s

परदेशबाट हेर्दा मेरो नेपाल

रवि अधिकारी

घर, आफन्त र मित्रजनहरूसँग जति टाढा भयो, उनीहरूप्रतिको माया-मोह अझ प्रगाढ हुँदै जाँदोरहेछ । मैले ३५ वर्षअघि गुमाएको मेरा बा भन्ने गर्नुहुन्थ्यो, 'घर छाडेर गएपछि मात्रै तंँलाई हाम्रो महत्त्व र मायाको ज्ञान होला । बाको त्यो कथन अहिले शतप्रतिशत पुरा भएको छ, महोत्तरीको भरतपुरमा बस्ने ९५ वर्षकी मेरी आमालाई अमेरिकाबाट अहोरात्र सम्झेर अनि त्यो सम्झनाको सँगालोसँगै घुँक्क गरेर । कठै ! मेरो जीवनको झन्डै आधा भाग त घर र आमासँग टाढा रहेरै बितेछ, खासगरी परदेशमै ।

मेरी आमा मेरो सम्झनामात्र होइनन्, उनी मेरी प्रतीक हुन्, मेरो माटो, समाज, देशप्रतिको अगाध माया र सम्मानको । उनी मेरी माध्यम हुन्, मेरो नेपालसंँगको अटुट सम्बन्धको । उनी मेरो नेपाल र आमा दुबै हुन् र यस अर्थमा उनी मेरी नेपाल आमा हुन् । यसका लागि मलाई कसैले स्वार्थी भन्छन् भने पनि स्वीकार्य छ । मान्छे पक्कै स्वार्थी हुन्छ । तर त्यो स्वार्थले उसलाई कडा मिहेनत गर्नका लागि प्रेरित गर्छ र त्यो मिहेनतले उसले नयाँ अवसरहरको खोजी गर्छ र त्यसको फाइदा एउटा मान्छे, परिवार, घरबाट फैलिएर यत्रतत्र सर्वत्र हुन्छ भने त्यसलाई सार्थक स्वार्थ मान्नुपर्छ । र त्यो एक व्यक्तिको सार्थक स्वार्थ सर्वव्यापी भएर हुने फाइदाको अवस्थाको नाम नै सायद विकास होला । हामीले देख्दादेख्दै बिल गेट्सको सफलताको यात्रा उनको व्यक्तिगत इच्छा र  स्वार्थबाटै सुरु भयो र अहिले विश्वकै सबैभन्दा दानी व्यक्तित्वको पगरी गुँथिसक्दासम्म उनी भन्छन्, 'अझै गर्न पुगेको छैन ।' मेरा मित्रहरू, महावीर पुन र रविन्द्र मिश्रको यात्रा पनि यस्तै यात्रा हुनुपर्छ । होइन भने अमेरिका र बेलायतको सुविधा, सम्पन्नता त्यागेर उनीहरू नेपाल फर्केर आ-आफ्नो तहबाट नेपाल निर्माणमा जुट्ने थिएनन् होला ।

नेपालका केही नेताहरूबाट 'विदेशमा बस्ने नेपालीहरूलाई नेपाल वा जन्मथलोको माया हुँदैन अथवा यी दुवतिर तर् मार्न खोज्ने अवसरवादी हुन्' भाकाको बकबास सुन्दा मन कटक्क काट्छ । यतिमात्रै होइन, यिनीहरू त हाम्रो नेपाली हुनुको जन्मजात अधिकारसमेत खोस्न लागिपरेका छन् । मान्छेको त कुरै नगरौं, कुनै पनि जीवित प्राणी आफ्नो 'कम्र्फट जोन' अर्थात् आफूलाई सहज लाग्ने आत्मिक र भौतिक परिवेशबाट टाढिएर बाँच्न चाहँदैन । हामी विदेशमा बस्ने पहिलो पुस्ताका नेपालीहरू पनि यो सत्यको अपवादमा पर्दैनौं । मन एकातिर र कर्म अर्कातिर भएर बाँच्नुको पीडामा समेत कमसेकम हाम्रो ८/१० घन्टाको दिनचर्या कडा मिहेनत गरेर बित्छ । बाबु-बाजेको पुख्र्यौली सम्पत्ति छैन । ससुरालीको दाइजो छैन । हामीलाई कतैबाट घुस आउँदैन । हाम्रो कुनै माफियासँग साँठगाँठ छैन । हो, देश र निमुखा जनताको रगत-पसिना चुसेर अकुत सम्पत्ति कमाएका ती एक प्रतिशतमा पनि नपर्नेहरूलाई यस्तो भावनात्मक कुराले केही फरक पर्दैन । किनभने पैसा र शक्तिका भरमा उनीहरू जहाँ बसे पनि मोजमै हुन्छन् । मैले गरेको कुरो त हामी ती ९९ प्रतिशतको हो, जो मर्दासमेत नेपालकै नाम जप्छन् ।

प्रवासमा हाम्रो नेपाल

प्रवासमा हाम्रो नेपाल भनेको, नेपाल र नेपालीका बारेमा सधैं राम्रो सुन्ने र सोच्ने हो । हाम्रा सन्ततिले नेपाली बोल्दै दसैं, तिहार, ल्होसार, इद-बक्रइदजस्ता पर्वहरूलाई खुसी मनले स्वीकार गरुन्, अनि घर र भोजभतेरमा दाल-भात, गुन्द्रुक-ढिँडो, सब्जी-रोटी खाइदिउन् भन्ने हो । पश्चिमा प्रजातान्त्रिक मुलुकहरूमा अपार व्यक्तिगत स्वतन्त्रता हुनुका साथै जातीय र धार्मिक भेदभाव विरुद्ध कडा कानुन भएकाले आफ्ना वयस्क सन्ततिको सम्बन्ध भविष्यमा कोसँग र कसरी होला भन्ने पीर यतातिर बसोबास भएका धेरै नेपालीले गर्न छाडिसके । आफ्नो संस्कार र विचार मिल्ने योग्य वर-वधु पाउनु नेपालमै झन्डै अहोभाग्य भैसकेको अवस्थामा नेपाल बाहिरको त के कुरो गराइभयो र !

आफ्नो देश-परिवेशबाट यत्रो समय बाहिर बिताएपछि 'हामी प्रवासी नेपालीहरूले नेपाललाई गर्ने माया निक्कै हदसम्म स्वार्थरहित रहेछ' भन्ने महसुस भएको छ । हामीलाई भित्रैबाट थाहा छ, हाम्रा अनेक बाध्यताका कारण हामी अब नेपाल गएर फेरि घरजमको संघर्ष गर्न सक्ने अवस्थामा छैनौं । मात्र चाहिएको हो, नेपालले हामीलाई सहजसँग स्वीकार गर्न सक्ने कानुनी वातावरण जस अन्तर्गत नेपालमा भएको वा नेपालभित्र ल्याएको सही सम्पत्तिको कानुनी मान्यता अनि सुरक्षा । आखिर जहाँ रहे पनि खान-बस्न वा बाँच्नकै लागि केही न केही त गर्नैपर्‍यो, चाहे त्यो उमेर पाकेपछि पाउने निवृत्तिभरणको रकममा आश्रति हुने अवस्था नै किन नहोस् ।

प्रवासमा बसेर पनि आफ्ना उही पुरानै 'भ्रष्ट'हरूको गुणगान गरेर नथाक्ने र तिनकै इसारामा नेपालबाहिर समेत नेपालकै फोहोरी खेल खेल्नेहरूका लागि एउटै सल्लाह, 'गुटबन्दी र विभाजनको फोहोरी राजनीति नै खेल्ने हो भने नेपालै तिमीहरूका लागि उर्वर भूमि हो । जाऊ उतै फर्केर, अनि बन आफ्ना मालिकहरूको झोले, हुक्के वा बैठके । उनीहरूले लाए-अह्राएको टहल गरेर बस । त्यस्ता मनुवाहरूका लागि, नेपालमा राजनीति गर्ने हो भने अन्य देशको नागरिकता त्यागेपछि मात्रै सम्भव हुने कानुन बनाउँंदा भैगो ।' हुन त अत्तो नै थाप्ने हो भने भारत र तिब्बतमा जन्मेका नेपालका एक दर्जनभन्दा बढी 'राष्ट्रिय स्तर'का नेताहरूले सबैजसो राजनीतिक पार्टीहरूमा हालिमुहाली गर्न पाउने तर नेपालमै जन्मेर बाहिर गएका ती लाखौं प्रवासीहरूले नेपालसँग जोडिनका लागि 'एक पटकको नेपाली सधैंको नेपाली' भन्न किन नपाउने ? ती विदेशमा जन्मिएका प्राणीहरूभन्दा नेपालमै जन्मिएर बाहिर गएका हामी पो खाँट्टी नेपाली ।

प्रवासीमैत्री नीतिको खाँचो

भारतको प्रवासी जनसंख्या नेपालको भन्दा कति हो कति विस्तारित र प्रभावशाली छ । उनीहरूको जातीय, क्षेत्रीय, भाषकि समस्या र मुद्दा नेपालभन्दा कति हो कति पेचिलो र जटिल छ । र पनि प्रवासीमैत्री नीतिका कारण विगत एक दशकमै कतिपय भारतीय समाजको कायापलट भएको र देशकै अर्थतन्त्र अकासिएको यथार्थ संसारैले देखिसक्दा समेत नेपालका नीति निर्माताहरू प्रवासी नेपालीहरूलाई सौतेनी व्यवहार गर्छन् । नेपालमा देशको १० प्रतिशत अर्थात ३० लाख नेपालीहरू विदेश पसिसक्दा र हजारौंको संख्यामा मारिएर तिनको शव भित्रिसक्दा समेत नेताहरूको कानमा बतास नलाग्नुले यिनीहरूले प्रवासीहरूलाई कस्तो दृष्टिले हेर्दारहेछन् भन्ने थाहा हुन्छ ।

यसका बाबजुद ज्यानकै बाजी लगाएर विदेश पुगेका र त्यहाँ कष्टकर श्रम गरेर घर पठाएको विदेशी मुद्राका कारण नेपालका कति गाउँहरूको अनुहार फेरिँदैछ । राजनीतिका ठेकेदारहरू भने यसलाई समेत 'यो विकास हाम्रो सरकारको पालामा भएको' भन्न लाज मान्दैनन् । यस्सै पनि ३० वर्ष वरिपरिका ५० प्रतिशत जनसंख्यालाई मनमस्तिष्कबाटै विसर्जित भैसकेका नेता र नीति निर्माताहरूले बुझ्न नसकेको हालको अवस्थाकै परिणाम हो, हाम्रा युवाहरूको 'जस्तोसुकै काम पाए पनि विदेश जाने' मानसिकता वा भनौं बाध्यता । घरबाट बाहिर गएको सन्तानले ज्यानै फालेर गरेको कमाइचाहिँ खानुपर्ने तर उसलाई घरभित्र स्वीकार गर्ने कुरोमा आनकान गर्ने जस्तो प्रवृत्ति देखियो । उपेन्द्र महतो, शेष घलेजस्ता हाम्रा प्रवासी मित्रहरूले अन्य लाखौंलाई नेपालमै लगानी गर्नका लागि ढुक्कसँग प्रोत्साहित गर्नसक्ने वातावरण खै कहिले बन्ने होला ?

नेपालमा कमसेकम संविधान बनाएर जनतालाई राहत दिनु त कता हो कता संविधान बन्ने नै टुंगो लाग्न लागेन । जाति, जनजाति, आदिवासी, दलित, धर्म, क्षेत्र, पहाड, मधेस आदि-इत्यादिको बखेडा उचालेर नेताहरूले नेपालको होइन, आफ्नै भलो गर्न चाहेको तथ्य अब कसैबाट पनि लुकेको छैन । जनयुद्धका नाममा हजारौंको बलि चढाएर देशको प्रगतिको गतिलाई दशकौंपछि धकेलेर समेत यिनीहरू अझै झुठो बोलिरहेका छन्, आफूलाई जनताका प्रतिनिधि भएको दाबा गरेर । यिनीहरूले सल्काएको आगोका कारण हाम्रो एकता र सद्भाव खलबलिएको छ, अहिले ।

झलझली नेपाल

मेरो झन्डै २ दशकको अमेरिका बसाइमा न्युयोर्कमा ११ वर्षजति र बाँकी समय हाल क्यालिफोर्निया राज्यमा बित्दो छ । क्यालिफोर्नियाको विशाल आकार, प्रशान्त महासागर र मोहावी मरुभूमिबाहेक अरु कुरो हेर्ने हो भने नेपालसँग मिल्ने हिमाल, पहाड, तराई, वनजंगल सबै उस्तै छ । यात्रामा घरबाट बाहिर फुत्त निस्कनासाथ हराभरा वातावरण, कङल्याङ-कुङलुङ पहाडी बाटो, भञ्ज्याङ, उपत्यका, नदी, खाद्यान्न-फलफूलले लबालब समथर मैदान आदि देख्दा मलाई मेरो बाल्यकालको त्यो नेपालको झलझली याद आउंँछ ।

क्षेत्रगत विशालताका कारण हाम्रो बसाइ रहेको सान होजेबाट जाडो याममा हिउँ खेल्न सियरा पर्वत शृंखलाको टाहो पुग्न झन्डै ३ सय ४० किलोमिटर अर्थात ४ घन्टाको बाटो तय गर्नुपर्छ । टाहो मात्रै होइन, ग्रान्ड क्यान्योन, यसोमिटी, माउन्ट श्रमोर, यलो स्टोन, नियाग्रा फल्स, लस भेगस, हलिउड, न्युयोर्कजस्ता अमेरिकाको प्रमुख पर्यटकीय स्थलहरू घुम्न जाँदा म देख्छु र सुन्छु, अधिकांश यात्रीहरू अमेरिकाकै अन्य ठाउँहरूबाट कमसेकम ४/५ सय किलोमिटरको यात्रा गरेर त्यहाँ पुग्दारहेछन् । म सोध्छु, तिमीहरू किन यसरी धाएर आएका ? उनीहरू भन्छन्, 'यस्तो यात्रा गरेर हामी अमेरिकालाई अझ नजिकबाट हेर्ने र जान्ने मात्र होइन, हाम्रा सन्ततिलाई देशको सौन्दर्यता, क्षेत्रीय र मानवीय विविधतासँग साक्षात्कार गराउँंदै त्यसको प्रशंसा र सम्मान गर्न प्रोत्साहित गर्छौं ।' मेरो आँखाको पट्टी खुल्छ, यहांँका मान्छेहरूले 'आई एम अमेरिकन' भन्नुमा कसरी र किन गौरव गर्दारहेछन् भन्ने थाहा पाएर ।

 

उता, नेपालको भने उत्तर-दक्षिण सबैभन्दा चौडा भाग भनेको २ सय ४० किलोमिटरजति मात्रै रहेछ । खासै भन्दा २/४ दिनको पैदल यात्रामै हामीले नेपालको उत्तर-दक्षिण गर्दा जे-जति देख्छौं वा सिक्छौं, त्यसको दूरगामी प्रभाव जीवनभरि हुँदोरहेछ । म अहिले बुझ्दैछु, भारतीय सीमाबाट १५ किलोमिटरभित्रैको मेरो गाउँको मडहा खोलाबाट सुदूर उत्तरको गौरीशंकर हिमालमा सूर्योदय भएको मनमोहक दृश्यले मलाई किन तान्थ्यो । त्यही माटो-पानीमा जन्मे-हुर्केको मलाई नेपाल भनेको हिमाल, पहाड, समथर फाँटको एकढिक्को हो भन्ने विश्वासबाट कसैले हल्लाउनसकेको छैन । तर केही वर्षयता त्यही माटो-पानीका मेरा केही मित्रहरू अधिकारका नाममा विभाजनको ढोल बजाउनमा तल्लिन छन् । यो भनेको मौकामा चौका हान्ने दाउबाहेक अरु केही हुनै सक्दैन ।

मधेस-पहाड सम्बन्ध

म तराईको मधिसे केटोलाई पहाडसँग प्रेम कसरी भएछ भनेर सोच्दा बाल्यकालमा घरबाट भागेर दिदीकहांँ सिन्धुलीको झाङाझोली पुगेको सम्झना छातीभरि उर्लेर आउँछ । तिनै प्यारी दिवंगत दिदीको आशिर्वादले होला, पछि म एक्लै, पैदलै सुन्दरीजलबाट वागमतीको किनारै-किनार सर्लाहीको कर्मैया, कास्कीको लुम्लेबाट पर्वत हुँदै म्याग्दीको बेनी, धरानबाट पाखि्रवास हुँदै धनकुटा, राजधानीको झलमल्ल हेरेर विकट र अन्धकारमा सेलरोटीजस्तो भएर बसेको काठमाडौं उपत्यका वरिपरिको काँंठ अनि अहिले बनेको बीपी राजामार्गको खाका पनि नकोरिएको बेला २ पटक बनेपाबाट भरतपुरसम्म २ दिनमै हान्निनसकेको थिएँ । मेरा लागि मडहाबाट बङबङी उत्तर लाग्यो, चराकोशे झाडी, लगत्तै चुरे, त्यसपछि महाभारत र अनि आई त हाल्यो हिमाल । कति सजिलो अनि कति रमाइलो ।

नेपालको भौगोलिक विविधतालाई क्षेत्रीय सन्निकटताको वरदान प्राप्त भएकोले हामी दहीमा नौनीजस्तो भएर मिलेका छौं । यस्तै संरचनाको उत्तर-दक्षिण मिलेको नेपालभित्र मात्रै हामी सबैको कल्याण छ । तराईका श्रमजीवी मान्छेलाई चुरेबाट काठ, दाउरा, घाँस ल्याएर बजारमा बेचेर गुजारा चलाउनुपर्ने, अनि पहाडका मान्छेलाई सुन्तला, अदुवा लिएर तराई झर्नुपर्ने । पहाडमा उत्पादन छ, बजार छैन, तराईका असंख्य मान्छेलाई जति उत्पादन भए पनि पुगेको छैन । लालबन्दीको गोलभेंँडाले रसुवा रसाउने र रसुवाबाट निस्केको नदीले रौतहट सिंचाउने सोचमा मात्र नेपालको अस्तित्व सम्भव छ । समग्रमा हाम्रो बजार, ग्राहक र उत्पादनको सन्निकटता हामीले वरदानका रूपमा पाएका छौं । यसमा यातायात र सञ्चार सुविधाको थोरैमात्र जलप लाग्यो भने त 'सुनखानी आफ्नै छ सिरानी, कोइला खन्न विदेशै किन जाने' गीत गाउँदै, पहाड-तराई गरेर हामी सबैको जीवन सुख र शान्तिका साथ कालान्तरसम्म बित्थ्यो ।

समग्रमा, अहिलेकै जस्तो क्षणिक र व्यक्तिगत स्वार्थले अभिप्रेरित भएर विभाजनकारी राजनीतिक सोचले नयाँ नेपालको संविधान बनाउने हो भने पूर्व-पश्चिम राजमार्गको वारिपारि इजराएल र गाँजापट्टी शैलीको कहिल्यै नसकिने ढुङ्गा हानाहान सुरु हुन्छ । पहाड र मधेसको नाममा दक्षण्िाी भारतमा कृष्णा-कावेरीको पानी विभाजनको विवादलाई माथ गरेर हाम्रो कोशी र महाकालीको पानीमा अझ ठूलो विवाद हुनेछ । हामीले यसबेला सोच्नुपर्ने कुरो के हो भने अमेरिकाको हुभर ड्यामजस्तै धेरै राज्यहरूको सहमतिमा कोलोराडो नदीमा संसारकै पहिलो सबैभन्दा ठूलो मानव-निर्मित बाँध बाँधेर मरुभूमिलाई हराभरा र सहरहरूलाई झििलमिली पारेजस्तो गर्न जरुरी छ । हालको अवस्थाबाट उठेर नयाँ सोचको नेपाल बनाउनतिर नलाग्ने हो भने एक दिन रुवान्डालाई पनि बिर्साउने पाराको हुटु-टुत्सीको जस्तो विनाशकारी खेल हुन बेर छैन ।

राष्ट्रिय व्यक्तित्वको खोजी

मेरा अर्काथरी केही साथीहरू 'राजाको विकल्प छैन' भनेर जयजयकारको राजनीतिलाई पुनर्जीवित गर्ने खेलमा लागेका छन् । उनीहरूले नबुझेको वा बुझेर पनि बुझ पचाए जस्तो कुरो के हो भने राजा ज्ञानेन्द्रलाई कसैले होइन, उनको आफ्नै बुद्धिले खेदेको हो । राजा भैसकेपछि वीरेन्द्रले थालेको थोरबहुत राजनीतिक सुधार र लोकपि्रय राजा हुनेतिर चालेका कदमहरूलाई निरन्तरता दिनु त परै जाओस्, चाटुकारहरूबाट इन्टरनेट जेनेरेसनमा पाइला टेकिसकेको जनतामाथि हैकम चलाउन खोज्नु ठूलो गल्ती थियो, उनको । सम्पत्तिको लोभ नगरी जनहितको नाममा बिग्रेको जन-शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र सुधार्न मन खोलेर, सुदृढ सामाजिक क्षेत्रमा व्यक्तिगत लगानी गरेका भए पनि सायद उनी अझै राजा रहन्थे । जहाँसम्म राजातन्त्रसँग नेपालीको मोहको कुरो छ, मेरा एक मित्रले भर्खरै फेसबुकमा सोधेछन्, 'तपाईंको राष्ट्रिय व्यक्तित्व को हो ?'

मुस्लिम समुदायका एक भाइले लेखे, 'पृथ्वीनारायण शाह' । पृथ्वीनारायणलाई यी भाइले त्यसै हिरो भनेका होइनन् । सिंगो नेपालको निर्माण गरेर नेपाली हुनुको गौरव हामीलाई दिलाए बापत उनले पाएको सम्मान हो यो । ज्ञानेन्द्रले आफ्ना यी गौरवशाली पुर्खाको शिर उँचा राख्ने पाराको एउटा सानो काममात्रै गरेका भए पनि उनी हिरो हुनसक्थे । तर उनी पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर सोच्न नसक्ने नेताहरूकै हुलमुलमा आफूलाई समाहित गराउन पुगे । ज्ञानेन्द्रलाई अझै समय छ, उत्तम सन्जेलको झैं समता स्कुलजस्तो आन्दोलन सुरु गरेर नेपालको गाउँ-गाउँ पसी मात्र हेर, भलै राजनीतिले तिमीलाई देशकै राजा नबनाउला, तर तिमी नेपालीहरूको मनको राजा पक्कै हुनेछौ । हरेक जीवित मनको राजा हुनु भनेको एउटा भूमिको राजा हुनुभन्दा धेरै सम्मानजनक अवस्था हो ।

मुस्लिम समुदायका ती भाइको फेसबुकको जवाफमा मैले देखेको अर्को खँदिलो पाटो के हो भने सयौं वर्ष पहिले कसैले गरेको राष्ट्रिय स्तरको योगदान त्यो राष्ट्रका वासिन्दाले कहिल्यै नभुल्ने रहेछ । त्यसको आख्यान अर्को सयौं वर्षसम्म जाति, धर्म, क्षेत्र, भाषा आदि-इत्यादिको संकुचित परिधिभन्दा धेरै माथि उठेर हुनेरहेछ । हाम्रा आजका नेताहरूमा यो स्तरको बुद्धि पलाइदिए हाम्रो सबैको भलो हुनेमात्र होइन, उनीहरू सबै हाम्रो हिरो हुन्थे, सदासदाका लागि । नेपालको राजनीति प्राज्ञिक, व्यापार, मिडिया, प्रहरी, सेना, प्रशासन आदि क्षेत्रमा अहिले अग्रणी रहेका मेरा सन्निकट मित्रहरूमा मेरो एउटै अनुरोध के भने आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर तिमीहरूले यसबेला लिएको निर्णयको दूरगामी प्रभाव हुनेछ र तिमीहरूको यो महान बलिदान हाम्रो देशकै समुन्नत भविष्य सुनिश्चित गर्न कारगर हुनेछ । 'देशको हितमै सबैको हित' सोचेर तिमीहरूले चालेका हरेक कदमहरूले तिमीहरूलाई वर्तमानको मात्रै होइन, भविष्यमा समेत हाम्रो हिरो बनाउनेछ । 'बहुजन हिताय' सोचेर जोसुकैले गरेको काममा पनि सहयोग र समर्थन गर्ने अनि कसैले अडचन हाल्यो भने त्यसलाई प्रतिरोधमात्र होइन, बरु निराकरण नै गर्नेपट्ट िलाग्नुपर्छ ।

अन्त्यमा, सय वर्षभन्दा पुरानो राजनीति र प्रजातन्त्रको इतिहास भएको बेलायत र अमेरिकासँग नेपालको अवस्था तुलना गर्नु बेकार छ भनेर जिकिर गर्ने ती मेरा जिदाहा साथीहरूसँग अनुरोध छ, सगरमाथाको चुच्चोमा पुग्न घरबाट पाइलो त सार्नुपर्‍यो नि ।

Published on: 4 April 2015 | Kantipur 

Back to list

;