s

पक्राउ परेका ४ जना तारेखमा रिहा, मदरल्याण्ड ओभरसिज छानविनको घेरामा

रेशमराज पौडेल

कतारमा रोजगारी गर्न राजधानीको मदरल्याण्ड ओभरसिज् प्रा.लि.लाई १ लाख दश हजार बुझाएका चारजना कामदार विना कारण २४ घण्टा प्रहरी हिरासतमा परेका छन् । उक्त म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि कतारको दोहास्थित अहर्मा जहाँम अल् कुवारी एण्ड ब्रोस कम्पनका लागि वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलबाट लट नं. १५७७६५ बाट श्रम स्वीकृति निकालेकोमा उड्ने बेलामा भने कामदारको कम्पनी फरक परेको भेटिएको छ ।

उक्त म्यानपावर कम्पनीले राहदानी नं. ०७०४३३३५ भएका मनाउद्दिन अन्सारी, ०९९७०७६५ भएका मोहम्मद नबिजुल, ०७०८१८७३ भएका मोहम्मद नजबुल र १०२३७९९९ भएका मुसिम शेखका नाममा उक्त लट नम्बर बाट मासिक १ हजार १ सय कतारी रियाल तलव हुनेगरी २ वर्षको श्रम स्वीकृति निकालेको थियो । तर नेपाल वायु सेवा निगमको बिहीबार राति १० बजेको उडानबाट कतारको दोहा जाने क्रममा अध्यागमन कर्मचारीले उनीहरुको भीषामा कतारको ईनोभेटिभ टेक्निकल शोलुशन कम्पनीको मेसन पद देखेपछि फिर्ता गरिदिए ।
 
यो घटना गाइगुई भएपछि आफ्नो म्यानपावर कम्पनीबाट श्रम स्वीकृति निकालेका कामदार फर्किएपछि म्यानपावर सञ्चालक विमानस्थल पुगे । हतार–हतार प्रहरीमा उजुरी दिएपछि कतार उड्न हिडेका युवाहरु रातभर महनगरीय प्रहरी वृत्त गौशालाको खोरमा थुनिए ।
 
रातभर चारजना युवालाई थुनामा राखेर अनुसन्धान गरेपछि उक्त बृत्तका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले छानविनको विषय वैदेशिक रोजगार ऐन अन्तरगतको विषय भन्दै वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइ दिए । थुनामा परेका युवाहरु सप्तरीका हुन् । आफ्ना मतदाता थुनामा परेको थाहा पाएपछि सप्तरी क्षेत्र नं. ४ का नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी गौशाला पुगे । सांसद चैधरीले आफ्नै गाडीमा राखी ती युवालाई विभाग पुर्याए ।
 
तर विभागले मदरल्याण्ड ओभरसिज प्रालिले श्रम स्वीकृति लिएका कारण उक्त कम्पनीमाथि छानविन गर्ने बताउँदै पक्राउ परेका युवाहरुलाई थुनामा राख्न नसकिने बताउँदै पुनः गौशाला पठायो । गौशालाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले विषय अनुसन्धानकै क्रममा रहेका तथा युवाहरु र म्यानपावर कम्पनीका सञ्चालकलाई तारेखमा छोडेको जानकारी दिए । उनले भने–‘कागजातको अध्ययन गर्दा सरकारी कागज किर्ते गरेको नदेखिएका कारण अनुसन्धानका लागि थुनामा राख्न आवश्यक देखिएन ।’
 
म्यानपावरका सञ्चालक टेकबहादुर पौडेल हुन् भने खगेन्द्र घिमिरे उनका श्रम प्रतिनिधि हुन् । विदेश उड्नपर्ने युवाहरु फर्केपछि श्रम प्रतिनिधि घिमिरे सम्पर्क विहीन बनेका छन् । यसबारे मध्यान्हले थप अनुसन्धान जारी राखेको छ ।
 
Published on: 22 April 2018 | Madhyanha

Back to list

;