s

परदेश छाडेर उद्धार र राहतमा

अगन्धर तिवारी

दुबईको पानीजहाज कम्पनीमा ८ वर्षदेखि कार्यरत पीपलटारीका राजेन्द्र अधिकारी गत वैशाख ६ गते घर फिरे । कम्पनीबाट पहिलोपटक छुट्टीमा आएका अधिकारीले एक महिने बिदामा घरपरिवारसँग आठ वर्षसम्मको परदेशी जीवनका अनुभव सुनाउने, आफ्नो घरलाई प्लास्टर गरेर चिटिक्क पार्नेलगायतका योजना बनाएका थिए । पर्वत सेवा समाज यूएईका अध्यक्षसमेत रहेका उनी आफूसँगै कार्यरत साथीहरूका परिवारमा पुगेर भेटघाटको जिम्मेवारी समेत बोकेर आएका थिए ।

महिना दिनको बिदामा धेरै सपना बोकेर आएका अधिकारीका सबै सपना एक साता नबित्दै चकनाचुर भए । प्लास्टर गरेर चिटिक्क बनाउने घर १२ गते दिउँसो चकनाचुर भयो । खाना खाएर आराम गर्दागर्दै लडेको घरबाट अधिकारी बल्लतल्ल भाग्न त सफल भए तर, घर चिटिक्क भएको देखेर कार्यथलो दुबई जाने सपना सदाका लागि टुट्यो । आमा, श्रीमती र छोराछोरी बारीमा मकै गोड्न गएकाले बचे ।

विदेशको कमाइले उभ्याएको दुईतले घर भत्किएपछि केही दिन उनले सोच्नै सकेनन् । भूकम्पको पहिलो दिन आफ्नो घर मात्रै भत्किएको ठानेका अधिकारीले एक–दुई दिन बित्दै जाँदा मुलुकभरिको दर्दनाक अवस्थाबारे विभिन्न सञ्चार माध्यमबाट जानकारी पाए । ‘१२ र १३ गते दिनभर विद्युत् थिएन, मोबाइल अफ भयो,’ अधिकारीले भने, ‘१४ गतेपछि रेडियो, टीभीमा जतासुकै दर्दनाक घटनाले मलाई तर्सायो ।’ दुबईमा कार्यरत पर्वतेहरूको संस्था ‘पर्वत सेवा समाज यूएई’ को अध्यक्ष रहेका अधिकारीले सोचे, ‘यो विपत्तिमा आफ्नो पीडा भुलेर सबैको सहयोगी बन्नुपर्छ ।’ आफ्नो घर भत्किए पनि उनमा त्यस्तो घर उभ्याउन सक्ने हिम्मत थियो । भत्किएका तर, ओत उभ्याउन नसक्नेहरूका लागि केही गर्नुपर्छ भनेर अधिकारीले अघि सर्ने निधो गरे । उनी कस्सिए उद्धार र राहतमा ।

‘भूकम्प गएको तीन दिनपछि साथीहरूलाई फोन गरें,’ अधिकारीले भने, ‘एक कल फोनकै आधारमा साथीहरू निकै पोजेटिभ हुनुभयो, उहाँहरूले उता पैसा संकलन गर्न लाग्नुभयो, मैले यता घर भत्किएकाहरूको लगत संकलनमा ।’ दुबईमा पैसा संकलन हुन लागेको दुई सातासम्म अधिकारी भूकम्पपीडितहरूका भत्किएका घरमा उद्धार गर्न खटे । दुई सातासम्म दुबईमा संकलन भएको रकम नेपाल भित्रिएपछि उनी भत्किएका घरमा अस्थायी बासको प्रबन्ध मिलाउन दिनरात नभनी खटिइरहेका छन् ।

‘अहिलेसम्म करिब १ सय २० परिवारलाई जस्तापातासहित अस्थायी बसोबासको व्यवस्था मिलाइसकें,’ अधिकारीले भने, ‘पहिलो चरणमा १ सय ६० परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने योजना छ ।’ उनले एक सय दलित र विपन्न परिवारलाई खाद्यान्नसमेत वितरण गरे । जीवनमा सोच्दै नसोचेको विपत् आइलागेपछि आफूले यसलाई आफ्नो क्षमता देखाउने अवसरका रूपमा लिएको उनले बताए । ‘मेरो घर बिरूप भएको छ,’ उनले भने, ‘मैले दु:ख गरेर भए पनि घर ठड्याउन सक्छु तर अरूका लागि यस्तो सहयोग चाहेर पनि गर्न सक्दिनँ ।’

कम्पनीले दिएको बिदा दुई साताअघि सकिए पनि उनी अझै एक महिना बस्ने सुरमा छन् । ‘कम्पनीले कामबाट निकाले बरु अर्को काम गरौंला,’ अधिकारीले भने, ‘यो विपत्का बेला आफूले गर्न सक्ने सहयोग छोडेर जान मन मानेकै छैन ।’ असार मध्यसम्म सबै सहयोगी निकायहरूसँग मिलेर पीडितहरूलाई अस्थायी बासको व्यवस्थापन गरेपछि फर्किने उनले बताए । अधिकारी भूकम्पले भत्किएका घरघर डुल्छन् । स्थानीय राजनीतिक संयन्त्र, गाविस सचिव लगायतसँग बुझेर बढी समस्याग्रस्त परिवारलाई अस्थायी बासका लागि जस्तापाता दिन्छन् । जनशक्ति नभएका परिवारमा आफैं टहरा बनाउन खटिएका छन् । भूकम्पले बढी क्षति पुर्यााएका रानीपानी, बेउलीबास, हुवास, भोर्ले लगायतका गाविसमा ६५ परिवारलाई अस्थायी बासको टुंगो लगाए ।


Published on: 10 June 2015 | Kantipur
 

Back to list

;