s

पाका इजरायली चाहन्छन् नेपाली

चन्द्रशेखर अधिकारी
  
इजरायलमा सात वर्षदेखि नेपाली ‘केअरगिभर’ जाने क्रम रोकिएको छ । तर इजरायली वृद्धाहरूको रोजाइमा अझै नेपालीहरू नै पहिलोमा छन् । नेपालीले आफूहरूलाई आफ्नै आमाबुवा जस्तै गरेर राम्रोसँग हेरविचार गर्ने गरेको भन्दै नेपाली नै पठाइदिन सम्बन्धित निकायमा आग्रहसमेत गर्ने गरेका छन् । 
 
नेपालीले ह्विलचेयरमा डुलाइरहेको अवस्थामा जेरुसेलम ओल्ड सिटीअगाडि भेटिएकी मिमी नामकी एक वृद्धाले भनिन्, ‘नेपाली कामदारबाट म सन्तुष्ट छु । मैले मेरो श्रीमान्का लागि पनि नेपाली नै माग गरेकी छु । कहाँबाट आउँछन् थाहा छैन ।’ उनले एजेन्सीले फिलिपिनो कामदार पठाउन खोजे पनि आफूले अस्वीकार गरेको बताइन् ।
 
मिमीजस्ता धेरै इजरायलीको मनमा नेपाली भए पनि नेपालको आवश्यक रणनीति नहुँदा र एजेन्सीसँग नजिक रहेकाहरूको स्वार्थले गर्दा नेपालीले काम गुमाउँदै आएको सरकारी अधिकारीहरू बताउँछन् । 
 
इजरायलीको रोजाइमा सबैभन्दा बढी नेपाली परे पनि यहाँ केअरगिभरका रूपमा सबैभन्दा बढी फिलिपिनोहरू छन् । फिलिपिनोहरूप्रति पनि उनीहरू सकारात्मक छन् । इजरायल सरकारको तथ्यांकअनुसार ४५ हजार केअर गिभरले यहाँ काम गरिरहेका छन् । करिब ८२ लाख जनसंख्या भएको इजरायलमा नेपाल, फिलिपिन्स, श्रीलंका, भारत, माल्दोआ, थाइल्यान्डलगायतका कामदार छन् । 
 
केअरगिभरमा काम गर्दै आएका झापा सुरुंगाका मनोज खरेलका अनुसार खाडी मुलुकमा सरदर १५ नेपालीले कमाउने पारिश्रमिक यहाँ नेपाली एक्लैले पाउँछन् । उनी भन्छन्, ‘यहाँ सबै खुसी छन् । काम राम्रो छ । जतिसक्दो नेपाली पठाउँदा हुन्छ । पहल पनि भएको पाएको छु तर कहाँ चुक्यो थाहा छैन ।’ 
 
एक दशकअघि इजरायल छिरेकी झापा दमककी इन्दिरा कार्की पनि धेरै नेपाली चेली इजरायल पठाउन सकिने बताउँछिन् । सबै सुरक्षित र स्वतन्त्र रहेकाले पनि इजरायलमा सबै मुलुकका कामदार आउन खोज्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘नेपालीलाई ल्याउन जोड गर्न आवश्यक छ । 
 
तर अहिले अवैध रूपमा अन्य मुलुकको कागजमा पनि नेपाली आएको र वैधानिक च्यानलमार्फत पैसासमेत नपठाएकाले नेपालीहरूप्रतिको सकारात्मक भावना परिवर्तन हुन सक्ने डर रहेको मैले पाएको छु,’ उनले भनिन् । चार वर्षदेखि तेलअभिभमा लुना हारोनी नामकी वृद्धालाई हेर्दै आएकी कार्कीले आफू बिरामी पर्दा यहाँको सरकार र परिवारले गरेको सहयोगको स्मरण गर्दै भनिन्, ‘इजरायलमा कुनै कुराको खोट लगाउने स्थान छैन । पैसा, सुरक्षा, स्वतन्त्रता, काम सबै छ । यसलाई सरकारले पनि बुझ्न जरुरी छ ।’ 
 
इजरायली वृद्धाहरूलाई निश्चित अवधि भएपछि सरकारले नै केअरगिभर उपलब्ध गराउने गरेको छ । तर निजी क्षेत्रका कम्पनीबाट नै केयरगिभर लिने गरेको छ । इजरायली सरकारले हरेक वर्ष एक हजारभन्दा बढी नेपाली लिने भनिए पनि निजी कम्पनीका कारण समस्या भएर अहिले यस्तो अवस्था आएको दूतावास अधिकारीहरूले बताए । 
 
श्रम मन्त्रालयले ध्यान नदिँदा र म्यानपावर कम्पनीहरूले पनि बढी कमाइ गर्ने स्थानका रूपमा कामदारबाट मोटो रकम लिने दाउमा लाग्दा सन् २००९ देखि नेपालीहरू इजरायल आउन रोकिएको हो । तर लाखौं खर्चंदै अन्य मुलुकका पासपोर्ट बनाएर आउनेहरू भने अझै छन् । लामो कूटनीतिक प्रयासपछि गत महिनादेखि नेपाली कामदार इजरायल आउने क्रम पुन: सुरु भएको छ । नेपालमा छानिएका ५९ मध्ये १४ जना पहिलो चरणमा आइसकेका छन् भने बाँकी अन्य ४५ मध्ये २४ आउने निश्चित भएको छ । बाँकीको अझै टुंगो लागेको छैन । 
 
यो मोडल सफल बनाएर धेरैलाई ल्याउनुपर्ने राजदूत प्रल्हाद प्रसाईंको जोड छ । ‘यो मोडल सफल नभएमा र अन्य कुनै बाटो खोल्नेतर्फ लागेमा नेपाली आउने बाटो नै बन्द हुनेछ । सरकारीस्तरबाट ल्याउँदा जस्तो अरू स्तरबाट हुँदैन,’ उनले भने, ‘यहाँको सरकारले निजी क्षेत्रलाई जिम्मा दिएको भए पनि कोटा सरकारले तोक्ने हुनाले यसमा समस्या छैन । बिगार्नेतिर कोही पनि जान हुँदैन ।’ इजरायलले सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नकै लागि कामदारको कोटा दिने गरेको उनले बताए । 
 
Published on: 19 May 2016 | Kantipur

Back to list

;