s

परिवारको गुजारा टार्न महिलालाई ‘सफारी’

सात वर्षअघि ओखलढुङ्गाकी गीता घिमिरेका श्रीमान् भीमप्रसाद वैदेशिक रोजगारीको सिलसिलमा मलेसिया गए। श्रीमान् भीमप्रसाद मलेसिया गएपछि सानो छोरालाई बेलैदेखि राम्रो स्थानमा शिक्षा दिने सुनौलो सपना साँचेर गीता इटहरी झरिन्।

उनी इटहरी वडा नं. २ मा डेरा लिएर बस्न थालिन्। उनको सुनौलो सपनाको महल इटहरी झरेसँगै भताभुङ्ग भयो। उनका श्रीमान् भीमप्रसाद मलेसियामा बिते।

श्रीमान् भीमप्रसाद मलेसियामा बितेपछि उनका केही सीमित आफन्तले सुरुवातमा सानोतिनो सहारा दिए। उनी घर निर्माणको काममा मजदुरी गर्न थालिन्। जसोतसो गरेर छोरा विवसलाई अहिले इटहरी वडा नं. २ कै होराइजन बोडिङ् स्कुल कक्षा ३ मा पढाई रहेकी छन्। तर, घर निर्माणका लागि सधैँभरि एकनासले मजदुरी गर्न नपाएपछि उनी र छोरालाई खर्च टार्न निकै सकस भयो।

उनै घिमिरेलाई माइती नेपाल परामर्श तथा पुर्नः स्थापना गृह इटहरीले बुधबार सिटी सफारी प्रदान गरेको छ। दुई लाख ८० हजार मूल्य पर्ने सिटी सफारी घिमिरेलाई प्रदान गरिएको हो। यो सिटी सफारीको कुल रकममध्ये घिमिरेले ७५ हजार त्यसमा पनि १२ किस्ता गरेर तिर्नुपर्छ। अरु दुई लाख पाँच हजार रुपैयाँ माइती नेपालले सहयोग गरेको माइती नेपाल इटहरी संयोजक सुनिता कार्कीले बताइन्।

सिटी सफारी पाएपछि घिमिरे खुसी छन्। उनी भन्छिन्, ‘अब भने म र मेरो छोराका लागि आर्थिक खर्च टार्न पहिला जस्तो समस्या नहोला।’ उनले दैनिक सिटी सफारीबाट सबै खर्च कटाएर एक हजार रुपैयाँसम्म कमाई हुने आशा गरेकी छन्।

‘अब सिटी सफारीबाट हुँदै नभएको पनि दिनका एक हजार त हुन्छ, यसले पहिला जस्तो दुःखले भौतारिनु पर्दैन,’ उनले भनिन्।

गीताजस्तै, इटहरी वडा नं. २० की सावित्रा भट्टराईका श्रीमान् चुडानाथ पनि १२ वर्षदेखि अपाङ्ग छन्। चुडानाथकी आमा बितेपछि मानसिक रुपमा विक्षिप्त भएर मानसिक रोगी भएपछि अपाङ्ग भएका हुन्। श्रीमान् अपाङ्ग भएपछि सावित्राको काँधमा दुई छोराछोरी र श्रीमान् पाल्ने जिम्मेवारी आयो। उनले सुरुवातका दिनमा घर निर्माणका लागि मजदुरी काम गरिन्।

नियमित रुपमा मजदुरी नपाएपछि दुहवीको सोनापुरमा रहेको जुट मिलमा पनि केही समय काम गरिन्। जुट मिलमा खट्दा परिवारको ‘केयर’ गर्न समस्या भएपछि तरहराकै ज्ञान दर्पण बोडिङ् स्कुलको क्यान्टिनमा पनि काम गरिन्। तर, त्यसबाट पनि सोचे जस्तो नभएपछि परिवार पाल्न समस्या भइरहेका बेला माइती नेपालले सावित्रालाई पनि सिटी सफारी प्रदान गरेको छ। ‘अब पहिलाजस्तो गरिखानका लागि गाह्रो पर्दैन भन्ने लागेको छ,’ उनले भनिन्।

माइती नेपालद्वारा सिटी सफारी पाएकी दुहवी वडा नं. २ की समिता राईले पनि गरी खान अब सहज हुने बत्ताउँछिन्। ‘छोराछोरीलाई नै पढाउन समस्या थियो, अब भने सिटीको कमाईले सजिलो हुन्छ भन्ने लागेको छ,’ उनले भनिन्। उनकी छोरी आयुशा यस वर्ष कक्षा ११ र छोरा विद्या संस्कार कक्षा ५ मा अध्ययनरत छन्।

माइती नेपालले पछिल्लो केही वर्षदेखि परिवार पाल्ने जिम्मेवार पाएर अवसर नपाएका महिलालाई छनोट गरी सिटी सफारी प्रदान गर्दै आएको छ। अघिल्लो वर्ष सिटी सफारी पाएकी इटहरीकै तुलसा अधिकारीले श्रीमान् र दुई छोराछोरीलाई राम्रोसँग पालेकी छन्। तुलनाका श्रीमान् बिरामी भएपछि दैनिक गुजारा टार्न के गरौँ र कसो गरौँ भएको थियो। दुई जना छोराछोरीलाई पढाई खर्च जुटाउन पनि समस्या भएको थियो। यति बेला त्यो समस्या आर्थिक हिसाबले टरेको छ।

माइती नेपाल परामर्श तथा पुर्नः स्थापना गृह इटहरीले बुधबार तीन जनालाई सिटी सफारी प्रदान गरेको हो। यस्तै, सात जना महिलालाई सिलाई कटाई तालिम दिएर बिदाइ गर्‍यो। सो क्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीता चौधरीले सीप सिकेका महिला जस्तोसुकै अवस्थामा समाजमा समायोजन हुन सक्ने बताइन्। नागरिक समाज अध्यक्ष बालिका भट्टराईंले सीप सिकाउनु भनेको शक्ति प्रदान गर्नु भएकाे बताइन्।

महिलाको हकहितमा क्रियाशील माइती नेपालले समस्यामा परेका महिललाहरुलाई स्वरोजगारीमा जोड दिँदै आएको छ। सन् २००२ मा स्थापना भएको माइती नेपाल इटहरीले अहिलेसम्म ३४ औ पटकको तालिम सञ्चालन सकेको छ। सन २००२ यता ६३० जनाले विभिन्न विधाको तालिम लिएर आत्मनिर्भर बनेको माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेले बताए।

आफन्तबाट सहारा नपाएका चेलीबेटीले माइती नेपाल पाएका छन्। जसले गर्दा माइती नेपाल सहारा खोज्ने चेलीबेटीका लागि माइती घरकै भूमिकामा छ।

घरेलु महिलामाथि हुने विभिन्न हिंसा, यौन हिंसा र मानव बेचबिखनका घटना बढिरहेका बेला माइती नेपालले आर्थिक अवस्था कमजोर भएका महिलाहरुका निम्ति आत्मनिर्भरका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Published on: 10 August 2023 | Nagarik

Link

Back to list

;