s

पर्वमा समेत नरोकिने परदेशीले धानेको देश

काठमाडौँ — गत बुधबार भाइटीकाको साइतकै बेला, दिदीबहिनी दाजुभाइलाई सप्तरंगी टीकासँगै मखमली र सयपत्रीका माला लगाइदिँदै गर्दा कोही भने भारी मनसहित मजदुरीका लागि विदेशिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज कुर्दै थिए ।

विमानस्थल परिसरमा बिदाइका लागि आएका परिवारजनका आँखा पनि ओभाना थिएनन्, छोड्नै नपरे हुन्थ्यो झैं गरी कसिलो अँगालोमा भावुक देखिन्थे । कोही भने भित्र छिर्नुअघि परिवार, आफन्तजनसँग फोनमा बिदा माग्दै थिए । निधारमा सप्तरंगी टीका, गलामा मालाले सजिएकाहरू पनि लगेजसहितका ट्रली गुडाउँदै ‘चेकइन’ तर्फ लागेका देखिन्थे ।

विमानस्थलमा यसै पनि माहोल सधैं भावुक नै हुन्छ, तर भाइटीकाकै दिन बाहिरिनुपर्दाको बाध्यता झन् विरहलाग्दो थियो । गेटका सुरक्षाकर्मीले माला लगाएर भित्र छिर्न नदिएपछि उनीहरू आफ्नो माला बिदाइमा आएका दिदीबहिनीलाई लगाइदिन्थे अनि अँगालोमा बेरिएर बेस्कन भक्कानिन्थे । बिदाइमा पुगेकाहरू पनि गह्रुँगो मन लिएर फर्किन्थे । लाग्थ्यो, मजदुरीका लागि परदेशिनेलाई भाइटीकाले समेत रोक्न सकेको थिएन । जो पर्वकै दिन परदेशिन बाध्य थिए ।

‘परदेशिनु रहर त हैन, तर यहाँ गुजारा चल्दैन । तर पनि भाइटीकाकै दिन, यसरी छुट्टिनुपर्दा कसको मन रुँदैन र !’ विमानस्थलको ‘प्रस्थान’ गेट छिर्दै गरेकी भतिजीलाई बिदाइ गर्न आएका धुलिखेलका लक्ष्मण पराजुलीले भावुक हुँदै भने ।

२२ वर्षीया भतिजी रञ्जना १२ पढ्दापढ्दै रोजगारीका लागि ओमान जाँदै थिइन् । उडान छुट्ला भनेर रञ्जना साइतभन्दा दुई घण्टा अगावै बिहान ९ बजे नै भाइटीका लगाइवरी धुलिखेलबाट सिधैं विमानस्थल आइपुगेकी थिइन् ।

विमानस्थल परिसरमै भेटिए झापा दमकका २५ वर्षीय किसान कार्की । ४५ दिनको छुट्टीमा दुबईबाट आएका उनको फर्किने समय पनि भाइटीकाकै दिन पर्‍यो । चार वर्षपछि छुट्टी मिलाएर उनी घर आएका थिए । तर पनि भाइटीका मनाउन पाएनन् । ‘निधार रित्तो भएको पाँचौं वर्ष हो यो, घर आएर पनि भाइटीका लगाउन पाइएन, के गर्नु भनेकै समयमा उता (दुबई) पुगिएन भने कम्पनीले काम खोसिदिन्छ,’ उनले भने । टीकाकै दिन उड्नुपर्ने भएपछि झापाबाट दुई दिनअघि नै काठमाडौं आएका रहेछन्, कार्की । ‘दिदीहरूले बिहानै फोन गरेर तिहारको शुभकामना दिए, तर मनमा खल्लो त लाग्छ नि, भाइटीका लगाएर फर्किनका लागि निकै कोसिस गरेको थिएँ, कम्पनीले बोलाएपछि के गर्नु ?’ उनले भने । रंगहरूको पर्व भाइटीकाकै दिन उनको मुहारको रंग भने उडेको थियो । उनलाई बिदाइ गर्न झापादेखि आमा र आफन्तहरू आएका थिए । ‘चाडबाडको दिन यसरी छुट्नुपरेको छ, रुनुहुन्छ भनेर ममीहरूलाई उतै (विमानस्थल बाहिरतिर देखाउँदै) बाट पठाइदिए,’ उनले भने ।

भाइटीका मात्रै हैन, छठ मनाउनेको कथा पनि उस्तै पीडादायी छ । महोत्तरी, गौशालाका बद्रीनारायण साहलाई दसैंको दुर्गा पूजा, दीपावली र छठ पर्व निकै मन पर्छन् । ‘त्यसमा पनि छठी पर्व झनै बबाल लाग्छ,’ दुबई उड्नुअघि साहले भने, ‘त्यही चाहिँ मनाउन पाइएन ।’ उनी तीन महिनाको बिदामा आएका थिए । बद्रीनारायण १० वर्षदेखि वैदेशिक रोजगारीमा छन् । परिवार छाडेर परदेश बस्ने बानी परिसकेको सुनाउँछन् । तर पर्वका बेला जानुपर्दा दुःख त लाग्छ नै । ‘छठमा श्रीमतीले छोराछोरी, श्रीमान्को नाममा व्रत बस्ने चलन हुन्छ, छठ भनेको छोरी मान्छेहरूका लागि विशेष मान्छ, उनीहरूलाई पूजाको सामान खोलाको घाटसम्म पुर्‍याउन, गह्रुँगा भाडाहरू लगिदिन, मेलामा जान रमाइलो लाग्छ, तर बिदा नै सकिने बेला भो, जानैपर्छ, पर्वका बेला विदेश जाँदा नरमाइलो त लाग्छ नै,’ उनले भने ।

बद्रीनारायणलाई काठमाडौंस्थित विमानस्थलसम्म पुर्‍याउन महोत्तरीबाटै उनका भाइ मनोज आएका थिए । भाइटीकाकै दिन उड्नुपर्ने भएपछि अघिल्लै दिन काठमाडौं आइपुगेका रहेछन् । दुवैले काकाकी छोरीको हातको टीका छुटाए । मनोजले टोलभरिका मधेशी/पहाडी छरछिमेकी भेला भएर रमाइलो गर्ने तिहारको रमझमलाई सम्झिए । ‘हामी मधेशी पहाडीबीच केही भेदभाव छैन, दिदीबहिनीहरू एकैठाउँ भएर टीका लगाउने, दीपावली मनाउने गर्छौं, दाइलाई पुर्‍याउनुपर्ने भएपछि छुट्यो,’ मनोजले भने । उनले पनि वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष साउदी अरब र एक वर्ष कतारमा बिताइसकेका छन् । मनोज भने छठ मनाएर मलेसिया जाने तयारीमा रहेछन् ।

त्यसो त देशमा बेरोजगारीको समस्या बढ्दै जान थालेपछि त्रिभुवन विमानस्थलमा विदेशिने र बिदाइ गर्नेबीचको भावुकता पनि दिनहुँ बढ्दो छ । वैदेशिक रोजगार बोर्डको अभिलेखअनुसार पनि दैनिक १७ सय नेपाली रोजगारीका लागि परदेशिने गरेका छन् । परदेशिनुको पीडा प्रायः परिवार जमघट भई उल्लासपूर्वक मनाइने यस्तै ठूला चाडपर्वले झन् बल्झाइदिने गर्छन् । बोर्डको अभिलेखअनुसार पछिल्लो १४ वर्षयता (आव ०६५/६६ देखि ०७८/७९) मा झन्डै ५० लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् भने मुलुकले ८ हजार ४ सय ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ ।

रेमिट्यान्सले नेपालको गरिबी घटाउन, साक्षरता दर बढाउन, परिवारको आधारभूत आवश्यकता पूर्ति गर्न र विकासका पूर्वाधार निर्माणमा योगदान त पुगेको छ  तर पारिवारिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा पनि उत्तिकै असर पार्दै गएको छ । ‘चाडका बेला आफ्नो घरमा आफन्त नातेदार आउँछन्, हामीलाई भने घर छोड्नुपर्ने बाध्यता छ, घरको मजबुरीले गर्दा जानुपर्छ,’ वैदेशिक रोजगार बोर्डमा सामी परियोजनाअन्तर्गतका सूचना परामर्शदाता रामजी साहले भने ।

वैदेशिक रोजगारीले परिवार, समाज र देशको अर्थतन्त्रलाई चलायमान बनाए पनि सामाजिक तथा सांस्कृतिक परम्परा, सहअस्तित्व, एकता, भाइचाराको मौलिकतालाई टुटाउँदै लगेको टिप्पणी गर्छिन्, श्रम तथा रोजगारविज्ञ सरु जोशी । ‘रेमिट्यान्सले क्रयशक्ति बढेर चाडपर्व रंगिएको पनि छ, तर परिवार, समाजमा मान्छेको उपस्थिति उत्तिकै महत्त्वपूर्ण हुन्छ, वृद्धवृद्धाहरू छोराछोरी बिना, बालखा छोराछोरीहरू बाआमाबिना चाडपर्व मनाउनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘हामी संस्कार–संस्कृति, पर्वको धनी छौं । दसैं, तिहार, छठकै दिन अथवा चाडको मुखैमा घर छोडेर जानुपर्ने, तर गाउँबस्ती युवाविहीन हुँदा चाडवाडको मौलिकता पनि हराउँदै जाँदो छ ।’

स्थानीय सरकार र वैदेशिक रोजगार बोर्डले केबल रेमिट्यान्स मात्रै नहेरी सामाजिक, सांस्कतिक प्रभावलाई पनि अध्ययन गर्नॅपर्ने र राजनीतिक दलहरूले गम्भीरता देखाउनुपर्ने जोशीको धारणा छ । ‘विदेशिने लहरले मानवीय सम्बन्ध, परिवार खुम्चियो कि !, गुणात्मक असर पो पर्दै छ कि भनेर अध्ययन गर्नॅपर्ने भएको छ, तर स्थानीय सरकारहरू खाली पूर्वाधार लक्षित भैदिए,’ उनले जोडिन्, ‘दसैं तिहारको मुखमा जाने जाऊन्, मेरो परिवारका जानुपरेको छैन भन्ने हिसाबले राजनीतिक दलहरूले पनि लिइरहेको हो कि ! त्यसो हुनुहुँदैन, दलहरूको ध्यानाकर्षण हुनुपर्छ ।’ मूल मुद्दा उनीहरूको खुसी र मुलुकको समृद्धिका लागि समेत रोजगारी सिर्जना हुनुपर्नेमा त्यसले प्राथमिकता पाउन नसकेको उनलाई लाग्छ ।

भाइटीकाको दिन विमानस्थल परिसरमा परदेशिनेहरू मात्रै थिएनन् । त्यही दिन सिरहा–१० का विधिदेव कामतले २४ दिनअघि साउदी अरबमा निधन भएका ज्वाइँको शव बुझे । उनका ज्वाइँ मनोज कामती दुई वर्षअघि साउदी गएका थिए । मोबाइलको पाइप बिछ्याउँदै गर्दा पहिरोले पुरिएर मरेका थिए । विधिदेव मंगलबार बेलुकी सिरहाबाट बस चढेर बुधबार बिहानै काठमाडौं आइपुगेका रहेछन् ।

‘कमाउन भनेर जानुभएको थियो, शोकमा पर्‍यौं, चाडपर्व मनाउने कुरै भएन,’ उनले भने । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार पछिल्लो १४ वर्षमा रोजगारीका लागि विदेशिएका १० हजार ९ सय ३२ नेपालीको उतै ज्यान गइसकेको छ  । २ हजार १ सय २५ जना अंगभंग भएर स्वदेश फर्किएका छन् ।

Published on: 20 November 2023 | Kantipur

Link

Back to list

;