s

‘पारिश्रमिक घट्ने हल्ला भ्रामक’

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २३ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकको खाइपाइ आएको पारिश्रमिक घट्ने भन्ने भ्रामक कुरा बाहिर आएको भन्दै कोषले आपत्ति जनाएको छ ।

कोषले विज्ञप्तिमार्फत निराधार र तथ्यहीन टीकाटिप्पणी गरेर कोषमा सूचीकृत भएका र हुने तयारी गरेकालाई त्रसित बनाउने काम भएकोप्रति आपत्ति जनाएको हो । श्रमिकले खाइपाइ आएको सेवासुविधा कटौती नहुने भन्दै कोषले गलत टीकाटिप्पणीका पछाडि नलाग्न आमसेवाग्राहीलाई आग्रह गरेको छ ।

यसअघि नेपाल वित्तीय कर्मचारी सङ्घले सामाजिक सुरक्षा कोषमा जाँदा वित्तीय क्षेत्रका कर्मचारीको खाइपाइ आएको सेवासुविधा कटौती हुने भएकाले कोषमा नजाने अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । सो सम्बन्धमा समेत कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

श्रम ऐनमा भएको व्यवस्थाअनुसार आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), न्यूनतम एक वर्ष काम गरेबापत एक महिनाको उपदान, पाउने र श्रमिकको एक लाख बराबरको औषधोपचार, दुर्घटना बीमाका लागि बीमा शुल्कबापतको रकम मात्रै सामाजिक सुरक्षामा कोषमा आउने कोषले स्पष्ट पारेको छ । सोभन्दा बढी सुविधा दिइरहेको भए सम्बन्धित प्रतिष्ठानले नै सम्बन्धित श्रमिकले पाउने गरी व्यवस्था गर्नुपर्ने प्रावधान रहेको कोषले विज्ञप्तिमार्फत थप प्रस्ट्याएको जनाएको छ ।

कोषका अनुसार खाइपाइ आएको उपदानको हकलाई सुनिश्चित गर्नेगरी श्रम नियमावली २०७५ मा उल्लेख गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा यथाशीघ्र सूचीकृत हुन कोषले आग्रह गरेको छ । सूचीकृत नहुने रोजगारदातालाई पनि ऐन लाग्ने कोषले जनाएको छ ।

Published on: 6 June 2021 | Gorkhapatra

Link

Back to list

;