s

पर्यटनमन्त्री भट्टराई भन्छन्– कुनै पनि पर्यटन व्यवसायीले श्रमिकलाई निकाल्न पाउँदैनन्

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कुनै पनि पर्यटन व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न नपाउने बताएका छन् ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण होटेल संघ नेपाल (हान)ले होटेल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम पारिश्रमिक दिने निर्णय गरेपछि मन्त्री भट्टराईले कसैले पनि श्रमिकलाई कामबाट हटाउन नपाउने बताएका हुन् । 

पर्यटनमन्त्री भट्टराईले बिहीबार पत्रकारहरूसँगको भेटमा कुनै पनि व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न (बेदखल) गर्न नपाउने बताए ।

उनले भने, ‘श्रमिकहरूको हकमा हामीले भनेका छौँ, कुनै पनि व्यवसायीले श्रमिकहरूलाई अहिले बेदखल गर्न पाइँदैन । किनभने उहाँहरूको सामाजिक सुरक्षा कोष पनि छ, साथै होटेल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरू पनि छन् । त्यस्तै सरकारले पनि त्यसमा हेर्छ । त्यसैले अहिले श्रमिकहरूलाई बेदखल गर्ने कुरा गलत हो । त्यो गर्न पाइँदैन भनेर हामीले भनेका छौँ र त्यसमा सरकारले आफ्ना केही आर्थिक प्याकेजहरू पनि दिने नै छ ।’

उनले कोरोना भाइरसबाट परेको प्रभावलाई कम गर्न व्यवसायीहरू र श्रमिकहरूको हितमा केही पुनर्स्थापना प्याकेजहरू अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको बताए ।

मन्त्रालयले निश्चित रकमसम्म व्यवसाय सुचारु गर्नका लागि विनाधितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुनर्तालिकीकरण गर्ने, मूल्य अभिवृद्धि कर तथा अन्य करमा छुट दिनेलगायतका विषयमा सहयोग गर्ने भट्टराईले बताए ।

Published on: 7 May 2020 | Nayapatrika

Link

Back to list

;