s

परनिर्भरताको असर

सयौंको सङ्ख्यामा दैनिकरूपमा नेपाली युवा विदेशिएका छन्। गाउँमा वृद्धमात्रै देखिन्छन्। अझ पनि विदेशिने नेपालीको सङ्ख्यामा कमी आउने लक्षण देखिँदैन्। यसको परिणामस्वरूप गाउँमा ज्यालादारी गर्ने मानिसको अभाव छ। जेनतेन हुनेखानेले ज्यालादारीमा काम गर्ने कामदारको सहयोगमा आफ्नो खेतबारीमा कृषि कर्म गर्दै आएका थिए। अहिले त्यो पनि सम्भव भएन। अहिले खाडी मुलुकमा रोजगारीको अवसर पाउन थालेपछि कोही पनि गाउँमा अरुको काम गरेर बस्न चाहँदैन। 

देशभरकै युवा अवसरको खोजीमा विदेशिने क्रम बढिरहेको छ। यसको तात्कालिक असर परिवारमा मात्रै सीमित रहे पनि दीर्घकालीनरूपमा यसले नेपालको विकासक्रमलाई नै असर पार्ने देखिन्छ। केही समयका लागि अल्पकालीनरूपमा भित्रने रेमिटन्सबाहेक यसले दीर्घकालमा नेपालको कृषि क्षेत्रलाई धरासायी नै बनाउने देखिन्छ। गाउँमा काम गर्ने मानिस पनि नपाइने, घरमा छोराछोरी पनि नबस्ने हुँदा हजारांै किसानका परिवारले आफ्नो खेतबारी बाँझै राख्ने क्रम बढिरहेको छ। 

वास्तवमा गाउँको जीवन कष्टकर बन्दै गएको छ। वृद्धा अवस्थाका मानिसको जीवन अझ नाजुक छ। सरकारले अझै देशलाई कृषिप्रधान देशका रूपमा व्याख्या गर्दैछ। जबसम्म नेपाली युवाको मानसिकतामा विदेश नगई पैसा कमाउन सकिँदैन भन्ने भ्रम मेटिँदैन, समस्या झन् जटिल हुँदै जानेछ। मानसिकता परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रम नल्याइ हँुदै हँुदैन। जस्तो कि कृषिलाई वैज्ञानिकीकरण गर्ने, आधुनिक कृषि प्रणाली विस्तार गर्ने, बजार सुनिश्चित गर्ने, कृषिका लागि युवालाई ऋण सहयोग र विशेष तालिम व्यवस्था गर्ने जस्ता केही कार्यक्रम तत्काल लागु गर्न सकिन्छ। मात्र कुनै भाषण र लिखित दस्तावेजका रूपमा आउने कार्यक्रमले देशको यस्तो काहालिलाग्दो समस्याको समाधान निकाल्न सक्ने छैन। 

देशको धरैजसो भागमा अहिले पनि गोरुराँगाले खेतबारी जोत्ने गर्छन्। ग्रामीण भेगमा निकै कम मानिसले मात्रै गोरुराँगा पाल्न थालेपछि किसानले समयमा अन्नबाली लगाउन सकेका छैनन्। यसका लागि प्रत्येक गाविसमा कम्तिमा एउटा टयाक्टर उपलब्ध गराउने हो भने एक दिनमै गोरुराँगाले जोत्ने खेतबारीको तुलनामा ट्याक्टरले धरै रोपनी जग्गा जोत्न सक्ने थियो। काम गर्ने मानिस नपाइने, बाली लगाउने बेला खेतबारी जोत्न नपाइने, नयाँ विकल्प पनि नहुने गर्दा ग्रामीण किसानहरू कृषि व्यवसायप्रति आकर्षित हुन सकेका छैनन्। यस्तो खालको सोचाइ केही समयपछि तराइमा पनि फैलँदै जाने देखिन्छ। तराईबाट पनि धेरै युवा काठमाडौंमा पासपोर्ट बनाउने लाइनमा बसेका देखिन्छन्। यसले देशको अर्थतन्त्रमा दीर्घकालीनरूपमा निकै ठूलो असर पुर्यााउनेमा सरकार खासै गम्भीर भएको पाइँदैन। 

नयाँ पुस्ता गाउँमा बस्न नचाहने, तुरुन्तै धेरै आम्दानी आश गर्ने, गाउँमा भन्दा बाहिर गएपछि धेरै कुरा पनि बुझिने जस्ता प्रवृति हावी हुँदै गएका छन्। एक दुई उदाहरणबाहेक धेरैले खेतबारी नै बाजो राख्ने सोच बनाउन थालेका छन्। घरमा पशुपालन गर्ने चलन हराउन थालेको छ। विदेश गएका छोराले बुहारीलाई पैसा पठाउने, बुहारी सदरमुकाममा बसेर छोराछोरी पढाउने, यदि श्रीमानले राम्रो आम्दानी गर्न थालेको भए प्रमुख शहरमै आएर बस्न थालेपछि अशक्त वृद्धाका दिन झन् दुखद् बन्दै जान थालेका छन्। कृषि व्यवसायसँग अन्तरसम्बन्धित विषय थुप्रै छन्। जस्तो कि गाउँमा राम्रो पढाइको अवसर नहुने, राम्रो अस्पताल नहुने जस्ता। सरकारले कृषि व्यवसायका अतिरिक्त अन्य सुविधालाई पनि ग्रामीण भेगमा विस्तार गर्न नसकेमा भविष्यमा यसले थप जटिलता थप्ने निश्चित छ। 

यसरी नयाँ पुस्ताको रुचि कृषि व्यवसायमा भन्दा विदेशिनेमा बढ्न थालेपछि देशको परिस्थितिलाई कस्तोखालको असर पर्ला भन्नेबारे खासै चासो राखेको पनि पाइँदैन। त्यसमा पनि विदेसिएका युवाको विदेशमा काम गर्ने अनुभव त्यति राम्रो पाइँदैन। उनीहरू मानसिकरूपमा पनि निकै निराश भएर देश फर्कनुपरेको छ। यस्ता निराश युवालाई आत्मनिर्भर बन्नका लागि सरकारीस्तरबाट उत्साहजनक कार्यक्रम सुरु गर्ने हो भने देशमा खपत हुने अन्नबाली देशमै उत्पादन हुने थियो। यसले गर्दा नेपाललाई थप परनिर्भर बनाउनबाट रोक्न सकिने थियो। 

Published on: 23 January 2013 | Nagarik

Back to list

;