s

पयर्टन भिसामा युएई जानेमाथि कडाइ

सुरेन्द्र पौडेल

पर्यटन भिसामा युनाइटेड अरब इमिरेट्स (युएई) जानेमाथि सरकारले कडाइ गरेको छ। युएईलाई ट्रान्जिट बनाएर अवैध तरीकाले व्यक्तिगत तवरमा इराक, अफगानिस्तानलगायतका देशमा जानेको संख्या बढेपछि सरकारले कडाइ गरेको हो। युएईलाई ट्रान्जिट बनाउनेसँग नक्कली 'पर्यटन भिसा' बढी भेटिएका छन्। 

'पर्यटन भिसामा युएई जानेहरूले युएईलाई ट्रान्जिटको रूपमा प्रयोग गरी अवैध तरीकाले व्यक्तिगत रूपमा अफगानिस्तान, इराक, कुवेत, इरानलगायत देशमा गएको भेटिएको छ,' वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'जोखिम क्षेत्रमा जाने भएर मात्र होइन, युएई जानेहरूले पेस गरेको धेरै पर्यटन भिसा नक्कली देखिएकोले कडाइ गरिएको हो।'

व्यक्तिगत तवरमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाइएको अफगानिस्तान, इराक, कुवेत, इरान, ओमान लगायत खाडी राष्ट्र जाने अधिकांशले युएई हुँदै ती देश जाने गरेको भेटिएको छ। यस्ता व्यक्तिले युएईसम्म पर्यटन भिसामा र त्यहाँबाट सम्बन्धी देशको भिसा लिई व्यक्तिगत तवरमा ती देश पुग्ने गरेका छन्। यसरी जानेहरू अलपत्र परे उद्धार गर्नसमेत कठिन हुनेगर्छ।

युएईमै काम गर्न जाने र युएईलाई ट्रान्जिट बनाई अन्य देशमा जानेले वैदेशिक रोजगार विभागमा बुझाएको युएईको पर्यटन भिसा धेरै नक्कली भेटिएपछि सरकारले कडाइ गर्ने निर्णय लिएको थियो। राम्रा भनिएका म्यानपावर कम्पनीले समेत युएई पठाउन विभागमा पेस गरेका सम्पूर्ण भिसा नक्कली भेटिएका थिए।

गत जेठ ८ गते जब्स लिंकस इन्टरनेसनल प्रालिले ६० जना नेपाली कामदार युएई रोजगारमा पठाउन विभागबाट पूर्वस्वीकृति प्राप्त गरेको थियो। पूर्वस्वीकृति पाएपछि जब्स लिंकसले मंसिर ८ गते १८ जना कामदार पठाउनको लागि अन्तिम स्वीकृति पाउन विभागमा निवेदन दिएको थियो। निवेदनका साथमा पठाउने १८ जनाको नाममा आएको भिसासमेत राखिएको थियो।

जब्स लिंकसले पेस गरेको युएईको भिसा जाँचबुझ गर्दा सबै नक्कली पाइएको थियो। त्यसपछि विभागले सम्बन्धित म्यानपावर कम्पनीमाथि कारबाहीअघि बढाएको थियो। 'भिसा मात्र होइन, श्रम स्टिकरसमेत नक्कली भेटिएका छन्,' महानिर्देशक भट्टराईले भने।

युएई जानेहरूले अन्तिम स्वीकृतिका लागि विभागमा पेपर भिसा बुझाउने गर्छन्। दश ठाउँमा फोटोकपी गरेपछि पेपर भिसा विभाग पुग्ने गर्छ। त्यो असली वा नक्कली भन्ने जाँच गर्ने कुनै प्रविधि विभागसँग छैन।

'युएईको पेपर भिसा आउँछ, यसलाई जाँच गर्ने संयन्त्र हामीकहाँ छैन,' महानिर्देशक भट्टराईले भने, 'पेपर भिसा नक्कली हो वा सक्कली भन्नै सकिँदैन।'

भिसा जाँच गर्न अप्ठेरो भएपछि कुटनीतिक च्यानलमार्फत सहज बनाउने पहल भइरहेको उनले जनाए। युएईले नेपाली कामदारको नाममा जारी गर्ने भिसा सम्बन्धमा जानकारी लिन कुटनीतिक च्यानलमार्फत युएई सरकारसँग अनुरोध गर्ने निर्णय गरिसकेको छ। अहिले युएई भिसा पोर्टले नेपाली कामदारका नाममा जारी गरेका भिसाबारे सरकारलाई कुनै जानकारी उपलब्ध गराउँदैन।

'युएई भिसा पोर्टलबाट जारी भएका भिसाबारे जानकारी लिन सके विभागमा बुझाइएका भिसा नक्कली हुन् वा सक्कली थाहा पाउन बेर लाग्दैन। यसैका लागि अहिले कूटनीतिक प्रयास भइरहेको छ,' उनले भने।

Published on: 19 December 2012 | Nagarik

Back to list

;