s

परदेशीको पीडा : ६ महिनादेखि स्वदेश फर्किने प्रयासमा भीमबहादुर

भीमबहादुर खत्री दुई वर्ष पहिला रोजगारीका लागि कुवेत पुगेका थिए । अल्सरको समस्या बढेका कारण ६ महिनादेखि नेपाल आउने उनको प्रयासमा कोरोना संकटले थप अवरोध गरेको छ ।

अघिल्लो महिलासम्म आधा तलब पाएका उनले यो महिनादेखि पैसा पाएका छैनन् ।  उनको भिसाको म्याद मे महिनामा सकिएको छ । पासपोर्ट कम्पनीले फिर्ता दिएको छैन। 

एयरपोर्टमा कार्गो पोर्टरको रुपमा काम गर्न पुगेका उनले मासिक ९० कुबेती दिनार (करिब ३० हजार नेपाली  रुपैयाँ) कमाउथे । ८० हजार रुपैयाँ  तिरेर जब्स ग्लोबल नेपाल नामक म्यानपावरले  उनलाई त्यहाँ पठाएको हो ।  

‘हिँडदा खुट्टा काम्छ, शरीरमा तागत छैन। छिटो घर फर्कन चाहेको छु’, उनले अनलाइन कुराकानीमा भने, ‘दूतावासले नियमित उडानमा जानलाई समय लाग्ने भएकाले चार्टर फ्लाइटमा आउनलाई पैसा जुटाउनु भनेको छ।’

दूतावासले घर जाने नाम निस्किएको छ भने पनि  पालो कहिल्यै नआएको गुनासो गरे ।  उनले भने, ‘पासपोर्ट आफूसँग छैन । पासपोर्ट माग्दा कम्पनीले प्रोसेस भइरहेको छ भन्दै टारेको छ, टीकट देखाएपछि मात्र पासपोर्ट दिन्छ।’

अहिले उनीसँग टिकट लिने पैसा समेत छैन । चार्टरमा आउनलाई दोब्बर महँगो तिर्नुपर्ने हुन्छ । साथीबाट ऋण लिएर पैसाको जोहो गरेको उनले बताए । 

सामान्य उडानमा कम्तिमा २४ हजार रुपैयाँमा आउन सकिने भए पनि चार्टरमा लगभग (१२६ कुवेती दिनार) ४८ हजार रुपैयाँ लाग्ने बताए ।

‘औषधि खाएर सुत्दै विदेशमा बस्नु भन्दा घरै फर्किन चाहन्छु, पैसा पनि यताउता मिलाउथेँ’, उनले भने । दूतावासले  उनलाई  १०–१५ दिनपछि चार्टर उडान मिल्न सक्ने जानकारी गराएको सुनाए ।

घरमा ५ र ९ वर्षका बच्चा छन् । आमा बिरामी हुनुहुन्छ  । घरमा नेट नचलेर केही दिनदेखि कुरा भएको छैन । ‘दूतावासले पनि हामी जस्ताको कुरो सुन्दैन’, उनले प्रश्न गर्दै भने, ‘ कति पटक गुनासो गर्ने ?’

Published on: 16 August 2020 | Annapurna Post

Link

Back to list

;