s

परराष्ट्र र वैदेशिक रोजगार नीति बनाउन राजदूतसँग छलफल गरिने

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको वैदेशिक नीति र श्रम तथा वैदेशिक रोजागर नीति कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न देशमा रहेका नेपालका राजदूतलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । 
 
समितिअन्तर्गत परराष्ट्र मन्त्रालय हेर्ने उपसमितिको आजको बैठकले राजदूतसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको उपसमितिका सदस्य चूडामणि जंगलीले जानकारी दिए। उनले भने, “चीन, भारत,अमेरिका, बेलायत, जापानलगायतका देशका लागि नेपालका राजदूतसँग नेपालको वैदेशिक नीति र नेपाली रोजगारीका लागि जाने कोरिया, इजरायल, मलेसिया र खाडी राष्ट्रका नेपाली राजदूतसँग नेपालको श्रम तथा वैदेशिक रोजगार नीति कस्तो बनाउने भन्नेबारे छलफल गर्ने निर्णय आजको बैठकमा भएको छ।” 
 
दशैँपछि र तिहारअघि यस्तो छलफल गर्ने मोटामोटी सहमति भए पनि मिति भने तय भएको छैन। बैठकमा समितिका सभापति जुठबहादुर खड्गी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलगायतको सहभागिता थियो । 
 
Published on: 7 September 2017 | Nagarik

Back to list

;