s

परराष्ट्र सचिव बैरागी शनिबार कतार जाने

दुईपक्षीय तिक्ततालाई मित्रतामा ल्याई सम्बन्ध मजबुत बनाउने उद्देश्यले परराष्ट्र सचिव नेतृत्वको टोली कतार जाने भएको छ । सचिव शंकरदास बैरागी नेतृत्वको टोली चारदिने औपचारिक भ्रमणमा शनिबार (आज) कतार जान लागेको हो । परराष्ट्र सचिव स्तरीय बैठकका लागि उनी त्यसतर्फ जान लागेको सहप्रवक्ता दीपक अधिकारीले कान्तिपुरलाई जानकारी दिए ।
कतारको आन्तरिक मामिलामा बोलेर विवादित बनेपछि करिब तीन वर्षअघि राजदूत मायाकुमारी शर्मालाई फर्काउन नेपाल बाध्य भएको थियो । बाहिर राम्रो देखिए पनि भित्री रूपमा त्यो प्रकरणपछि नेपाल र कतारबीचको सम्बन्धमा चिसोपना रहँदै आएको छ । उनी फर्किएपछि नेपालले कतारमा राजदूतसमेत पठाउन सकेको छैन । दूतावास कार्यवाहक राजदूतका भरमा चलिरहेको छ । कतारलगायत सबै खाडी मुलुकमा परराष्ट्र सचिवको टोलीले दूतावासको अध्ययन तथा समकक्षीसँग अन्तक्रिर्या गर्ने कार्यक्रम यसअघि कै भए पनि अन्य मुलुकसँग समय मिलाउन नसक्दा कतार मात्र जान लागेको परराष्ट्र अधिकारीले बताए ।
सबै नभए पनि आधाजति मुलुकसँग समय मिलाएर गएको भए राम्रो र मितव्ययी हुने अधिकारीहरू बताउँछन् । तर, यूएई र कुवेतबाहेक अन्य मुलुकहरूमा कार्यवाहकबाटै काम चलाइएको हुँदा यस्तो समस्या रहेको हुन सक्ने अधिकारीहरूले बताए पनि राजदूत भएको मुलुकमा पनि समय मिलाउन नसक्नुलाई अधिकारीहरूले निरिह कूटनीतिको संज्ञा दिएका छन् ।
राजदूत नहुँदाको कूटनीतिक ग्यापलाई छलफलमार्फत पूर्णता दिन परराष्ट्र सचिव बैरागी र उनका साथमा सहसचिव रमेशप्रसाद खनाल साथै अर्का एक अधिकृत जान लागेको अधिकारीले बताए । कतारसँग कूटनीतिक सम्बन्धसँगै श्रमिकको हित र नेपाली कामदारको बजारलगायत विषयमा छलफल हुने बताइएको छ । कतारसँग नेपालको श्रम सम्झौतादेखि विभिन्न विषयमा समेत उनले छलफल गर्नेछन् । कतारसँग अन्य कूटनीतिक सम्बन्धभन्दा पनि बढी श्रम कूटनीतिको सेरोफेरोमै रहने हुनाले पनि यस्तो अवस्था आएको हो । यसपछि उनले अन्य खाडी मुलुक पनि भ्रमण गर्ने बताइएको छ ।
 
Published on: 19 January 2016 | Kantipur

Back to list

;