s

पैसा सिध्याए, अमेरिका पुगेनन्

तपाईंले अमेरिका जान भनेर रकम बुझाउनुभयो। के तपाईंले आफूलाई नक्कली भुटानी शरणार्थी बनाइन्छ भन्ने थाहा पाउनु भएन ?

म सामान्य किसानको छोरा हुँ। पढेलेखा खासै छैन। स्वदेशमा केही इलम गरौं भनेर कुखुरा पाल्दै आएको थिएँ। तर, कोरोना महामारीका कारण व्यवसाय चौपट्ट भएपछि बाहिरिने सोच बनाएँ। पहिले त थोरै रकम लाग्ने देश जाने योजना बनाएको थिएँ। तर अमेरिका जाने भनेर नजिकका साथीले अफर ल्यायो। मैले रकमबारे बुझेँ। त्यति धेरै पनि नलाग्ने भनेपछि सुरुमा १० लाख रुपैयाँ ठीक पारेँ। साथीसँगै गएर पथरी शनिश्चरे–१० का वडाध्यक्ष सागर राईलाई बुझाएँ। उहाँले चाँडै उडाउने भन्नु भएको थियो।
त्यसबेला गाइँगुईं मलाई पनि भुटानी शरणार्थी बनाउने भन्ने सुनेको थिएँ। जसरी भए पनि विदेश जाने सुर कसेको मैले त्यतातिर खासै ध्यान दिइनँ। अहिले यो प्रकरणमा सागर राईसहित राजनीतिक नेतृत्व नै समातिएपछि खङ्ग्रङ्गै भएको छु। झन् मनमा चिन्ता थपिएको छ।

त्यसपछि तपाईंले कुनै एक्सन लिनु भएन ?

दैनिक ज्याला मजदुरी र घरमा पालिएका कुखुरालाई स्याहार गर्दै दिन बित्थ्यो। फेरि पथरी शनिश्चरे नगरपालिका– १० का तत्कालीन वडाध्यक्ष सागर राई हिरासतमा पुगेको जानकारी पाएँ। त्यसभन्दा अगाडि पनि सागरलाई भेट्न नधाएको होइन। तर, भेट सम्भव भएन। पछि उहाँ समातिनु भयो भन्ने खबर पाएँ।

त्यसपछि प्रहरीमा उजुरी गर्ने आँट पनि आएन। नक्कली भुटानी शरणार्थी बन्न खोजेको भनेर प्रहरीले उल्टै समात्यो भने म त दोहोरो मारमा पर्छु भन्ने लाग्यो। त्यत्तिकै पनि मैले त्यत्रो रकम बुझाएको छु। अनि सामाजिक सञ्जालमा पनि उल्टै पीडितमाथि खनिएको देखेछु। अब, रकम तिरेर विदेश जान पनि नपाउनु ?

तपाईं आफूलाई कुखुरापालक भन्नुहुन्छ। कसरी बुझाउनु भयो त १० लाख रकम ?

मैले अमेरिका जान मिल्ने भए जाऊँ न त भन्ने मनस्थिति बनाएको थिएँ। सागरले सुरुमा १० लाख दिनुपर्ने बताउनु भयो। २ लाख रुपैयाँ साथीभाइसँग मागेको थिएँ। थप ८ लाख जुटाउन मुस्किल पर्‍यो ।

साथीभाइसँग मागेर २ लाख रुपैयाँ दिइहालें। ८ लाख रुपैयाँ जोहो गर्न ससुरालीको जग्गा धितोमा राख्नुप¥यो। न अमेरिका जान पाइयो, न त्यो जग्गा उकास्न सकेको छु। ऋणको ब्याज तिर्न नै आफूसँग भएको १० धुर जग्गा बेच्नुप¥यो। यही आँसुको सहारामा दिन बिताइरहेको छु।

घरमा ८७ वर्षीय बुवा र ७६ वर्षीया आमाको पनि आँखा नओभाएको लामो समय भइसकेको छ। छोराछोरीको स्कुल फिसमेत तिर्न सकेको छैन। तनावका कारण यो उमेरमा माइग्रेनको रोगी भएर औषधि खानु परेको छ ।

दुःख सहन नसकेपछि खाडी भए पनि जान्छु भनेर लागेको थिएँ। तर, त्यता पनि सम्भव भएन। रकम दिएका थुप्रै प्रमाण छ, बिल–भौचर पनि छ। तर कहाँ लगेर देखाऊँ, कुनै उपाय छैन।

तपाईंजस्ता अरू कति होलान् ?

खै ! म जो साथीमार्फत पुगेको थिएँ, उसका अनुसार मोरङमा मात्रै साढे तीन सय जना जति छन् भनेर सुनेको छु। ऊ आफैं पनि पीडित हो। अमेरिका जाने सबै प्रक्रिया पूरा भइसक्यो भनेपछि जग्गा बन्धकी राखेर उसले ३६ प्रतिशत ब्याजमा ऋण लिएर बुझाएको थाहा पाएँ।

मजस्तै उसले पनि अमेरिका जाने भएपछि तिरिहालिन्छ नि भनेर सहजै पैसा दिएको थियो। तर, त्यतिबेला लिएको १० लाखको सावाँ र ब्याज गरी अहिलेसम्म १४ लाख तिरिसकेको उसले बताएपछि त मेरो रकम फिर्ता आउला भनेर मैले माया मारिसकेँ।

​​​​​​​कानुनी झमेलामा फसिने डरले ऊ चुपचाप छ। शरणार्थी बन्न खोज्नेहरूलाई पनि कारबाही हुनुपर्छ भनेको सुन्दा मनमा चिसो पसिरहेको छ। मजस्ता १०६ जनाले प्रहरीसमक्ष उजुरी दिएको पनि सुनेको छु। तर, मलाई भने डर लागिरहेको छ।

तपाईं नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्दा के सक्कली शरणार्थीका समस्याबारे जानकार हुनुहुन्छ ?

विभिन्न मिडियामा सक्कली भुटानी शरणार्थी विभिन्न समस्याबाट गुज्रिरहेका छन् भन्ने सुनेको छु। एउटै नगर क्षेत्रभित्र बसेको भए पनि त्यसबारे जानकार थिइनँ। तर अहिलेको प्रकरणले धेरै कुराबारे मलाई अवगत भएको छ। सम्भवतः यो प्रकरणले गर्दा उहाँहरूलाई थप समस्या पारेको हुन सक्छ। तर, के बुझ्न जरुरी छ भने हामीलाई सरासर यसमा फसाइएको हो। मैले जानी–नजानी भुल गरेकै हो। म यो स्वीकार्छु। तर हामीलाई यो अवस्थामा पुर्‍याउने राजनीतिक नेतृत्व र कर्मचारीहरू जति पनि छन्, उनीहरूलाई कारबाही हुनैपर्छ। यसमा कुनै दुई मत छैन।

फसाइएको भनेर तपाईं चोखिन खोज्नु भएको हो कि ?

मैले अघि पनि भनेँ, म यसबारे जानकार थिइनँ। फेरि मैले भुल गरेको भनेर स्वीकारिसकेँ। बरु मेरो भागमा पर्ने सजाय म भोग्न तयार छु। मैले दुःखले कमाएको त्यो रकम फिर्ता भयो भने मेरो परिवारले अलिकति भए पनि राहत महसुस गथ्र्यो कि !

Published on: 17 May 2023 | Annapurna Post

Link

Back to list

;