s

पर्यटन श्रमिकका समस्या समाधानमा सरकार सकारात्मक

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । पर्यटनमन्त्री भानुभक्त ढकालले कोभिडका कारण मारमा परेका पर्यटन श्रमिकका मागप्रति आफू सकारात्मक रहेको र समस्या समाधानमा पहल गर्ने बताउनुभएको छ ।

पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुराताìिवक, कार्गाे, कुरियर श्रमिक यूनियन (युनिट्राभ)का प्रतिनिधिमण्डलले बुझाएको १७ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

युनिट्राभले कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रका श्रमिकको उत्थानलाई जोड दिँदै युनिट्राभले मङ्गलबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गरिएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानुन नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आईटी टिम्स बन्द गर्नुपर्नेलगायतका माग रहेको जानकारी दिनुभयो ।

यस्तै युनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर उद्धारमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

युनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई दृष्टिगत गर्दै आपत्कालीन अवस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेचर गाइड र सफारी श्रमिकको कार्य व्यवस्थित पार्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र बिनाधितो सहुलियपूर्ण ऋणको व्यवस्था, महिला पथप्रदर्शकमाथि हुने विभेदको अन्त्य, पदमार्ग क्षेत्रमा रहेका सिन्डिकेटको अन्त्यलगायतका विषय यूनिट्राभले उठाएको छ । यसैगरी यूनिट्राभले विकासका नाममा बजेट सिध्याउन पदमार्गमा डोजर चलाउने र प्रकृतिमाथि दोहन गर्ने कार्यको अन्त्य गर्न भनेको छ ।

Published on: 24 March 2021 | Gorkhapatra

Link

Back to list

;