s

पर्यटन मजदुरलाई रोजगारी दिने काम सुरु, तर मजदुर संगठनकै विरोध

पर्यटन क्षेत्रबाट प्रभावित क्षेत्रका गाउँपालिकामा पर्यटन मजदुरलाई नेपाल पर्यटन बोर्डले रोजगारी दिने भएको छ । पर्यटकीय क्षेत्रका रूपमा चिनिएका तीनवटा गाउँपालिकामा पर्यटन मजदुरलाई लक्षित गरी रोजगारी दिने भएको हो । सो प्रयोजनका लागि बोर्डले गाउँपालिकासँग प्रस्ताव आह्वानसमेत गरेको छ । 

कोभिड–१९ का कारणले पदयात्रा तथा हिमाली क्षेत्रमा काम गर्ने २ लाख पर्यटन मजदुर प्रभावित भएको अनुमान छ । रोजगारी गुमाएका वा दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका पर्यटन श्रमिकलाई अल्पकालीन रोजगारी सिर्जना गर्न लागेको बोर्डले जनाएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सहयोग गर्ने भएको छ । तर, पर्यटनसँग आबद्ध विभिन्न संघसंस्थाले भने सीमित क्षेत्रका लागि मात्र कार्यक्रम ल्याएको भन्दै विरोध गरेका छन् ।

नेपाल  ट्रेकिङ, ट्राभल, र्‍याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघले सीमित गाउँपालिकामा मात्र कार्यक्रम ल्याएको भन्दै विरोध गरेका हुन् । 

तर, मजदुरका नाममा राजनीति गर्नेहरूले विरोध गरिरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए । उनले भने, ‘पहिले रोजगारी चाहियो भन्नेले अहिले विरोध गर्छन् ।’ बोर्डकै आग्रहमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको १ करोड ६० लाख सहयोगमा समस्यामा परेका मजदुरलाई रोजगारी दिन लाग्दा विरोध हुनु आश्चर्य लागेको उनले बताए । 

बोर्डले खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बु, मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिका (कास्की)मा कार्यक्रम सञ्चालन गर्न लागेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सगरमाथा आधार शिविर जाने पदमार्गमा ६० जना कामदारलाई रोजगारी दिइनेछ ।

मादी गाउँपालिका कास्कीमा १ सय कामदारले टोनी हेगन पदमार्गमा काम पाउनेछन् । अन्नपूर्ण आधार शिविरमा ६० जनाले रोजगारी प्राप्त गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार मजदुरहरूलाई पदमार्ग सरसफाइ, पदमार्ग मर्मत तथा व्यवस्थापन, साइनेज मर्मत तथा व्यवस्थापनमा काममा लगाइनेछ ।

published on: 18 August 2020 | Nayapatrika

Link

Back to list

;