s

पल्टन छाडेपछि...

चितवन राष्ट्रिय निकुञ्जकी एउटी बघिनीका लागि बेलायत बस्ने विजय हितान मासिक पाँच पाउन्ड छुट्ट्याउँछन्। ती बघिनी उनकी 'धर्मपुत्री' हुन्, जसको नाम विजयले प्यारपूर्वक 'गौरी' राखेका छन्। आफ्नो कथासंग्रह 'थकित पृथिवी' मा प्रकाशित कथा 'गौरीको मलामी' मा उनले आफ्नी धर्मपुत्रीप्रतिको चिन्ता प्रकट गरेका छन्। बच्चा जन्माएपछि गौरी खानाका लागि कुनै एउटा थारूको घरमा बाख्रा तान्‍न पुगेको र बाख्राधनीको प्रहारबाट घाइते भएर तड्पी तड्पी मरेको कल्पना छ कथामा। 'मैले गौरीजस्ता दुर्लभ पाटे बाघहरू विभिन्न कारणले सखाप भइरहेकोमा चिन्ता प्रकट गरेको हुँ', उनी भन्छन्।

एउटा ब्रिटिस-गोर्खा सैनिक सकेसम्म पूरै अवधि पल्टन घरमै बिताउन चाहन्छ। सेवा निवृत्त भएपछि सैनिक जीवनमा पाएको अनुभवका आधारमा जागिर गर्ने वा कुनै व्यवसाय अपनाउने पनि देखिन्छन्। कतिपय ब्रिटिस-गोर्खा सैनिक बाँकी जीवन आनन्द र रमाइलो गरेर बिताउँछन्। गुल्मीको पौंदी अमराई पुख्र्यौली घर भएका लाहुरे विजयचाहिँ अपवाद भएर निस्के। ब्रिटिस-गोर्खा सैनिक सेवाबाट १० वर्षमै उनले स्वेच्छिक अवकाश लिँदा दौंतरी मात्रै होइन, उनका अफिसर पनि छक्क परेका थिए। दौंतरीहरूले सोधे, 'किन छोडेको?' गाउँले क्याप्टेनले पनि बोलाएर सोधे, 'तिमीजस्तो सक्षम व्यक्तिले किन पल्टन छाडेको?' विजयसँग दुईवटा विकल्प थिए, नेपाल फर्कने र केही गर्ने। वा, अधुरो रहेको पढाइ पूरा गर्ने। पल्टने शुभेच्छुकहरू उनका विकल्पमा चित्त बुझाउँदैनथे। कहाँ पल्टनियाँ जीवन, कहाँ जिरो माइलबाट सुरु गर्नुपर्ने अर्को यात्रा?

'म भने पल्टनघर छाड्नुपर्दा खुसी थिएँ', उनी भन्छन्, 'म नयाँ संघर्षमा छु, राम्रै गर्दैछु भन्ने थाहा थियो।' पल्टनमा तीन वर्षमा मात्रै एकपटक ६ महिना छुट्टी पाइने अनि एकपटक मात्रै तीन वर्षका लागि परिवार लैजान पाइने नियम थियो। छुट्टीका बेला घर आउँदा बाबु जयबहादुर भन्थे, 'पढाइ अधुरो छ, पढ्।' उनी बुटवल वाणिज्य क्याम्पसमा आईकम पढ्दापढ्दै घरको आर्थिक बाध्यताले लाहुरे बनेका थिए।

पल्टन छाडेपछि उनी हङकङ पुगे पढ्न। खुला विश्वविद्यालयमा 'ए' लेभलमा नाम लेखाए। गणितका सूत्रहरू नआएपछि पुस्तकालयमा पुगेर प्राथमिक तथा माध्यमिक विद्यालय तहको गणित पढ्न पर्योल। कडा मेहनतसाथ ए लेभल सके। आजभन्दा १४ वर्षअघि त्यो समयमा हङकङमा वायु प्रदूषण उच्च थियो। विजयलाई मनपर्ने विषयहरू पानी, वायु, वन्यजन्तु थिए। ए लेभल पढ्दै अंग्रेजी भाषा विषयमा 'हङकङको वायु प्रदूषण' शीर्षकमा निबन्ध लेख्दा सयमा ९५ आएपछि उनी उत्साहित भए। 'त्यसपछि मैले वातावरण विज्ञानमा स्नातक गर्ने निश्चय गरें', उनी भन्छन्।

उनले पल्‍टन छोड्‍छु भन्‍दा साथीभाईले चित्त बुजाएनन्। कहाँको पल्‍टनियाँ जीवन,  कहाँ जिरो माइलबाट सुरु गर्नुपर्ने अर्को यात्रा उनले बेलायतस्थित युनिभर्सिटी अफ ग्रिन विचबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरे। ब्रिटिस गोर्खा सैनिक पृष्ठभूमिका नेपालीमध्ये विजय मात्रै एक हुन्, यस्तो विषयमा स्नातकोत्तर गर्ने। 'मैले बेलायतको राम्रो विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेको प्रमाणपत्र देखाउँदा बुबा प्यारालाइसिसले थलिएर बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो', उनी सम्झन्छन्, 'मेरा प्रमाणपत्र हेरेर मलाई बारम्बार पढ् भन्ने बुबा रोइरहनुभयो।'

जतिखेर विजय स्नातकोत्तर तहको शोधग्रन्थ लेख्दै थिए, बेलायतको वातावरण, खाद्य तथा ग्रामीण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण अधिकृतको विज्ञापन खुलायो। विजयले आवेदनपत्रमा लेखे, 'मैले ब्रिटिस-गोर्खा सेनामा हुँदा बन्दुक बोकेर तपाईंको देशको रक्षा गरें, अब वातावरण अधिकृत भएर यो देशको वातावरणको सुरक्षा गर्नेछु।'

आफ्ना प्रतिस्पर्धी र अन्तरवार्ता लिनेहरू देख्दा उनले धेरै आशा गरेका थिएनन्। तर दुई दिनपछि जागिर पक्का भएको फोन आयो। 'जागिर पाएको सुनेपछि म धरधरी रोएँ', उनी सम्झन्छन्। ६ वर्षदेखि विजय बेलायतको भूमिगत पानी प्रदूषणसम्बन्धी अनुगमन गरिरहेका छन्। नेपालमा वातावरण संरक्षणमा योगदान गर्न चाहने विजयले साहित्यमार्फत संरक्षण अभियान चलाइरहेका छन्, कथा-कवितामार्फत। हरेक वर्ष मार्च अन्तिम शनिबार नेपालीहरूबीच 'अर्थ आवर' मनाउँछन्, एक घन्टा बिजुली निभाएर।

'एक घन्टा बिजुली निभाउँदा हजारौं टन कार्बनडाइअक्साइड उत्सर्जन घट्छ', विजयले काठमाडौं आएका बेला अन्नपूर्ण पोस्ट्सँग भने। जन्मोत्सव र विवाहोत्सवहरूमा पनि उनी वन्यजन्तु संरक्षणका लागि रकम जम्मा गर्ने अभियानमा जुटिहाल्छन्। उनले पल्टन छोड्छु भन्दा साथीभाइले चित्त बुझाएनन्। कहाँको पल्टनियाँ जीवन, कहाँ जिरो माइलबाट सुरु गर्नुपर्ने अर्को यात्रा?

Published on: 8 November 2014 | Annapurna Post

Back to list

;