s

'पासपोर्ट त बनाएँ तर विदेश जान मनै छैन'

गीता चौधरी अहिले निःशुल्क 'गार्मेन्ट मेसिन अपरेटर' तालिम लिइरहेकी छन्। हाल काठमाडौंमा बसेर तालिम लिइरहेकी उनको घर कैलाली हो।

उनलाई सीप सिकेर सकेसम्म आफ्नै देशमा काम गर्न मन छ। तर यहाँ काम नपाउँदा बाध्य भएर वैदेशिक रोजगारीमा जाने सोचेको उनी बताउँछिन्।

'पासपोर्ट त बनाएकी छु तर मलाई विदेश जान मनै छैन,' उनले भनिन्।

वैदेशिक रोजगार बोर्डले विदेश जाने महिलाहरूलाई विभिन्न संस्थामार्फत निःशुल्क सीपमूलक तालिम दिइरहेको छ। गीता विदेश जाने सोच बनाएर यही तालिम लिइरहेकी छन्।

२१ वर्षीया सपना बस्नेत पनि तालिममा सहभागी छन्। कक्षा १० सम्म अध्ययन गरेर बसेकी सपना गरिबीकै कारण पढाइलाई निरन्तरता दिन नसकेको बताउँछिन्। उनले कतै केही काम नपाएपछि बाध्य भएर विदेश जाने सोचेको बताइन्।

'अझै पनि सकेसम्म आफ्नै देशमा काम पाए गर्छु भन्ने लाग्छ। तर केही काम पाइँदैन। अब यो तालिम लिएपछि त विदेशमा काम पाइन्छ भन्ने सुनेकी छु, हेरौं के हुन्छ। यो तालिम लिएपछि मैले गर्न सक्ने खालको काम यतै पाए त म विदेश जाँदिनँ,' सपनाले भनिन्।

यसअघि उनी परिवारसँग झापामै बसिरहेकी थिइन्। घरकै काम गर्थिन्। तर परिवारको आर्थिक अवस्था निकै नाजुक भएका कारण आफू अब रोजगारीको खोजीमा रहेको उनले बताइन्।

रामेछापकी भिममाया बस्नेत घिमिरे पनि गार्मेन्ट मेसिन अपरेटर तालिम लिइरहेकी छन्। केही समयअघि उनी ठेलामा तरकारी राखेर काठमाडौंका सडकमा बेच्थिन्। सडकमा बसेर व्यापार गरेकै भरमा उनको घर धानिएको थियो। तर काठमाडौं महानगरपालिकाले यसरी व्यापार गर्न नदिएपछि उनको रोजिरोटी खोसियो।

Ncell
'काठमाडौंमा त व्यापारै गर्न पाइएन। त्यसपछि भक्तपुर सरियो। व्यापार खासै छैन। त्यही पनि अब सडकमा व्यापार गरेर जीविका चलाउन सकिन्छ भन्ने निश्चित नै भएन। त्यसैले विदेश जानुपर्‍यो भन्ने सोच बनाएकी छु,' उनले भनिन्।

तालिमपछि काम पाए त यहीँ बसेर गर्न मन छ उनलाई।

भन्छिन्, 'के गर्नु काम नै पाइँदैन। महिनामा नियमित १५ हजार जति आउने काम पाए त म विदेश जान्नँ थिएँ,' उनले सुनाइन्।

यति बेला वैदेशिक रोजगार बोर्डले काठमाडौं उपत्यकाका विभिन्न नौवटा केन्द्र मार्फत पाँच सय जना महिलाहरूलाई तालिम दिइरहेको छ। यस्तो तालिम वैदेशिक रोजगारीमा जान पासपोर्ट बनाइसकेका तथा पासपोर्ट बनाउन राजस्व तिरिसकेका महिलाहरूलाई दिइएको हो।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले यस्तो तालिम सरकारले वैदेशिक रोजगारीमा जानेलाई सीपयुक्त बनाएर पठाउन सञ्चालन गरेको बताए।

'युवाहरूलाई दक्ष बनाएर पठाउन सके रेमिटेन्स आप्रवाहमा बढोत्तरी हुन्छ भन्ने सरकारको विश्वास हो,' उनले भने।

बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले नै जम्मा गरेको रकमबाट उक्त तालिमका लागि वित्तीय सहयोग गरेको उनले जानकारी दिए।

यसरी तालिम लिइरहेका महिलाहरूमध्ये अधिकांशले जोर्डन जाने सोच बनाएका छन्। कतिपय भने देशमै काम पाए विदेश नजाने बताउँछन्।

पछिल्लो समय कामको खोजीमा विदेशिने युवाको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षमा सात लाख ४० हजारभन्दा धेरैले श्रम स्वीकृति लिइसकेका छन्। कोभिड महामारीपछि देशमा बेरोजगारी समस्या बढेको र विदेश जानेको संख्या बढेको सरकारी अधिकारीहरू बताउँछन्।

आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए। नेपालमा कामको सम्मान नहुँदा पनि युवाहरू कामको खोजीमा विदेशिने क्रम बढेको वैदेशिक रोजगार विभागका निर्देशक गुरूदत्त सुवेदीको भनाइ छ।

'हाम्रोमा कामलाई हेप्ने प्रवृत्ति छ। यहाँ पनि थुप्रै अवसर त छन् नि! नत्र नेपालमा प्लम्बर काम छाडेर युवाहरू त्यहाँ किन ढुंगा फुटाउन जान्थे,' उनले भने।

निर्देशक सुवेदीका अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरू सबभन्दा धेरै मलेसिया तथा खाडी मुलुक गइरहेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता थुप्रै युरोपेली मुलुक जाने गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै सरकारले पनि सहज गन्तव्यमा पठाउन पहल गरिरहेको बताए।

'खाडीको चर्को घाममा पसिना बगाएर पनि पारिश्रमिक सेवासुविधा निकै कम छ। यी मुलुकभन्दा बरू दक्षिण कोरिया, इजरायल जस्ता अन्य आकर्षक मुलुकमा युवा पठाउन सके काम पारिश्रमिक तथा सेवासुविधाका हिसाबले सहज हुन्छ,' उनले भने।

Published on: 11 July 2023 | Setopati

Link

Back to list

;