s

पर्यटन क्षेत्रका ६५ प्रतिशत बेरोजगार

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ७ गते । कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्रमा आबद्ध ६५ प्रतिशत कर्मचारी तथा मजदुर बेरोजगार भएका छन् । रोजगारीमै रहेका मजदुरमध्ये २२ प्रतिशतले कोरोना सङ्क्रमणअघि प्राप्त गर्नेभन्दा कम तलब पाएको पाइएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको नेतृत्वमा काठमाडौँ लिभिङ ल्याब्सले गरेको सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण पर्यटनमा आबद्ध मजदुरको अवस्था कमजोर बनेको देखाएको हो ।

सर्वेक्षणका अनुसार महामारीयता मजदुरको बचतको स्थिति लगभग शून्यमा पुगेको छ । अध्ययनमा सहभागीमध्ये केवल ३.४ प्रतिशतले मात्र आफ्नो बचतको स्थिति समान रहेको प्रतिक्रिया दिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रोजगारी गुमाएकामध्ये २४ प्रतिशतले आफ्नो व्यक्तिगत तथा घरायसी सामग्री बिक्री गर्नुपरेको जनाएका छन् ।

त्यस्तै ८ प्रतिशतले जीविकोपार्जनका लागि व्यावसायिक प्रयोजनका सामग्री बिक्री गरेको सर्वेक्षणमा प्राप्त भएको छ । ७ प्रतिशतले पनि घरघडेरीजस्ता अचल सम्पत्ति नै बिक्री गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

कुल बेरोजगारमध्ये ८८ प्रतिशतले नगद सापटी लिएको पाइएको छ । धेरैले साथीभाइ तथा परिवारबाट यस्तो सापटी लिएकामा ८ प्रतिशतले बैङ्क तथा वित्तीय संस्थाबाटै ऋण लिनुपर्ने अवस्था आएको जनाएका छन् । बेरोजगारमध्ये ९२ प्रतिशत पहिले नै ऋण लिइसकेको अवस्थामा थिए ।

बेरोजगारले यही अवस्था कायम रहे छ महिनाभित्र थप चुनौती आउने जनाएका छन् । जसमध्ये धेरैले भाडा तिर्न, ऋण तिर्न, खाद्यान्न खरिद गर्र्न, स्वास्थ्य उपचार गर्न, शिक्षा शुल्क तिर्न र सापटी लिन समस्या हुने उनीहरूको प्रतिक्रिया छ ।

सर्वेक्षणले समस्यामा परेका यस्ता बेरोजगार व्यक्तिहरूको उद्धारका लागि केही महŒवपूर्ण सुझाव पनि दिएको छ । बेरोजगार व्यक्तिलाई बिनाधितो २ प्रतिशत ब्याजदरमा पाँच लाखसम्म ऋण दिनुपर्ने, छोटो तथा लामो समयमा लागि रोजगारी सिर्जना गरी आबद्ध गर्नुपर्ने, टिम्सलगायत स्रोतबाट महामारीको अवस्थाभर आधारभूत आवश्यकता पूरा गर्न नगद अनुदान दिनुपर्ने र बालबच्चाका लागि दुई वर्षसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

Published on: 21 May 2021 | Gorkhapatra

Link

Back to list

;