s

पारिश्रमिकमा सहमति भएसँगै चिया मजदुरको आन्दोलन फिर्ता

लक्ष्मी काफ्ले

४४ दिनदेखि जारी आन्दोलन फिर्ता लिँदै पूर्वी नेपालका चिया मजदुर काममा फर्किएका छन् । चिया क्षेत्रमा आन्दोलनरत ट्रेड युनियनका प्रतिनिधि र नेपाल चिया उत्पादक संघका प्रतिनिधिबीच सहमति भएसँगै मजदुरले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलन फिर्ता भएसँगै मंगलबारदेखि पूर्वका सम्पूर्ण चिया प्रतिष्ठान तथा बगानमा मजदुरले काम सुरु गरेका छन् ।

सरकारले श्रम ऐनमा तोकेको ज्याला र सेवासुविधा नपाएपछि मजदुरले पूर्वमा १७ चैतबाट आन्दोलन सुरु गरेका थिए । आफैँले श्रम ऐनमा तोकेको चिया श्रमिकको ज्याला कार्यान्वयन गर्ने दायित्वबाट सरकार पछाडि हटे पनि छलफलका माध्यमबाट मजदुरले आफैँ सहमति जुटाएका हुन् । पूर्वका झन्डै ४५ हजार चिया मजदुर आन्दोलनमा उत्रिँदा एक सयभन्दा बढी चिया बगान र प्रशोधन कारखानाको काम ठप्प थियो । चिया उद्योगीले २ सय ७८ रुपैयाँभन्दा बढी ज्याला दिन नसकिने अडान राखेपछि सुरु भएको मजदुर आन्दोलन दैनिक सडकमा प्रदर्शन र सरकारी कार्यालय घेराउमा केन्द्रित भएको थियो । चिया मजदुरले स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले मुख्यमन्त्रीलाई भेटेर पनि आफ्नो समस्यासहित ज्ञापनपत्र बुझाएका थिए ।

सम्पूर्ण चिया प्रतिष्ठान बन्द गरेर सडकमा उत्रिएका मजदुर कहिले नाराजुलस लगाउँदै सदरमुकाम पुगे त कहिले थाल–बटुका ठटाउँदै तातो घाममा निस्किए । मजदुर आन्दोलन चर्किएपछि झापाका चिया उद्यमी जिल्ला छाडेरै हिँड्न थालिसकेका थिए । मजदुरले भन्सार नाका ठप्प पार्ने, उद्योगीलाई मोसो दल्नेलगायतका कार्यक्रम पनि बनाएका थिए । मजदुरले उद्योगी, चिया उत्पादक संघका अध्यक्ष र नेपाल चिया विकास निगमका अध्यक्षको घरमा गएर धर्ना दिन थालिसकेका थिए । आन्दोलन झन्–झन् चर्किन थालेपछि चिया उद्योगी अन्ततः मजदुरसँग वार्तामा बस्न तयार भएका थिए । झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा चिया उत्पादन हुँदै आएको छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भइसकेको छ । त्यसयता चिया श्रमिकहरूले चरम शोषण भोग्दै आएको मजदुर नेताहरू बताउँछन् । मजदुर संगठनहरूका अनुसार मुलुकमा हाल ५३ हजार चिया श्रमिक छन् ।

 के–केमा भयो सहमति ?

श्रम ऐनले तोकेअनुसार चिया मजदुरलाई गत वर्षको साउनदेखि दैनिक ३ सय ८५ रुपैयाँ ज्याला दिन नेपाल चिया उत्पादक संघ सहमत भएको छ । साथै कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ सबै चिया बगान तथा कारखानामा कार्यान्वयन गर्नेसमेत सहमति भएको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताइन् ।

बढेको तलब र भत्ता ०७६ चैत मसान्तसम्ममा मात्रै मजदुरलाई उपलब्ध गराउने सहमति भएको छ । साथै श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आबद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति भएको छ । सहमतिपत्रमा चिया उत्पादक संघका तर्फबाट वरिष्ठ सल्लाहकारद्वय छत्रबहादुर गिरी र चण्डी पराजुली, महासचिव शिवकुमार गुप्ता, सदस्यद्वय हरि गिरी र कुमार गिरीले हस्ताक्षर गरेका छन् । ट्रेड युनियनका तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, जिफन्टका एक नम्बर प्रदेश उपाध्यक्ष शान्तकुमार राईलगायतले हस्ताक्षर गरेका छन् ।

Published on: 15 May 2019 | Nayapatrika

Back to list

;