s

परिवार गएर कफिन ल्याए

गणेश राई

सुनौलो सपना लिएर साढे चार वर्षअघि दक्षिण कोरिया पुगेका २४ वर्षीय बिमन राईको शव मंगलबार स्वदेश ल्याइपुर्‍याइएको छ । ओखलढुंगा सेवा समाज दक्षिण कोरिया र दूतावासको पहलमा शव ल्याइएको हो । ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानीका उनी चार वर्षअघि ईपीएसमार्फत रोजगारी गर्न कोरिया पुगेका थिए ।

बिमन दक्षिण कोरियाको छल्लानाम्दो ख्वाङ्जुस्थित इराई कर्टेक कम्पनीमा कार्यरत थिए । उक्त कम्पनीले क्रंक्रिटबाट ब्लक बनाउने गर्छ । बिमनको काम गर्ने क्रममा पुरानो मेसिनको फित्तामा बेरिएर मृत्यु भएको हो । अरू बेला ब्लक ओसार्ने, मिलाउने काम गर्दै आएका बिमनलाई गत जुन १८ (२०७६ असार ३ गते) मा मेसिन चलाउन लगाइएको थियो । घाइते राईलाई तत्काल छल्लानाम्दो ख्वाङ्जुस्थित सुन युनिभर्सिटी हस्पिटल पुर्‍याइएको थियो । बिमनलाई भेट्न बुबा उजिरबहादुर र माइला दाइ गौतमलाई दक्षिण कोरिया बोलाइएको थियो । डाक्टरको सल्लाहअनुसार बुबा र दाइको रोहवरमा बिमनलाई भेन्टिलेटरबाट छुटाइयो । बिमनले असार १० गते संसार त्यागे । बिमन घर परिवारका कान्छो छोरो हुन् ।

हिलेपानी सेवा समाज दक्षिण कोरियाका अध्यक्ष पचुराम राईले टेलिफोनमा बताएअनुसार बिमन सबैखाले मेसिनमा काम गर्न जान्दथे । ‘सायद ओभर कम्फिडेन्सले दुर्घटनामा परे,’ उनले भने । कोरियामै कार्यरत र हाल छुट्टीमा नेपालमा रहेका लयसिंह राईका अनुसार बिमनको कोरियामा बस्ने अवधि करिब दस महिना बाँकी थियो । ओखलढुंगा सेवा समाज कोरियाका उपाध्यक्ष फणीन्द्र अधिकारीले बिमनको परिवारले पाउनुपर्ने क्षतिपूर्ति र कम्पनी साहुबाट पाउनुपर्ने राहत दिलाएको बताए । परिवारका सदस्य आउजाउका निम्ति कम्पनीले नै सम्पूर्ण खर्च बेहोरेको छ । कम्पनीले बिमा सञ्चयकोषबापत रकम दिलाएको छ । कोरियामा रहेका नेपालीबाट ११ लाख वन राहत उपलब्ध गराएको समाजले जनाएको छ । छोराको शव लिएर मंगलबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका उजिरबहादुरले भने, ‘मेरो छोराले जस्तो कसैले अर्काको देशमा ज्यान गुमाउन नपरोस् ।’

Back to list

;