s

पर्यटन मजदुरलाई रोजगारी दिँदै बोर्ड

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ५ गते । कोभिड–१९ सङ्क्रमणका कारण ठप्प पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने प्रक्रिया सुरु भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूूएनडीपी)सँगको सहकार्यमा पहिलो चरणमा २५० जना मजदुरलाई कम्तीमा तीन महिना रोजगारी दिनेछ । यसका लागि बोर्ड र यूूएनडीपीसँग समझदारीसमेत भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कम्तीमा पाँच हजार मजदुरलाई रोजगारी दिने योजना अनुसार बोर्डले प्रक्रिया सुरु गरेको निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यसका लागि तत्काल एक करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरिसकेको उहाँले बताउनुभयो । 

यसरी उपलब्ध हुनेछ रोजगारी

बोर्डले रोजगारी दिने कामका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सम्बन्धित स्थानीय निकायसँग सहकार्य गर्नेछ । कामको जिम्मेवारी र मूल्याङ्कनका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउने गरी बजेट त्यसैमार्फत खर्च गर्ने तयारी बोर्डको छ । बोर्डले यसका लागि स्थानीय निकाय पनि छनोट गरिसकेको छ ।

यसमध्ये गण्डकी प्रदेश अन्तर्गत अन्नपूर्ण आधार शिविर पर्ने अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिका रहेका छन् । त्यस्तै खुम्बु पासाङ ल्हामु क्षेत्रमा पनि बोर्डको यो योजना अन्तर्गत रोजगारी उपलब्ध गराइनेछ । यस क्षेत्रमा खासगरी पदमार्ग मर्मत सम्भार, सरसफाइ लगायतका काम गर्नुपर्नेछ । यसबाट करिब २३० जनाले रोजगारी पाउने बोर्डको अनुमान छ ।

त्यस्तै प्रदेश दुई अन्तर्गत जनकपुर क्षेत्रमा ३० जनालाई रोजगारी उपलब्ध गराइनेछ । यसरी रोजगारी पाउनेले ४५ दिन काम गर्नुपर्नेछ । हरेक दिन एक हजार रुपियाँका दरले मजदुरले ४५ हजार रुपियाँ पाउने छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको हिसाबले ४५ दिनमा पाउने पारिश्रमिकलाई तीन महिनाको कामका रूपमा गणना गरिएको बोर्डले स्पष्ट पारेको छ । यसरी मजदुरले गर्ने कामको सम्पूर्ण अनुगमन स्थानीय निकायले नै गर्नेछ । 

चार वर्षमा पाँच हजारलाई रोजगारी

बोर्डले यूूएनडीपीसँगकै सहकार्यमा आगामी चार वर्षभित्र पाँच हजार पर्यटन मजदुरलाई रोजगारी दिने योजना पनि बनाएको छ । यस सन्दर्भमा यूूनडीपीसँग छलफल भइरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित मजदुरलाई सम्बन्धित छाता सङ्गठनको सहकार्यमा पहिचान गरेर रोजगारी दिने विषयमा सकारात्मक छलफल भइरहेको बोर्डले जनाएको छ ।

Published on: 21 August 2020 | Gorkhapatra

Link

Back to list

;