाएको उनी बताउँछिन् ।

उनले त्यहाँ पनि घर सफा गर्ने, बच्चा हेर्ने, लुगा धुने, आइरन लगाउने काम गर्नुपर्थ्यो । दुई सातापछि सोही घरमा कुकको काम गर्ने ३१ वर्षीय एक पाकिस्तानी पुरुषले संवेदनशील अंगहरूमा छुने, ह्वाट्सएपमा अश्लील तस्बिर, म्यासेज पठाउने गर्न थाल्यो । उनले साहुलाई त्यसबारे जानकारी गराइन् । साहुले ती पुरुषलाई सम्झाउँदा पनि हर्कत रोकिएन ।

कल्पनाले साहुलाई काम गर्न नसक्ने बताउँदै नेपाल फर्किने वातावरण मिलाइदिन अनुरोध गरिन् । तर, ती साहुले उनलाई १४ हजार दिराम (करिब ५ लाख रुपैयाँ) मा किनेको भन्दै उक्त रकम नतिरी जान नदिने बताए । कल्पनाले पाकिस्तानी एजेन्ट समीरलाई जतिसक्दो छिट्टै नेपाल फिर्ता पठाइदिन भनिन् । उनले बेवास्ता गरेपछि कल्पनाले आफूलाई पढाइमा सहयोग गर्ने स्वीडेनी नागरिक जोनाथन र जोन अबलेनलाई म्यासेज गरिन् । उनीहरूले माइती इन्डियाकी पूजा पाण्डे र बालकृष्ण पाण्डेलाई खबर गरी लब नेपाल, लब एन्ड होप नामक संस्थामार्फत दुबईबाट उद्धार गरिदिन अनुरोध गरे । माइती इन्डियाका पाण्डेलगायतले कल्पनाको उद्धारका लागि परराष्ट्र मन्त्रालय, अबुधावीस्थित नेपाली दूतावास, एनआरएनएलाई खबर गरे र फागुन ११ मा कल्पनाको उद्धार भयो ।

उद्धार भएर नेपाल आएकी कल्पनाले मानव बेचबिखन अनुसन्धान ब्युरोमा भिजिट भिसामा दुबई पुर्‍याएर बेचबिखन गर्नेहरूविरुद्ध उजुरी दर्ता गराएकी छन् । ब्युरोले पीडितको उजुरीका आधारमा अपराधमा संलग्नहरूको खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल सरकारले खाडी राष्ट्रमा घरेलु कामका लागि नेपालबाट कामदार जान रोक लगाएको छ । तर, नेपालबाट भिजिट भिसाको दुरुपयोग गर्दै एजेन्टहरूले घरेलु कामका लागि महिला लैजाने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ ।

Published on: 29 March 2023 | Kantipur

Link

Back to list

;