s

पपुवा न्युगिनीमा अलपत्र नेपाली मानवतस्करीको नया स्वर्ग

जब क्रिकेट प्रतियोगिता हुन्न्थ्यो, प्रशान्त महासागरको एउटा टापु देश पपुवा न्युगिनी (पिएनजी) को नाम सुनिन्थ्यो, आक्कलझुक्कल। अचेल पिएनजीको नाम प्रचारमा आइरहन्छ जसले बिस्तारै यस टापुको परिचय नै बदल्दैछ। प्रचुर खनिज उत्खनन्ले यस देशलाई दिनप्रतिदिन वैभवी मात्र बनाइरहेको छैन, उत्तिकै बद्नाम पनि। विश्वकै ठूला कम्पनीको उपस्थिति र औद्योगिकीकरणले जनशक्तिको माग पनि चुलिँदो छ। मानव तस्करहरूले यसैलाई आफ्नो कमाउधन्दा बनाइरहेका छन्। 

पछिल्लो समय नेपाली कामदार पनि त्यहाँ पुर्‍याइने र अलपत्र पारिने क्रम बढेको छ जसले पिएनजीको परिचय मानव तस्करीको 'हब' मा परिणत गर्दैछ।

सन् २०११ मा विश्वको द्रुत आर्थिक विकास गर्ने राष्ट्रको सूचीमा छैठौं नम्बरमा परेको यो टापु अहिले ठगी र तस्करीको 'भर्जिन मुलुक' बन्न थालेको छ।

तीन महिनायता मात्र ३१ नेपाली पिएनजीमा अलपत्र परेर स्वदेश फर्के। १३ जनालाई वैशाख ५ गते आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले उद्वार गरी नेपाल फर्काइदियो।

आइओएमले उनीहरुलाई पिएनजी–सिंगापुर–मलेसिया हुँदै नेपालसम्मको हवाइटिकट र काठमाडौंबाट आ–आफ्नो घरसम्म पुग्न प्रत्येकलाई दुई/दुई सय अमेरिकी डलर उपलब्ध गराएको थियो।

'अवैध तरिकाले पपुवा न्युगिनीमा ल्याइएका नेपाली अलपत्र पर्ने क्रम बढ्दो छ। नक्कली भिसामा आएकाले उनीहरु पक्राउ पर्छन्, जेल बस्छन् र फर्कन्छन्,' मानवीयताका आधारमा अलपत्र नेपालीको उद्धारमा लाग्दै आएका पिएनजीको स्वास्थ्य विभागअन्तर्गत एक परियोजनामा कार्यरत नन्द महर्जनले टेलिफोनबाट भने। साढे तीन वर्षअघि वैध तरिकाले पिएनजी पुगेका महर्जनले जेलमा नेपालीले कष्टकर जीवन बिताउनुपरेको सुनाए।

तस्करहरुले भारत हुँदै पिएनजी पुर्‍याउँदा प्रत्येकसँग ८ लाख रुपैयाँ उठाउने गरेका छन्। मासिक कम्तीमा २ लाख रुपैयाँ तलब पाइने प्रलोभन देखाउँदै उनीहरु त्यहाँका विभिन्न खानी, ग्यास–तेल उद्योगलगायत कम्पनीमा रोजगार लगाइदिने आश्वासन दिने गरेको गुनासो पीडितको छ। तस्करहरुले आधा रकम (४ लाख रुपैयाँ) काठमाडौं वा दिल्लीमध्ये एक ठाउँ र बाँकी आधा रकम पिएनजी पुगेपछि पीडितसँग उठाउँदै आएका छन्।

'जेलमा परेकाहरूले जनाएअनुसार नक्कली भिसामा पिएनजी ल्याउन तस्करहरुले फिलिपिन्सको राजधानी मनिलामा २० र फिलिपिन्स ल्याउन ५० जना नेपाली तयारी अवस्थामा राखेका छन्,' महर्जनले भने।  

तस्करको प्रलोभनमा पिएनजी आउने प्राय नेपाली राजधानी पोर्ट मोर्सबाईस्थित ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परिरहेका छन्। पक्राउ परेका सबैमाथि पिएनजी अध्यागमनले एउटै आरोप लगाउने गरेको छ– नक्कली भिसामा आगमन। नेपालीले भने पक्राउ परेपछि मात्र थाहा पाउने गरेका छन्, आफ्नो राहदानीमा लागेको भिसा सक्कली होइन। त्यसपछि उनीहरुलाई हिरासतमा लिएर मुद्दा चलाइन्छ र अन्त्यमा प्राय सबैलाई आइओएमले उद्धार गरी नेपाल पठाउने गरेको छ।

'पपुवा न्युगिनीको अध्यागमन कर्मचारीले भनेपछि मात्र थाहा भयो, हामी त नक्कली भिसामा पो पुगेका रहेछौं,' वैशाख ५ मा काठमाडौं आइपुगेका कटुवाचौपारी– २ पर्वतका दलबहादुर नेपालीले नागरिकसँग भने।

यसरी पुर्‍याइन्छ पिएनजी
तस्करले नेपालीलाई पिएनजी पुर्‍याउन भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख नाका बनाउँदै आएका छन्। त्यसमा पनि बढी प्रयोगमा आउने विमानस्थल दिल्लीको इन्दिरागान्धी हो। दिल्ली–पिएनजीका पनि अनेक रुट छन्। कोही थाइल्याड हुँदै त कोही सिंगापुर, अनि कोही फिलिपिन्स, इन्डोनेसिया र भियतनाम हुँदै पिएनजी पुर्‍याइन्छन्।

'दिल्ली पुर्‍याएर तीन महिना राखेपछि हामीलाई सिंगापुर हुँदै पपुवा न्युगिनी पठाएका थिए,' स्वदेश फर्केका अर्का पीडित उपल्लोचौर– ११ बाग्लुङका डिपबहादुर केसीले भने, 'कतिलाई फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, बंगलादेश हुँदै पनि लगेका रहेछन्।' 

नेपालीलाई दिल्लीमा प्राय ग्रिन पार्क र मयुर बिहारवरपरका होटलमा राख्ने गरेका छन्, तस्करले। दिल्लीमै उनीहरुको राहदानीमा भिसा हानिन्छ– एक वर्षको नक्कली 'वर्किङ' भिसा। विमानस्थलसम्म छाड्न तस्कर आफैं पुग्छन्। कतिलाई सिधै पिएनजी पुर्‍याइन्छ त कति थाइल्यान्ड, बंगलादेश, भियतनाम, इन्डोनेसियामा महिनौं राखेपछि मात्र लगिन्छ। केहीलाई भने पिएनजीबाट अस्ट्रेलिया छिराइदिने आश्वासनसमेत दिइएको पीडित सुनाउँछन्।

'कतिलाई त पानीजहाजमा समेत पठाउने रहेछन्। हामीलाई जहाजमै पठाएका थिए,' केसीले सुनाए। 

को–को छन् सक्रिय 
पीडितका अनुसार नेपालीलाई नक्कली भिसामा पिएनजी पुर्‍याई अलपत्र पार्ने प्रमुख चार नेपाली छन्– माधव पण्डित, उत्तम गिरी, बद्री पराजुली र राजाराम लामिछाने। पिएनजीबाट नक्कली भिसा उपलब्ध गराउन सघाइरहेका छन्, बेन निकिन्जले। पण्डित नेपाल–थाइल्यान्ड–पिएनजी आवतजावत गरिरहन्छन्। गिरी फिलिपिनो केटी बिहे गरेर फिलिपिन्समै काम गरेर बसेको पीडितको भनाइ छ। पराजुली र लामिछाने दिल्ली बसेर पिएनजी पठाउने काम गरिहेका छन्।

'पिएनजी ल्याई नेपालीलाई अलपत्र पार्ने प्रमुख व्यक्ति माधव पण्डित, उत्तम गिरी र राजाराम हुन्,' महर्जनले भने, 'मैले पाएको जानकारीअनुसार गिरीको राहदानीमा अब भिसा लाग्न एक पेज मात्र बाँकी छ। उनी नयाँ राहदानी बनाउने प्रक्रियामा छन्।' 

पीडितका अनुसार थप्रेक– ९ नुवाकोटका पण्डित नौ नेपाली एकैपटक विमानस्थलमा पक्राउ परेपछि उनीहरुलाई छुटाउन र व्यापारिक सम्बन्ध कायम गर्न भन्दै डेढ महिनाअघि पिएनजी पुगेका थिए। त्यहाँ पुगेको एक साताजतिमा उनलाई पनि स्थानीय प्रहरीले पत्राउ गर्‍यो। राहदानीमा सक्कली भिसा भेटिएपछि उनी छुटेका थिए।

छुट्नुअघि पिएनजी अध्यागमनलाई बुझाएको कागजातमा पण्डितले आफ्नो राहदानी नम्बर ०६२९७२८० लेखेका छन्। पण्डितले आफू काठमाडौंस्थित प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिसेज नेपाल प्रालिको बजार प्रबन्धक, लाइट अफ एसिया ट्राभल्स एन्ड टुर्स प्रालिको प्रबन्ध निर्देशक तथा सामाजिक तथा ग्रामीण विकास केन्द्र नेपालको बोर्ड सदस्यका रुपमा एकसाथ काम गरिरहेको दाबी गरेका छन्।

पण्डितले अध्यागमनलाई दिएको सम्बन्धित संस्थामा फोन गर्दा एउटाको मात्र उठेका थियो। उक्त संस्थाका कर्मचारीले पण्डित नामका व्यक्ति आफ्नो संस्थामा नरहेको जानकारी दिए। 'लाइट अफ एसिया होइन, यो त शुभबिहानी ट्राभल्स एन्ड टुर हो। पण्डितजीले सात महिनाअघि नै हाम्रो संस्था छाड्नुभएको हो,' शुभबिहानी ट्राभल्स एन्ड टुरका अध्यक्ष दिलीप आचार्यले भने। 

पण्डितले पिएनजीमा बुझाएको कागजातमा प्रोग्रेसिभ प्लेसमेन्टले २०१३ फेब्रुअरी १५ देखि मे २९ सम्म, लाइट अफ एसियाले २०१३ जनवरी २७ देखि जुन १२ सम्म र सामाजिक तथा ग्रामीण विकास केन्द्र नेपालबाट सन् २०१३ फेब्रुअरी २० बाट मार्च १० सम्म बिदा स्वीकृत गरेको उल्लेख छ। ती संस्थाको लेटरप्याडमा पण्डित प्रोग्रेसिभमा सन् २०१३ जुन १, लाइट अफ एसियामा जुन १५ र सामाजिक तथा ग्रामीण विकासमा अप्रिल १ मा काममा फर्कने उल्लेख छ।

पिएनजीमा रहेका बेनलाई नक्कली भिसाका लागि पैसा पठाउने काम प्राय गिरी र राजारामले गर्छन्। पैसा वेस्टर्न युनियनमार्फत दिल्लीबाट फिलिपिन्स हुँदै पिएनजी पुग्ने गर्छ। सन् २०१२ अक्टुबरदेखि २०१३ को जनवरीसम्म उनीहरुले बेनलाई फिलिपिन्सबाट करिब ९ हजार अमेरिकी डलर पठाएका थिए। फिलिपिन्समा घरजम गरी बसेका गिरीको घर चितवन बताइएको छ।

श्रम बजार छ 

क्षेत्रफलका हिसाबले नेपालभन्दा तीन गुना ठूलो पिएनजीको जनसंख्या ७० लाख हाराहारी छ। प्राकृतिक स्रोत बढी भएकाले विश्वका ठूला कम्पनी पछिल्ला वर्ष पिएनजीमा आकर्षित भएका छन्। जनसंख्या थोरै भएकाले यहाँ सञ्चालनमा रहेका खानी उद्योगलाई बढी नै आप्रवासी कामदार आवश्यक छ। यसकारण वैध तरिकाले पिएनजी पुग्नेले राम्रो कमाइ गर्न सक्ने महर्जन बताउँछन्।

महर्जनका अनुसार वैध तरिकाले पिएनजी पुगी काम गर्ने नेपालीको संख्या ९० हाराहारी छ। आठजनाजतिको पूरै परिवार पिएनजी पुगेको छ। राजधानी पोर्ट मोर्सबाईमा ३० जना नेपाली कार्यरत छन्।

'वैधानिक रुपमा आउँदा राम्रो छ। नेपालीलाई यहाँ सम्मान गर्छन्। यहाँका कम्पनीले खाडी र मलेसियामा भन्दा बढी सुविधा दिन्छन्,' महर्जनले भने। 

सुन, तेल प्रचुर मात्रामा भएकाले अहिले विश्वका नामी कम्पनी पिएनजी पुगेका छन्। यसैकारण पनि त्यहाँ दक्ष कामदार माग तीव्रतर छ। 'जहाँ खन्यो, त्यहीँ तेल, सुन, ग्यास भेटिने ठाउँ रहेछ पिएनजी। खानी सञ्चालन गर्न विश्वका ठूला कम्पनीले यहाँ कार्यालय खोलेका छन्। सरकारी तहबाटै सहमति गरी वैध तरिकाले कामदार पठाउन सके यहाँ आउनेले राम्रो कमाइ गर्न सक्छन्,' उनले स्पष्ट पारे। 

Published on: 25 May 2013 | Nagarik

Back to list

;