s

परदेशीका घरमा मानसिक तनाव

वैदेशिक रोजगारीमा गएकाको परिवारमा मानसिक समस्या बढी भएको मनोचिकित्सकहरूले बताएका छन् । लामो समय घरको पुरुष बाहिर बस्ने हुँदा परिवारमा चिन्ता बढ्ने गरेको हो ।

बिदेसिएका श्रीमान्सँग लामो समय सम्पर्क नहुने, भए पनि श्रीमान्को काम राम्रो र कमाइ राम्रो नभएमा नेपालमा रहेको परिवारमा मानसिक समस्या देखिन थालेको छ । त्यस्ता समस्या लिएर पछिल्लो समय अस्पतालमा आउने  बिरामीको संख्या ह्वात्तै बढेको कोसी अञ्चल अस्पतालका मनोचिकित्सक डा. रोशन पोखरेल बताउँछन् ।

श्रीमान् बिदेसिँदा सम्पूर्ण पारिवारिक जिम्मेवारी निर्वाह गर्नुपर्ने र नियमित सम्पर्क नहुनेहरूमा यस्ता समस्या बढी पाइएको छ । डा. पोखरेलका अनुसार सुरुमा टाउको दुख्ने र राति निन्द्रा नपर्ने समस्या लिएर आउनेहरूमा बढी  उदासीनता देखिन्छ । अन्य चिकित्सकले पनि त्यस्ता बिरामीलाई मनोचिकित्सकको परामर्शमा पठाउने गरेका छन् । कतिपय भने सोझै मनोचिकित्सकमा आउँछन् ।

श्रीमान्सँग नियमित टेलिफोन सम्पर्कमा रहने, महिनैपिच्छे तलब पठाउने, समयसमयको छुट्टीमा घर आउनेका श्रीमती तथा बालबच्चामा भने त्यस्तो समस्या नरहेको पोखरेलको अनुभव छ । वैदेशिक रोजगारीमा गएकाको परिवारमा  शंका गर्ने अर्काे मानसिक समस्या पनि छ । पोखरेलका अनुसार श्रीमान् वा श्रीमतीले कमाएर पठाएको पैसा केमा खर्च भयो भन्ने विषयमा दुवै बीचमा एकअर्कालाई शंका गर्ने मानसिक समस्या अहिले बढ्दै गएको छ ।

न्युरो अस्पतालका मनोचिकित्सक डा. रञ्जन थापाका अनुसार पुरुषप्रधान समाज र त्यसमा पनि श्रीमान् विदेश गएपछि आइलाग्ने आर्थिक र सामाजिक समस्याका कारण महिलामा मानसिक समस्या बढ्दै गएको छ । न्युरोको  मानसिक बहिरंग सेवामा आउने अधिकांश महिला नै हुने र त्यसमा पनि श्रीमान् बिदेसिएकाको संख्या ६० प्रतिशतभन्दा बढी रहेको थापाले बताए ।

विदेश जाने र्फकेपछि पनि मानसिक समस्या लिएर र्फकने घरमा हुने उनका आफन्त खासगरी श्रीमतीलाई पनि मानसिक समस्या देखिनाले नेपाली समाज नै भोलि मानसिक बिरामीको त हुने होइन भन्ने त्रास पनि रहेको उनले  अनुभव सुनाए । यसबारे बेलैमा कदम चाल्नुपर्ने आवश्यकता रहेको उनी औंल्याउँछन् ।

क्लिनिकल साइकोलोजिस्ट अर्चना पोखरेल -रिमाल) ले वैदेशिक रोजगारमा गएकाको परिवारलाई मनोविमर्श पद्धतिबाट उपचार गर्ने गरेकी छन् । वैदेशिक रोजगारीबाट फर्किएकामा भन्दा स्वदेशमै रहेको परिवारमा बढी मानसिक  समस्या रहेको र आफूले दैनिक रुपमा ४ देखि ५ जनाको साइकोथेरापी गरेको उनले बताइन् ।

श्रीमान् बिदेसिएपछि एक्लोपन व्यावहारिक कठिनाइ र पारिवारिक समस्याका कारण महिलामा मानसिक तनाव बढी हुन्छ । परिवारमा मात्र नभएर वैदेशिक रोजगारबाट फर्किएकामा समेत समस्या रहेको र उनीहरू नियमित  उपचारमा आउने गरेका छन् । गोपनीयताका कारण बिरामीको पहिचान सार्वजनिक गर्न नमिल्ने भए पनि अहिले आउनेमा कतिपय गैरसम्बन्धका कारण पनि तनाव बढेको पाइएको छ ।

वैदेशिक रोजगारीमा गएर र्फकनेमा शंकालुपना, डिप्रेसनको समस्या रहने गरेको साइकोलोजिस्ट रिमालले बताइन् । नोवेल शिक्षण अस्पतालमा कार्यरत उनले मानसिक समस्या भएकाले औषधि सेवन गरेपछि ज्ञानात्मक व्यावहारिक  चिकित्सा पद्धतिमार्फत उपचार आवश्यक पर्ने र आफूले त्यस्ता समस्या लिएर आउनेको समाधान गर्न मद्दत गर्ने गरेको बताइन् । औषधि मात्र सेवन गर्नेमा मानसिक अवस्था पूर्ण रूपमा सामान्य हुन समय लाग्ने गर्छ । कग्नेटिभ बिहे विअर थेरापी, काउन्सिलिङ र मनोशिक्षाको माध्यमबाट मानसिक रोगीको उपचार गरिने रिमालले बताइन् ।

Published on: 19 October 2013 | Kantipur

Back to list

;