s

परदेशीको बाटो कुर्दै...

बाह्रबीसकी नीरादेवी सेरालालाई हिजोआज भारतमा मजदुरी गर्न गएका पति जीवनको घर फर्किने बाटो हेर्दै दिन बित्छ । ‘पोहोर आउन पाइएन, यसपालि त चाँडै आउँछु भन्ने खबर पठाएका हुन्, अझै आइपुगेनन्,’ उनले निन्याउरो अनुहार लगाएर भनिन् ।
 
गाउँकै वल्लोपल्लो घरका आफन्तहरू परदेशको कमाइले झिटीगुन्टासहित धमाधम घर पुग्दैछन् । तर, दैनिक बाटो कुदै बस्ने नीराको मन भने खिन्न छ । वर्ष दिनको एकपटक नयाँ कपडा लगाउन पाउने आशामा उनका बालबच्चा पनि बाबा आगमनको प्रतीक्षामा छन् । बाह्रबीस, सेरालाबाडाको दसैं भव्य रूपमा मनाइन्छ । रोजीरोटीको जोहो गर्न भारत गएकाहरू सकेसम्म दसैंको मौका छोपेर घर आइपुग्छन् । गाउँका सबै परिवारहरू मिलेर सामूहिक दसैं मनाउने चलन छ । यही परम्परा जोगाउन पनि परदेश गएका पुरुषहरू भ्याएसम्म घर फर्कन्छन् ।
 
दलित समुदायको बसोबास रहेको जिल्लाकै ठूलोमध्येको एक गाउँ हो सेरालाबाडा । १ सय २० परिवारको बसोबास रहेको यस गाउँका १ सय १० घरका पुरुषहरू भारतमै मजदुरी गर्छन् । ‘दसैंमा घर आउन नसकेकाहरूले दसैं मनाउन घरपरिवारलाई लत्ताकपडा र खर्चपानी पठाउँछन्’ स्थानीय देवबहादुर सेरालाले भने, ‘दसैंको मौकामा घरखर्चको तिरोतारो पनि गर्नुपर्ने भएकाले महिलाहरूलाई आफ्ना परिवारहरू चाँडै घर फर्किदिए हुन्थ्यो भन्ने लाग्छ ।’ 
 
गाउँभरमा एकजना मात्रै जागिरे छन् । उच्च शिक्षा आर्जन गरेका निकै कम छन् । खेतीकिसानीबाट घरव्यवहार नचल्ने भएकाले परम्परादेखि नै पुरुषहरू भारतका विभिन्न सहरमा चौकीदारी र अन्य मजदुरी गर्न जान्छन् । यसपालिको दसैंका लागि पनि विगतजस्तै सेरालाबाडामा हरेक परिवारबाट हजार रुपैयाँ उठाउने सल्लाह भइसक्यो । ‘त्यही रकमबाट गाउँलेहरूले राँगा, बोका र पूजाआजाको बन्दोबस्त मिलाउने योजना छ,’ देवबहादुरले भने ।
 
Published on: 20 September 2017 | Kantipur

Back to list

;