s

पञ्जाबमा नेपाली मजदुर बन्धक, एकको मृत्यु

अवधेशकुमार झा

बरमझिया, सप्तरी — सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियास्थित रामटोलबाट १४ जना दसैंलगत्तै भारतको पञ्जाब हिँडेका थिए । उनीहरू अधिकांश दलित चमार र केही मुस्लिम समुदायका हुन् । धान सुकाउने काममा मासिक १० हजार भारु तलब हुने भन्दै उनीहरूलाई लैजाने थिए, स्थानीय लक्ष्मी दास र इनरजित यादव ।

यसरी जानेमध्येका ५४ वर्षीय लखन रामको आइतबार मृत्यु भएपछि उनीहरूलाई बँधुवा मजदुरको हैसियतमा काम गराउँदै यातनासमेत दिने गरेको खुलेको छ । ‘बिहानदेखि राति अबेरसम्म काम गरेर फर्केपछि ओछ्यानमा सुतेकै बखत काकाले ज्यान गुमाउनुपर्‍यो,’ भतिजा नरेश रामले बताए । लखनसहितका मजदुर पञ्जाबको समानामा रहेको मित्तल राइस सेलर मिलमा कार्यरत थिए ।

दसैंलगत्तै हिँडेका उनीहरूलाई सुरुमा बरमझियाबाट म्याजिक गाडीमा राखेर सप्तरीसित जोडिएको नेपाल–भारत सिमाना कुनौली पुर्‍याइएको थियो । बिहारको कुनौली बजारबाट टेम्पोमा निर्मली पुर्‍याएपछि त्यहाँ ६ दिनसम्म राखियो । ‘त्यसपछि दुईतले बस ल्याए, त्यसमा नेपालकै विभिन्न ठाउँबाट ल्याइएका १ सय ८० जनालाई चढाए,’ बरमझियाबाट जानेमध्येका पंकज रामले भने, ‘बीचमा घण्टौं रोक्दै बस्दै ६ दिनपछि पञ्जाब पुर्‍याए ।’

उनीहरूका अनुसार कामको सुरुवाती दिनदेखि नै कामदारमाथि अमानवीय व्यवहार सुरु भएको थियो । ‘काम त धान सुकाउने र बोरामा हालेर राख्ने थियो तर बिहान ६ देखि राति १२–१ बजेसम्म काममा लगाए,’ पंकजले सुनाए, ‘राति १ बजे कोठा पुग्दा कहिले नुनसँग त कहिले आलुचटनीसँग भात दिन्थे । राति कोठामा ताला लगाएर राख्थे । पिसाब लाग्दा पनि कोठा नखोल्दा हामी सुतेकै कोठामा गर्थ्यौं । केही बोल्यो कि कुटिहाल्थे ।’ काम सुरु गरेकै दिनदेखि १८ घण्टा काम गराउने, कोठामा ताला लगाएर राख्ने, राम्ररी खाना नदिने र यातना दिने गरेको उनी बताउँछन् ।

ठेकेदार, मुन्सीलगायत सेलर मिलका स्टाफको अमानवीय व्यवहारपछि बरमझियाबाट गएको समूहका चार जना पाँचौं दिनमा भागेका थिए । ‘मिल घेरिएको १० फिट उचाइको पर्खाल थियो, रूखबाट पर्खाल नाघेर भाग्यौं, अनि कुल क्षेत्र पुग्यौं,’ पंकजले भने । उनीसहित सुरेश राम, राजेश राम र ममताज मियाँ भागेका थिए । नयाँ ठाउँमा पुगेका उनीहरूले १० दिनसम्म काम गरे तर श्रमअनुसार पैसा पाएनन् ।

लेबरको काम गरिरहेका उनीहरू एक हजार रुपैयाँ पाएपछि घर फर्किएका थिए । ‘एक हजार त बाटोमै सकियो,’ सुरेशले भने, ‘पछि बिनाटिकट ट्रेनमा चढ्यौं, टिकट चेक गर्ने अधिकारी आउँदा एउटा डिब्बाबाट अर्कोमा चढ्दै छल्दै दरभंगासम्म पुग्यौं ।’ दरभंगाबाट जेनतेन कुनौली नाका पुगेका चारै जना त्यहाँबाट पैदलै बरमझियास्थित घर आइपुगेका थिए ।

उनीहरूपछि नरेश राम र निराज शेख पनि भागेका थिए, तर उनीहरू नजिकै पक्राउ परे । ‘त्यसपछि दुई दिनसम्म पटकपटक चिर्पटले हान्दै यातना दिए,’ लखनको शव लिएर फर्किएका देवसुन्दर रामले भने, ‘फेरि भाग्ने प्रयास गरे मारिदिने धम्की पनि दिए ।’ चार जना साथीहरू भागेपछि आफूहरूमाथि थप यातना दिने काम भएको उनको भनाइ छ ।

खानको राम्रो व्यवस्था त थिएन नै उनीहरू बोरामै सुत्थे । ‘ओछ्याउने पनि बोरा अनि ओढ्ने पनि बोरा,’ देवसुन्दरले भने, ‘जाडो लाग्यो कि के भयो लखन ओछ्यानबाट उठ्नै सकेनन् ।’ कामबाट फर्किएर सुतेका लखनको आइतबार बिहानीपख सुतेकै ठाउँमा मृत्यु भएको थियो । ठेकेदार र मिलका स्टाफले पञ्जाबमै उनको अन्त्येष्टि गर्न दबाब दिएका थिए । तर, रोजगारीका लागि कुबेत जान काठमाडौं पुगेका लखनका जेठा छोरा बद्रीलाई फोन गरेपछि उनले बुवाको शव नेपाल नपठाए उजुरी गर्ने बताएपछि मिलका मालिक शव पठाउन राजी भएको देवसुन्दरले बताए ।

शव लिएर देवसुन्दरसँगै नरेश पनि घर आएका छन् । ‘चार जना पाँच दिनमै भागे, लखनको शव लिएर हामी दुई जना आयौं, बरमझियाकै निराज शेख, रहिम शेख र किशोरी राम अझै त्यहाँ बन्धक अवस्थामै छन्,’ देवसुन्दरले भने । बाँकी केही मिलबाट भागेर सम्पर्कमै छैनन् । उनका अनुसार किशोरीको स्वास्थ्य अवस्था खराब छ । उनको खुट्टा सुन्निएको छ भने मुखबाट रगत आउने समस्या छ । ‘मेरो पतिसँग न फोन सम्पर्कसमेत गर्न दिएको छैन,’ किशोरीकी श्रीमती करियाही देवीले भनिन्, ‘त्यहाँबाट कसरी निकाल्ने हो, सरकारले सहयोग गरिदिनुपर्‍यो ।’

मृतक लखनका श्रीमती, दुई छोरा र बुहारी छन् । ८६ वर्षीया वृद्ध आमा बौकीदेवी शव आएपछि छिनछिनमा मूर्च्छित हुने गरेकी छन् । ‘म बाँचेकै छु, छोराको शव देख्नुपर्‍यो,’ उनले भनिन्, ‘मेरो छोराको यस्तो अवस्थामा पुर्‍याउनेलाई कारबाही गराइदिनू ।’

किरिया बसेका लखनका जेठा छोरा बद्रीको कुवेत जाने सपना पनि तत्कालका लागि समाप्त भएको छ । कान्छा छोरा पनि वैदेशिक रोजगारीबाट फर्किएका छन् । ‘मेरो बुबालाई न त खाना राम्ररी दिन्थ्यो न समयमै सुत्नुहुन्थ्यो,’ बद्रीले भने, ‘बुबाको मृत्यु स्वाभाविक होइन, श्रम शोषण र शारीरिक यातना दिने ठेकेदारलाई कारबाही हुनुपर्छ ।’

यसैबीच, मृतक लखनका परिवार, यातना भोगेर आएकाहरूले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिँदै आफूहरूलाई लैजानेमाथि कारबाहीको माग गरेका छन् । कञ्चनरूप–९ का इनरजित यादव र वडा नम्बर ३ का लक्ष्मी दासविरुद्ध उनीहरूले उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले उजुरी आएकाले थप विवरण बुझ्ने काम भइरहेको बताए ।

Published on: 29 December 2022 | Kantipur

Link

Back to list

;