s

पर्यटक भिसामा खाडी जानेमाथि कडाइ

जनकराज सापकोटा

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका कर्मचारीको मिलेमतोमा मानव तस्करी भएको निष्कर्ष निकालेपछि खाडी मुलुकमा जान कडाइ गरिएको छ । अध्यागमन विभागको निर्देशनमा विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा जानेमाथि थप कडाइ थालेको हो । 

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले कडाइ गरिए पनि प्रतिबन्ध नै लगाएको भन्ने हल्लामा सत्यता नभएको बताए । ‘पछिल्ला घटनापछि हामीले कागजात जाँचमा थप कडाइ गरेका छौं,’ उनले कान्तिपुरसित भने । 

उनले भिजिट भिसाका निम्ति आवश्यक पर्ने कागजात भएका यात्रुलाई नरोकेको बताए । चैत २० मा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी राष्ट्रमा हाउसमेडमा जान नेपाली महिलालाई प्रतिबन्ध लगाएपछि अध्यागमनका कर्मचारीहरूले ‘सेटिङ’ मा महिला तस्करी गरेको निष्कर्ष निकालेको थियो । समितिले पर्यटक भिसामा महिलाहरूलाई खाडी पुर्‍याउने र अवैध रूपमा घरेलु कामदार बनाउने गरेको पाइएको उल्लेख गरेको छ । 

अध्यागमन स्रोतका अनुसार समितिको रिपोर्टपछि अध्यागमन थप दबाबमा परेको छ । खाडी जानेमाथि रोक नै लगाउने कि कडाइमात्रै गर्ने भनेर अध्यागमनले गृहसँग पनि परामर्श गरेको थियो । विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार पर्यटक भिसामा खाडी मुलुकमा जान खोज्ने नेपालीमध्ये दैनिक ८ देखि १० जनालाई अध्यागमनले फर्काउने गरेको थियो । 

समितिको रिपोर्टपछि भने यसरी फर्काइनेको संख्या दैनिक औसतमा २० देखि २५ जनासम्म पुगेको छ । स्पोन्सरसिपको कागजात प्रमाणित नभएको, पर्यटकका रूपमा जाने हैसियत नदेखिएकोजस्ता कारण देखाउँदै विमानस्थल अध्यागमनले यात्रुहरू फर्काइरहेको छ । 

खासगरी पहिलोपटक पर्यटक भिसामा जानेमाथि थप कडाइ गरिएको छ । भिजिट भिसामा खाडी मुलुकमा जान लागेका युवती र महिलामाथि झनै धेरै कडाइ गर्न थालिएको छ । विमानस्थल अध्यागमनका एक कर्मचारीका अनुसार यसरी फर्काइएकामध्ये अधिकांश युवती छन् । ‘पहिलोपटक पर्यटक भिसामा खाडी जान लागेका र जसको पृष्ठभूमि पर्यटकका रूपमा जानेजस्तो देखिँदैन, त्यस्तालाई फर्काउने गरिएको छ,’ अध्यागमनका कर्मचारीले भने । 

Published on: 7 April 2017 | Kantipur

Back to list

;