s

परिवारको छाक टार्न कतार हुँदै रुसी सेनामा भर्ती भएका थिए प्युठानका सोमेश

बुटवल : धन कमाउन कतार पुगेको छोरा उतैबाट गएर रुसी सेनामा भर्ती भएको खबरले परिवारमा खुसीयाली छाएको थियो। घरको जेठा छोरा भएकाले परिवारको पालनपोषण उनकै काँधमा थियो।

सुरु सुरुमा भारत आउजाउ गर्ने उनी भारतको कमाईले खर्च धान्न मुश्किल परेपछि कतार पुगे। करिब डेढ वर्षअघि कतार गएका उनी त्यतैबाट रुसी सेनामा गएर भर्ती भएका थिए। सेनामा भर्ती भएको करिब तीन महिना पुगिसकेको थियो।

रोजगारीका लागि घर छाडेर विदेश पुगेका प्युठान नगरपालिका-४ काठेवर निवासी २९ वर्षीय सोमेश सुनारले परिवारको अनुहारमा खुसीको चमक ल्याउने बेला आफैं अस्ताए। रुसी-युक्रेन युद्धमा उनको निधन भएको परिवारले जनाएका छन्। अकस्मात छोराको मृत्युको खबरले परिवारमा बज्रपात परेको छ।

सोमेश घरका जेठा छोरा हुन्। उनी बाल्यकालदेखि धन कमाउन मुग्लान जाने आउने गर्थै। धेरै समय भारतमा विताएका उनी कतार हुँदै रुसी सेनमा भर्ती भए पनि सुनार परिवारको पीडामा कत्ति पनि मल्हमपट्टी लाग्न सकेन।
कान्छो भाइ र बुबा पनि भारत आउजाउ गर्छन्। आमालाई ‘प्यारालाइसिस’ सम्बन्धी रोग छ। छोरा रुसी सेनामा भर्ती भएर बुढेसकालमा सुख पाउने अभिलासा बोकेका बुबा भारतमै छोराको मृत्युको खबर सुनेपछि बिहीबार साँझ घर पुगेका छन्। सोमेशका श्रीमती र एक छोरा छन्।

पुत्र वियोगमा परेका बुबा-आमासँग कुराकानी हुन नसके पनि छिमेकी खगेश्वर थापाले गाउँका आशालाग्दो एउटा युवा गुमाउँदा गाउँ विक्षिप्त बनेको प्रतिक्रिया दिए। ‘ती भाइ सानैदेखि मेरो रेखदेखमा हुर्किएका हुन्। रुसी सेनामा भर्ती भएको फोटो मेरो फेसबुकमा पनि पठाएका थिए,' उनले भने, 'साह्रै दुःख पाएका थिए, राम्रै गरेछन् भन्ने लागेको थियो। अकस्मात् मृत्युको खबर सुन्दा गहिरो पीडाबोध भएको छ।’

उनको मृत्युको बारेमा बर्दियाका एक युवाले भारतमा रहेका बुबालाई खबर गरेका थिए। ती युवा पनि युद्धमा परेर घाइते भएर अस्पतालमा उपचाररत रहेको खगेश्वरले बताए। मृतक युवाको शव ल्याउने विषयमा परराष्ट्रय मन्त्रालयसँग समन्वय भइरहेको प्युठान नगरपालिकाका नगरउपप्रमुख देबेन्द्र बर्माले जानकारी गराए।

‘उनको निधनले सिंगो नगरपालिका शोकमा छ,' बर्माले भने, ‘शुक्रबार विहानै उनको घरमा पुगेर त्यहीँबाटै परराष्ट्रमन्त्रीज्युलाई फोन गरेर शव ल्याउने विषयमा पहल गर्छौं।’ उनले मृतक सुनारको शव क्षतविक्षत भएको समेत खबर पाएको प्रतिक्रिया दिए।

Published on: 12 January 2024 | Annapurna Post

Link

Back to list

;