s

परामर्शदाताबाट ठगी (सम्पादकीय)

वैदेशिक रोजगारी वा अध्ययनका नाममा ठगीमा पर्ने युवाको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । यसरी ठगिनेमा गाउँघरका अशिक्षित मात्रै छैनन् शहरी क्षेत्रका र शिक्षित व्यक्ति पनि छन् । सरकारको चेतावनी र निर्देशनविपरीत वैदेशिक रोजगारीसम्बन्धी संस्था, व्यक्ति र शैक्षिक परामर्शदाताको प्रभावमा परेर ठगिने गरेका घटना बढेका छन् । सरकारलाई झुक्याएर विदेश पुगेका धेरै व्यक्तिले आफैँ झुक्किएको कुरा धेरैपछि मात्रै थाहा पाउने गरेका छन् ।

नेपाली युवालाई विदेशमा राम्रो जागिर मिलाइदिने प्रलोभन देखाएर सरकारी ‘लाइसेन्स होल्डर’ वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सलटेन्सी र व्यक्ति नै ठगीमा सक्रिय छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीका बहानामा ३२ करोड ६५ लाख रुपियाँभन्दा बढीको ठगी भएको छ । यस अवधिमा विभागमा ७७५ वटा उजुरी परेकोमा संस्थागत उजुरीको सङ्ख्या ५६ प्रतिशत र व्यक्तिगत उजुरीको सङ्ख््या ४४ प्रतिशत छ । उजुरीको सङ्ख्या संस्थाविरुद्ध धेरै भए पनि ठगिएको रकमममा व्यक्तिबाट हुने ठगीकै बढी छ । व्यक्तिगत ठगीतर्फ १७ करोड रुपियाँभन्दा बढी छ भने संस्थागततर्फ १५ करोड ५३ लाख ७४ हजार रुपियाँ बढी ठगीको दाबी गर्दै विभागमा उजुरी परेको छ । यस अवधिमा २५४ उजुरीको छिनोफानो गरी ठगी गर्नेबाट पाँच करोड २२ लाख ५८ हजार रुपियाँभन्दा बढी बिगो रकम भराएको छ । संस्थागत रूपमा आएका उजुरीमा रोजगार व्यवसायी कम्पनीले श्रमिकलाई भनेको काम, तलब तथा सुविधामा नपठाएको, भनेको भन्दा अर्कै कम्पनीमा पठाएको जस्ता उजुरी प्राप्त हुने गरेका छन् ।

समस्याको कारण धेरै छन् । मुलुकभित्र पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना हुन नसकेको सत्य हो । बर्सेनि साढे पाँच लाख जति युवा श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा साढे तीन लाख रोजगारीका लागि विदेशिन्छन् । रोजगारीका लागि विदेश जानेहरूमध्ये केहीको रहर पनि हो । विदेशमा सुखसयल हुन्छ, धेरै पैसा कमिन्छ भन्ने मानसिकताले धेरैलाई विदेशले आकर्षण गरेको छ । अरुको देखासिकी गर्ने र छोटो समयमै धनी हुने चाहनाले कतिपयलाई घर न घाटको बनाएका उदाहरण पनि छन् । कुन देश जाने, कति पैसा तिर्ने, कसरी जाने भन्नेबारेमा स्पष्ट मार्गदर्शन हुँदाहुँदै पनि दलालको चङ्गुलमा फसेर गैरकानुनी बाटो पक्रने, धेरै पैसा तिर्न तयार हुने र पछि भने अनुसारका देश, जागिर र तलब सुविधा नपाएपछि आफू ठगिएको उजुरी गर्नेहरूको सङ्ख्या धेरै छ । सरकारको स्वीकृति लिएर सञ्चालन भइरहेका संस्थाहरूबाट ठगिएमा कारबाही हुने गरेको छ । तर जो गैरकानुनी रूपमा विदेश जाने क्रममा ठगिएका छन् तिनलाई न्याय दिन भने समस्या हुन्छ । सर्वसाधारण नागरिक नै सचेत नहुँदा हुने ठगी अपराध नियन्त्रण गर्न भने सरकारलाई पनि कठिन हुन्छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था गरेको छ, कुन देश जान मिल्ने र कुन नमिल्ने तोकेको छ र विदेश जाँदा कति खर्च लाग्छ समेत तोकेको छ । तर पूर्ण रूपमा लागू भएको छैन ।

वैदेशिक रोजगारीका नाममा भइरहेका ठगीसँग सबै क्षेत्र जानकार छ । यसलाई सुधार गर्न सरकारले विभिन्न कदम चालेको छ तर प्रभावकारी हुन सकेको छैन । ठगी नियन्त्रणमा सरकारी संयन्त्र सक्रिय हुनु जति जरुरी छ त्यति नै विदेश जान चाहने व्यक्ति पनि सजग हुनुपर्छ । शिक्षा हासिल गर्ने, घुमिफिर गर्ने, सभा सेमिनारमा सहभागी हुने भन्दै सरकारको आँखामा छारो हाल्नेहरू नै विदेश पुगेपछि अलपत्र पर्ने गरेका छन् । यसमा सम्बन्धित व्यक्ति नै सचेत हुनुपर्छ । विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने, गैरकानुनी बाटोबाट विदेश जाने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै उजुरी गर्न आउनेको सङ्ख्या ठूलो भएकाले सुरुमै सबै जानकारी लिने हो भने ठगिनबाट बच्न सकिन्छ ।

Published on: 30 November 2018 | Gorkhapatra

Back to list

;